डेजान स्टानकोभिच (सर्बिया)

फिचर खेलाडी
शनिबार, १९ जेठ २०७५, ११ : ४७ नागरिक

डेजान स्टानकोभिच सर्बियाबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । १९९८ अप्रिलमा दक्षिण कोरियाविरुद्ध युगोस्लाभियाबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका स्टानकोभिचले पहिलो खेलमै २ गोल गरेका थिए।

युगोस्लाभियाबाट १९९८ को विश्वकप र २००० को युरोपियन च्याम्पियनसिप खेलका स्टानकोभिचले छोटो समयमै आफूलाई टोलीको महत्वपूर्ण खेलाडीका रूपमा स्थापित गरेका थिए।

२००६ को विश्वकप छनोटमा सर्बिया एन्ड मोन्टेनेग्रोबाट खेलेका स्टानकोभिच प्रतियोगिताका सबै खेलमा पहिलो रोजाइमा पर्न सफल भए पनि अन्तिम खेल चोटका कारण गुमाउनुपरेको थियो । सर्बिया एन्ड मोन्टेनेग्रोबाट पहिलो विश्वकपमा खेल्दा उनले १० नम्बरको जर्सी लगाएका थिए । पछि सर्बिया स्वतन्त्र भएपछि स्टानकोभिचले कप्तानको जिम्मेवारी पाएका थिए । उनकै कप्तानीमा २०१० मा सर्बियाले पहिलो पटक विश्वकप खेलेको थियो । २०१० मा जर्मनीजस्तो बलियो टोलीलाई हराए पनि घाना र अस्ट्रेलियासँग पराजित भएपछि टोलीको यात्रा समूहचरणमै टुंगिएको थियो।

२०१२ को युरोपियन च्याम्पियनसिपको छनोट प्रतियोगितामा स्लोभेनियासँग १–० ले पराजित भएपछि स्टानकोभिचले १३ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल करियरबाट संन्यासको घोषणा गरेका थिए । उनले सर्बियाबाट १ सय ३ खेल खेलेका छन्।

यसमा तपाईको मत