इभान पेरिसिच (क्रोएसिया)

फिचर खेलाडी
शुक्रबार, २९ असार २०७५, ११ : ०० नागरिक

नाम : इभान पेरिसिच
जन्म : २ फेब्रुअरी, १९८९
पोजिसन : मिडफिल्डर
क्लब : हाज्डुक स्पिल्ट, सोचाउक्स, रोसिलेरा, क्लब बर्ग, बोरुसिया डर्टमन्ड, उल्फसबर्ग, इन्टर मिलान

क्रोएसियाले बुधबार इङ्ल्यान्डको चुनौती २–१ ले पन्छाउँदै पहिलो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्दा इभान पेरिसिच टोलीका नायक थिए।

पहिलो हाफमा १–० ले पछि परेको क्रोएसियालाई ६८औं मिनेटमा पेरिसिचले गोल गर्दै खेलमा फर्काएका थिए । अन्ततः अतिरिक्त समयमा मारियो मान्जुकिचले गरेको गोलमा क्रोएसिया आइतबार फ्रान्सविरुद्ध हुने फाइनलमा स्थान बनाउन सफल भयो।

११ वर्षको उमेरमा क्रोएसियाको स्थानीय क्लब हाज्डुक स्पिल्टको युथ एकेडेमीमा भर्ना भएका पेरिसिचले त्यहाँ ६ वर्ष बिताए । २००६ मा फ्रान्सेली क्लब सोचाउक्सको युथ एकेडेमीमा भर्ना भएका पेरिसिचले क्लब प्रशिक्षणमा एक वर्ष बिताए।

२००७ मा उनी सोचाउक्सको दोस्रो रोजाइको टोलीमा स्थान बनाउन सफल भए । उनी त्यसको एक वर्षपछि बेल्जियमको रोसिलेरा क्लबमा एक सिजनका लागि लोनमा गएका थिए । उनले क्लबबाट १७ खेलमा ५ गोल गरे । २०१० मा अर्को बेल्जियम क्लब बर्गमा आबद्ध भएका पेरिसिचले क्लबबाट एक सिजन खेल्दै ७० खेलम ३१ गोल गरे।

पेरिसिच २०११ मा जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डमा आबद्ध भए । डर्टमन्डमा २ सिजन बिताएका पेरिसिचले ४२ खेलमा ९ गोल गरे । उनी २०१३ मा अर्को बुन्डेसलिगा क्लब उल्फसबर्गमा आबद्ध भए । दुई सिजन उल्फसबर्गमा बिताएका पेरिसिचले क्लबबाट ७० खेलमा १८ गोल गरे । उनी २०१५ मा इटालियन सिरी ‘ए’ क्लब इन्टर मिलानमा आबद्ध भए । उनले इन्टरबाट १ सय ७ खेलमा २९ गोल गरिसकेका छन्।

पेरिसिचले २०११ मार्च २६ मा जर्जियाविरुद्धको खेलसँगै क्रोएसियाको टोलीबाट डेब्यु गरेका थिए । पेरिसिचले क्रोएसियाका लागि ७२ खेलमा २० गोल गरिसकेका छन्।

यसमा तपाईको मत