जित्ने बानीको अभाव

नेपाली नजरमा
बिहिबार, ०७ असार २०७५, २३ : ४५ नागरिक

विज्ञ नजर
फुटबलमा आफ्नो स्तरअनुसार प्रदर्शन गर्नु र नतिजा निकाल्नु फरक कुरा हो। जारी विश्वकपमा एसियाली टिमहरुले राम्रो प्रदर्शन गरिरहेका छन्। तर विश्वस्तरमा ‘विनिङ ह्याबिट’ (जित्ने बानी) नभएका कारण विपक्षीको गोलमाउथमा पुग्दा मैदानको बाँकी भागमा जस्तो स्मार्ट हुन सकिरहेका छैनन्। बिहीबार डेनमार्कविरुद्ध फुटबलमा एसियाको प्रतिनिधित्व गर्ने अस्ट्रेलिया, बुधबार राती स्पेनसँग इरान र उरुग्वेविरुद्ध साउदी अरेबियाले राम्रो प्रदर्शन गरे पनि जित निकाल्न सकेनन्। 

पूरा मैदानभरी विपक्षीमाथि हावी भए पनि विपक्षीको पोस्टनजिक पुग्दा भने एसियाली टिमहरुमा ‘स्कोरिङ ह्याबिट’ (गोल गर्ने बानी) को अभाव प्रष्ट देखिन्थ्यो। फाइनल पास  र फाइनल टचमा हतारिएजस्तो, आत्मविश्वास नभएजस्तो, जोखिम मोल्न नचाहेजस्तो, गोल नहोला की भन्ने हिच्किचाहट भएजस्तो मानसिकता एसियाली फरवार्डहरुमा देखिन्थ्यो। 

पहिलो खेलमा रुससँग ५–० ले पराजित भए पनि दोस्रो खेलमा साउदी अरेबिया विश्वकै उत्कृष्टमध्ये एक टिम उरुग्वेविरुद्ध सशक्त रुपमा प्रस्तुत भएको थियो। बल पोसेसनमा साउदीले उरुग्वेजस्तो टिमलाई पछि पारेको थियो। त्यसको मतलब खेलमा बढि हावी साउदी अरेबिया थियो। तर पहिलो खेलमा ह्विपिङ ब्वाइजको रुपमा निरिह देखिएको टोलीले दोस्रो खेलमा विपक्षीकै जोनमा धेरैसमय बल खेल्यो। तर यो स्तरमा गोल गर्ने बानी नभएका कारण विपक्षी पोष्टमा बल प्रहार गर्नेमा भने उरुग्वेले बाजी मा-यो। लुइस स्वारेज, इडिन्सन काभानी, कार्लोस सान्चेजजस्ता उरुग्वेका खेलाडी गोल गर्ने बानी भएका थिए। त्यसैले उनीहरुले विना दबाब विपक्षी पोष्टमा प्रहार गरिरहे। त्यही चिज साउदीको टिममा देखिएन। साउदीका फरवार्डहरुले पाएका राम्रा अवसरमा पनि प्रहार गर्न हिच्किचाउँदा बलले सही दिशा लिन सकेनन् वा मुभ नै विपक्षीले विफल तुल्याए। 

स्पेन र इरानबीचको खेलमा पनि कथा त्यस्तै भयो। २०१० को विश्वकप च्याम्पियन स्पेन छोटो पास खेल्दै बढि भन्दा बढि बल पोसेसन राख्ने टोल्किा रुपमा प्रख्यात छ। स्पेनले पछिल्लो दशकमा थालेको यो शैली टिकी टाकाको नामले प्रख्यात छ। बढि भन्दा बढि समय आफूसँग बल राख्दा गोलका अवसर सिर्जना हुन्छन भन्ने टिकी टाका शैलीको आधारभुत मान्यता हो। त्यहीअनुसार खेल्दा बल पोसेसनमा स्पेन ७२–२८ ले अगाडि रहयो। विपक्षी पोष्टमा पनि टोलीले त्यतिकै प्रहार ग-यो । तर बुधबारको खेल यि तथ्यहरुलेमात्र वयान गर्ने खालको रहेन। थोरै बल पोसेसन भए पनि इरानले विपक्षी पोष्टमा थुप्रै पटक धावा बोल्यो। स्पेनले इरानको पोष्टमा १० पटक आक्रमण गर्दा इरानले पनि ६ पटक विपक्षी पोष्टमा धावा बोलेको थियो। अरु थुप्रै आक्रमणका मुभहरुलाई विपक्षी पोष्टमा प्रहार गर्न हिच्किचाउँदा इरानले खेर फाल्यो। 

गोल गर्ने र जित्ने बानीको सिकार बिहीबार अस्ट्रेलिया पनि भयो। फिफा विश्व वरियताक्रममा अन्तर ठूलै भए पनि अन्तर्राष्ट्रिय फुटबलमा डेनमार्क र अस्ट्रेलियालाई उस्तै हैसियतको टोलीका रुपमा लिइन्छ। डेनमार्क फिफा वरियताको १२औं स्थानमा छ भने अस्ट्रेलिया ३६औं स्थानमा छ। आफूभन्दा माथिल्लो वरियताको टिमलाई अस्ट्रेलियाले निक्कै दबाबमा राखेको थियो। बल पोसेसनमा अस्ट्रेलिया ५१ र डेनमार्क ४९ प्रतिसतको अवस्थामा थिए। विपक्षी पोष्टमा आक्रमण गर्नेमा पनि अस्ट्रेलिया नै माथि थियो। अस्ट्रेलियाले १३ पटक विपक्षी पोष्टमा आक्रमण गर्दा डेनमार्कले १० पटकमात्र आक्रमण गरेको थियो। 

डेनमार्कको टोलीमा इङलिस प्रिमियर लिगको टोली टोटेनह्यामबाट खेल्ने उच्च फर्ममा रहेका मिडफिल्डर क्रिस्टियन इरिक्सनजस्ता खेलाडी थिए। मिडफिल्डबाट खेल्ने भए पनि उनले वितेको सिजन टोटेनह्यामका लागि १४ गोल गरेका थिए। विश्वकै सर्बोत्कृष्ट लिगमा खेल्ने र स्टार खेलाडी रहेका ठूल्ठुला टिमविरुद्ध गोल गर्ने बानी लागेका उनले डेनमार्कको टिममा आफ्नो उपस्थितीको महत्व सनसनीपूर्ण गोल गरेर प्रमाणित गरे। निकोलाई योर्जेन्सनको पासलाई उनले आत्मविश्वासी पारामा गरेको भली प्रहार साच्चै प्रशंसनीय थियो। जवकि अस्ट्रेलियाली फरवार्डहरुले थुप्रै पटक त्यस्ता अवसर पाए पनि उपयोग गर्न सकेनन्। विपक्षीको पोष्टनजिक पुग्दा उनीहरु आफ्नो स्वभाविक स्किल प्रयोग गर्नबाट चुकिरहेका थिए। 

फुटबलमा सफलताका लागि आवस्यक पर्ने थुप्रै संयोगमा बानीलाई महत्वपूर्ण मानिन्छ। त्यसैले ठूला प्रतियोगिताअघि सबैजसो टिमले बढि भन्दा बढि प्रतिस्पर्धात्मक अभ्यास खेलहरु खेल्ने गर्छन। कहिले काँही लगातार निराशाजनक नतिजा आइरहेको बेला ठूलो प्रतियोगिता हुँदैछ भने ठूला टिमले कमजोर टिमसँग अभ्यास खेल खेलेर टिमको मनोबल बढाउने प्रयास गर्छन। 

 

यसमा तपाईको मत