जोन डाहल टोमासन (डेनमार्क)

फिचर खेलाडी
आइतबार, २० जेठ २०७५, १५ : ३९ नागरिक

डेनमार्कबाट १ सय १२ खेल खेल्दै ५२ गोल गरेका जोन डाहल टोमासन डेनिस टोलीका सफल फरवार्डका रूपमा चिनिन्छन् । उमेरसमूहका खेलबाट फुटबलको खुड्किला चढ्दै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल टोमासन फुटबलका स्थापित खेलाडी हुन्।

हाल डेनिस फुटबल टोलीका सहायक प्रशिक्षक रहेका उनलाई उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै डेनमार्कले सन् २००२ र २००४ मा डेनिस प्लेयर्स अफ दी इयर घोषणा गरेको थियो । सन् १९९२ कोगे बोल्ड क्लबबाट फुटबल करियर सुरुआत गरेका टोमासनले हिरनभिन, न्युक्यासल युनाइटेड, फेयनुर्ड, एसी मिलान, भिएफबी स्टुटगार्ट, भिल्लारियाल हुँदै फेरि फेयनुर्डबाट फुटबल करियरको अन्त्य गरेका थिए । समग्रमा ४ सय ५० खेल खेलेका टोमासनले १ सय ८० गोल गरेका छन्।

मिडफिल्डबाट पाएको पासलाई विकल्प नदिईकन जाली चुमाउन खप्पिस टोमासनको टोली फेयनुर्डले सन् २००२ मा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३–२ ले स्तब्ध पार्दै उपाधि जित्न सफल भएको थियो । सन् २००२ को सिजनपछि इटालियन क्लब एसी मिलानमा आबद्ध भएर सन् २००३ को च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका टोमासनको टोली मिलान २००५ को च्याम्पियन्स लिगको फाइलनमा ३–० गोलले पराजित भएको थियो।

२९ मार्च १९९७ मा क्रोएसियाविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका टोमासन सन् १९९८ को संस्करणमा टोलीभन्दा बाहिर थिए । लगत्तै फेयनुर्ड क्लबमा आबद्ध भएपछि युरो कप सन् २००० का लागि उनलाई फेरि टोलीमा फर्काइएको थियो । मिहिनेती र इमानदार आक्रामक मिडफिल्डर टोमासन प्रतियोगिताका महत्वपूर्ण सदस्य बन्न सफल भए पनि उनको टोली डेनमार्क समूहचरणबाटै बाहिरिएको थियो।

एसी मिलान आबद्ध हुनुपूर्व उनले सन् २००२ को विश्वकपमा ४ गोल गर्दै सफल स्ट्राइकरको छाप छोड्न सफल भएका थिए । सन् २००४ को युरो कपमा चार खेलमा ३ गोल गरेका टोमासनको टोली उक्त प्रतियोगितामा टिम अफ दी टुर्नामेन्ट घोषित भएको थियो । दक्षिण अफ्रिकामा सम्पन्न सन् २०१० विश्वकप फुटबलमा उनले जापानविरुद्धको खेलमा ३–१ को नतिजा सुम्पिँदा सान्त्वना गोल फर्काएका थिए।

यसमा तपाईको मत