केइसुके होन्डा (जापान)

फिचर खेलाडी
बिहिबार, १४ असार २०७५, ०३ : १३ नागरिक

नाम : केइसुके होन्डा
जन्म : १३ जुन, १९८६ (ओसाका)
क्लब : नागोया ग्राम्पुस, भिभिभी भेन्लो, सिएसकेए मस्को, एसी मिलान, पाचुका

मिडफिल्डका बीच र विंग्स दुवै भागका साथै फरवार्डको पोजिसनमा पनि उत्तिकै न्याय गर्न सक्ने ३२ वर्षे केइसुके होन्डा जापानी राष्ट्रिय टोलीका लागि रूस विश्वकपमा सबभन्दा प्रभावकारी खेलाडी साबित भइरहेका छन्।

समूह ‘एच’ मा सम्पन्न पहिलो दुई खेलमध्ये एकमा बराबरी र एकमा जित निकाल्दा जापानी टोलीमा होन्डाको भूमिका महत्वपूर्ण रह्यो। जापानले खेलेका दुवै खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर जम्मा ३८ मिनेट र इन्जुरी समय मैदानमा बिताए पनि होन्डाले एक गोल गर्नुका साथै एक गोलको अवसर मिलाइदिएका थिए।

पहिलो खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी कोलम्बियामाथि २–१ को जित हासिल गर्दा ७०औं मिनेटमा सिन्जी कागावालाई स्थानान्तरण गरेर मैदान प्रवेश गर्नेबित्तिकै उनले आफ्नो उपस्थितिको महत्व प्रमाणित गरे। १–१ को बराबरीमा चलिरहेको खेलमा होन्डाले मैदान प्रवेश गरेको तेस्रो मिनेटमै युया ओसाकोलाई विजयी गोलको अवसर सिर्जना गरेका थिए।

यसै गरी सेनेगलविरुद्धको दोस्रो खेलमा २–१ ले पछि परेको अवस्थामा समय सकिन १८ मिनेट बाँकी रहँदा मैदान प्रवेश गरेका होन्डाले ७८औं मिनेटमा जापानका लागि बराबरी गोल गरेका थिए। दुई चरणका खेल समाप्तिमा जापान र सेनेगलको समान ४ तथा कोलम्बियाको ३ अंक भएकाले नकआउट चरण यात्राका लागि सबैलाई अन्तिम खेलको नतिजा महत्वपूर्ण हुनेछ।

जहाँ जापानसामु पहिलो दुवै खेल हारेर प्रतियोगिताबाट बाहिरिइसकेको पोल्यान्डविरुद्ध कम्तीमा बराबरी गर्नुपर्ने अवस्था छ। पराजित भए जापान अर्को खेलको परिणाममा निर्भर हुनेछ। त्यसैले समूहको महत्वपूर्ण खेलमा जापानी समर्थकले अनुभवी होन्डाबाट अर्को प्रेरणादायी प्रदर्शनको अपेक्षा गर्नेछन्।

यसमा तपाईको मत