केभिन डी ब्रुयना (बेल्जियम)

फिचर खेलाडी
शनिबार, ०९ असार २०७५, ०१ : ३१ नागरिक

नाम : केभिन डी ब्रुयना

जन्म : जुन २८, १९९१,ड्रोनगेन

पोजिसन : मिडफिल्डर

क्लब : के डब्लु ड्रोनगेन, जेन्ट, जिन्क,चेल्सी, वेर्डेर ब्रेमेन, उल्फसबर्ग म्यानचेस्टर सिटी

म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना  बेल्जियम राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । डी ब्रुयनाको प्रेरणदायी प्रदर्शनमा बेल्जियमले पानामालाई ३–० ले पराजित गर्दै रूस विश्वपमा सुखद सुरुआत गरेको थियो।

गत सिजन म्यानचेस्टर सिटीलाई इङ्लिस प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका डी ब्रुयनाले सिटीका लागि ९७ खेलमा २१ गोल गरेका छन्।

२००३ मा घरेलु क्लब के डब्लु ड्रोनगेनको युथ एकेडेमीमा भर्ना भएका डी ब्रुयना त्यसको दुई वर्षपछि जेन्ट तथा २००५ मा जिन्कको युथ एकेडेमी गएका थिए । उनले २००९ मा जिन्कको सिनियर टोलीबाट खेल्ने अवसर पाए । यस क्रममा उनले ९७ खेलमा १६ गोल गरेका थिए । २०१२ मा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमा आबद्ध भए । तर दुई सिजन चेल्सीमा बिताएका डी ब्रुयनाका लागि स्टाम्फोर्डब्रिज बसाइ सुखद बन्न सकेन । उनले मात्र ३ खेल खेल्ने अवसर पाए । २०१३ मा बुन्डेसलिगा क्लब ब्रेमेनमा एक सिजन लोनमा गएका डी ब्रुयनाले ३३ खेलमा १० गोल गरे।

त्यसपछिको दुई सिजन बुन्डेसलिगाकै अर्काे क्लब उल्फसबर्गमा आबद्ध भएका उनी २०१५ मा सिटीमा आबद्ध भएका थिए । उनले उल्फसबर्गबाट ५१ खेलमा १३ गोल गरेका छन् । २०१० मा बेल्जियम राष्ट्रिय टोलीबाट डेब्यु गरेका डी ब्रुयनाले हालसम्म ६२ खेलमा १४ गोल गरेका छन्।

२०१४ मा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको बेल्जियमका लागि सोही उपलब्धि दोहोर्याउन डी ब्रुयना टोलीका मुख्य हतियार बन्न सक्छन्।

यसमा तपाईको मत