खराब ट्याकल नहुने बेल्जियमको अपेक्षा

शनिबार, ०९ असार २०७५, ०१ : २४ नागरिक

मस्को – समूहको दोस्रो खेलमा शनिबार ट्युनिसियाको सामना गर्दा बेल्जियम लगातार दोसो जितका साथ अन्तिम १६ प्रवेश सम्भावना थप बलियो पार्न चाहान्छ । तर स्ट्राइकर इडेन हाजार्डमाथि पहिलो खेलमा पानामाका खेलाडीले गरेको व्यवहार दोस्रो खेलमा पनि दोहोरिनेमा भने बेल्जियम टोली चिन्तत बनेको छ।

बेल्जियम इङ्ल्यान्डविरुद्ध जुन २८ मा हुने समूह ‘जी’ को अन्तिम खेलअगावै अघिल्लो चरण सुरक्षित गर्न चाहन्छ । समूह ‘जी’ मा ३ अंक जोडेको बेल्जियम शीर्ष स्थानमा छ भने समान ३ अंक जोडेको इङ्ल्यान्ड गोलअन्तरमा दोस्रो स्थानमा छ । अंकविहीन ट्युनिसिया र पानामा तेस्रो र चौथो स्थानमा छन्।

पहिलो खेलम नवप्रवेशी पानामामाथि ३–० को सहज जित हात पार्दा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले दुई र द्रिइस मार्टिन्सले १ गोल गरेका थिए । खेलअवधिभर पानामाका खेलाडीको कडा निगरानीमा रहेका हाजार्डलाई विपक्षी खेलाडीले केही खराब फाउल गरेका थिए । बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले ट्युनिसियाका खेलाडीले हाजार्डमाथि पहिलो खेलमा देखाएको व्यवहार नदोहोरिने आशा व्यक्त गरे।

‘हाजार्डमाथि पानामाका खेलाडीले केही खराब ट्याकल गरे,’ मार्टिनेजले भने, ‘भाग्यवश ती ट्याकल उनका लागि खतरा बनेन । आशा छ ट्युनिसियाका खेलाडीले उनीमाथि खराब व्यवहार गर्दैनन् ।’ बेल्जियमले विश्वकपमा अहिलेसम्म अफ्रिकन राष्ट्रबाट हारको सामना गरेको छैन । यता ट्युनिसियाले विश्वकपमा कुनै पनि युरोपियन राष्ट्रमाथि जित हात पार्न सकेको छैन ।

पहिलो खेलमा इङ्ल्यान्डलाई २–१ को नतिजा सुम्पिएको ट्युनिसियाले अली मालोलको स्थानमा औसामा हाडाडीले खेलाउने बताइएको छ । ‘ट्युनिसिया सहज प्रतिद्वन्द्वी होइन र हामीले सम्हालिएको प्रदर्शन गर्न आवश्यक छ,’ मार्टिनेजले भने, ‘जुन उनीहरूले पहिलो खेलमा इङ्ल्यान्डलाई बलियो चुनौती दिँदै प्रमाणित गरिसकेका छन्।’

‘हामीलाई प्रतियोगिताकै दाबेदार टोलीका रूपमा हेरिएको छ,’ हाजार्डले भने, ‘सबै मानिस बेल्जियमले हरेक खेल जित्छ भन्ने सोच्छन् । तर त्यो त्यति सहज भने छैन । हामी जित्न चाहन्छाैं । हामीले पहिलो खेल जितसकेका छाैं र शनिबार अर्का खेलमा ट्युनिसियाको सामना गर्दै छाैं । अघिल्लो खेलको नतिजाभन्दा पनि अर्काे खेलमा त्यो जितको लयले निरन्तरता पाउँछ वा पाउँदैन भन्ने पक्ष महत्वपूर्ण हो।’

यता पहिलो खेलमा इङ्ल्यान्डलाई कडा चुनौती दिएको ट्युुनिसियालाई प्रतियोगिताको अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न बेल्जियमविरुद्ध स्पष्ट ३ अंक जोड्नुको विकल्प छैन । बेल्जियमसँगको हारले ट्युनिसियाको रूस यात्रा समूह चरणमा सीमित हुनेछ।

‘इङल्यान्डविरुद्ध अन्तिम समय सम्हालिन नसक्दा अंक बाँड्न असफल भयौं,’ ट्युनिसियाका प्रशिक्षक नाविल मालौलले भने, ‘तर सो खेलमा बटुलेको मनोबल बेल्जियमविरुद्धको खेलमा सहयोगी बन्नेमा हामी आशावादी छाैं।’

यसमा तपाईको मत