लुइस फिगो (पोर्चुगल)

फिचर खेलाडी
सोमबार, २१ जेठ २०७५, १४ : ०१ एजेन्सी

पोर्चुगल – पोर्चुगलबाट कुनै प्रमुख उपाधि जित्न नसके पनि लुइस फिगोलाई उनको समयको सर्वकालीन मिडफिल्डरका रूपमा लिइन्थ्यो । सन् २००० को बालन डी अर र सन् २००१ को विश्व वर्ष खेलाडी विजेता पोर्चुगलका पूर्वकप्प्तान फिगो सहजै विपक्षी रक्षकलाई छक्याउन सक्ने र उत्कृष्ट ड्रिब्लिङ क्षमताले परिचित थिए।

फिगोले पोर्चुगलबाट तीन पटक युरोपियन च्याम्पियनसिप र २ पटक विश्वकपमा खेलेका थिए । उनले १८ वर्षकै उमेरमा लक्जेम्बर्गविरुद्धको खेलसँगै सन् १९९१ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले पोर्चुगललाई सन् २००२ को विश्वकपमा छनोट गराउने क्रममा ९ खेलमा ६ गोल गरेका थिए । फिगोलाई सन् २००१ जुन २ मा विश्वकप छनोट चरणकै आयरल्यान्डविरुद्धको खेलबाट टोली नेतृत्वको जिम्मेवारी दिइएको थियो।

सन् १९८६ पछि पहिलो पटक पोर्चुगललाई विश्वकपमा डोर्याउन सफल भएपनि फिगोले सोचेअनुरूप प्रदर्शन गर्न नसक्दा उनको टोलीको विश्वकप यात्रा समूहचरणमै सीमित भएको थियो । पोर्चुगलबाट कुल १ सय २७ खेलमा सहभागिता जनाए पनि फिगोले टोलीको नेतृत्व भने ७४ खेलमा मात्र गरेका थिए । यस क्रममा उनले ३२ गोल गरेका थिए । उनले सन् २००४ फेबु्रअरी १८ मा इङ्ल्यान्डविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै पोर्चुगलको राष्ट्रिय टोलीबाट सयाैं खेलको कोसेढुङ्गा पार गरेका थिए।

सन् २००४ को युरोपियन च्याम्पियनसिपमा ग्रिससँग १–० ले स्तब्ध हुँदै उपविजेतामा सीमित भएपछि फिगोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए । उनको संन्यासका पछाडि युरोपियन च्याम्पियनसिपको उपविजेतामा सीमित हुँदाको निराशाभन्दा पनि उनी र तत्कालीन प्रशिक्षक लुइस फिलिप स्कोलारीबीचको मनमुटावलाई प्रमुख कारणका रूपमा हेरिएको थियो।

तर फिगोले सन् २००५ मा संन्यास फिर्ताको घोषणा गर्दै सन् २००६ को विश्वकप छनोट खेलेका थिए । सन् २००६ मा जर्मनीमा सम्पन्न विश्वकपमा पुनः कप्तानीमा फर्किएका फिगोको नेतृत्वमा पोर्चुगल तीन जितका साथ समूहविजेता बन्दै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको थियो, अन्तिम १६ को खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको पोर्चुगलले क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ४० वर्षपछि प्रतियोगिताको सेमिफाइनमा स्थान पक्का गरेको थियो । यसअघि पोर्चुगलले सन् १९६६ मा विश्वकपको तेस्रो स्थान हात पार्नु नै उनीहरूको विश्वकपमा हात पारेको सबैभन्दा ठूलो उपलब्धि हो।

सेमिफाइनलमा फ्रान्सलाई नतिजा सुम्पिएको पोर्चुगलले तेस्रो स्थानका लागि भएको खेलमा आयोजक जर्मनीसँग पराजित भएको थियो । उक्त खेलको अन्त्यसँगै फिगोले १५ वर्षे अन्तर्राष्ट्रिय खेलजीवन टुंग्याउने घोषणा गरेका थिए ।
स्पोर्टिङ लिस्बन, रियाल मड्रिड, बार्सिलोना र इन्टर मिलानमा व्यावसायिक खेलजीवन बिताएका फिगोले सन् २००९ मा व्यवसायिक जीवन टुंग्याएका थिए । फिगो स्पेनिस ला लिगा क्लब बार्सिलोनाबाट चिर प्रतिद्वन्द्वी रियालमा अनुबन्धित हुने थोरै खेलाडी मध्येमा पर्छन् । उनी सन् २००० मा बार्सिलोनाबाट रियालमा आबद्ध भएका थिए।

यसमा तपाईको मत