लुका मोडरिच (क्राेएिसया)

फिचर खेलाडी
मङ्गलबार, १२ असार २०७५, ०३ : ३५ नागरिक

नाम : लुका मोडरिच
जन्म : ९ सेप्टेम्बर १९८५
पोजिसन : मिडफिल्ड
क्लब : एनके जाडार, डाइनामो जागरेब,ज्रिन्सकी मोस्टार, इन्टर जापरसिक, टोटेनह्याम, रियाल मड्रिड

स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिचले हाल रूसमा जारी विश्वकपमा क्रोएसियाको कप्तानी सम्हालिरहेका छन् । पहिलो दुई खेलमा सहज जितका साथ क्रोएसियालाई अन्तिम १६ मा प्रवेश गराउँदै मोडरिचले आफ्नो कप्तानी प्रमाणित गरिसकेका छन।

पहिलो खेलमा नाइजेरियालाई २–० ले पराजित गरेको क्रोएसियाले दोस्रो खेलमा प्रतियोगिताकै दाबेदार टोली अर्जेन्टिनाको चुनौती ३–० ले समाप्त गर्दै अघिल्ले चरणमा स्थान पक्का गरेको थियो । नाइजेरियाविरुद्ध पेनाल्टीमा गोल गरेका मोडरिचले अर्जेन्टिनाविरुद्ध टोलीका लागि दोस्रो गोल गरेका थिए।

१९९६ मा एनके जाडारको युथ एकेडेमीमा भर्ना भएका मोडरिचले इटाली भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेपछि क्लबका अध्यक्ष टोमिस्लाभ ब्लासिकले उनी २००२ मा डाइनामो जाग्रेभको युथ एकेडेमीमा भर्ना हुने वातावरण मिलाइदिएका थिए । एक सिजन जाग्रेभको युथ एकेडेमीको प्रशिक्षणमा बिताएपछि उनी २००३ मा जाग्रेभको पहिलो टोलीमा स्थान बनाउन सफल भए । उनी सोही वर्ष बोस्निया एन्ड हर्जगोभिनाको पहिलो श्रेणीको क्लब ज्रिन्सकी मोस्टारमा लोनमा गएका थिए।

एक सिजन ज्रिन्सकीमा बिताएका मोडरिचले २२ खेलमा ८ गोल गरेका थिए । मोडरिचले २००४–२००५ सिजन क्रोएसियाली पहिलो श्रेणीको क्लब इन्टर जापरसिकमा लोनमा बिताए । जहाँ उनले १८ खेलमा ४ गोल गरे । २००५ मा जाग्रेभमा फर्किएका उनले क्लबका लागि ३ सिजनका ९४ खेलमा २६ गोल गरे।

२००८ मा इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्याममा बिताएका मोडरिचले ४ सिजन क्लबमा बस्दै १ सय २७ खेलमा १३ गोल गरे । २०१२ मा रियालमा आबद्ध भएका मोडरिचले १ सय ६६ खेलमा ९ गोल गरेका छन्।

माडरिचले २००६ मार्च १ मा अर्जेन्टिनाविरुद्ध सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै क्रोएसियाका राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले क्रोएसियाका लागि १ सय ८ खेलमा १४ गोल गरिसकेका छन्।

यसमा तपाईको मत