म्याराडोना र अर्जेन्टिनाको प्रभाव

शनिबार, १९ जेठ २०७५, १६ : ०६ नागरिक

विश्वकप दुई पटक आयोजना गर्ने मेक्सिको पहिलो राष्ट्र बन्यो । सन् १९७० मा उत्तर अमेरिकी राष्ट्रले पहिलो पटक फुटबलको यो मेला आयोजना गर्दा ब्राजिलले प्रतियोगिता जितेको थियो र पेले त्यसका स्टार थिए । यस पटक अर्जेन्टिनाले उपाधि जित्यो र म्याराडोना विवादरहित नायक बने । संयोगले सर्वकालिन फुटबलरमा पेले र म्याराडोनामा को उत्कृष्ट भन्ने प्रश्नको उत्तर अझै स्पष्ट छैन।

तथ्यांकले भन्छ १९८६ को प्रतियोगितामा उत्कृष्ट म्याराडोनाको नजिक नै कोही थिएनन् । अर्जेन्टिनाले फाइनलमा जर्मनीलाई ३–२ ले पराजित गरी प्रतियोगितामा गरेको कुल १४ गोलमा १० नम्बर जर्सीधारी म्याराडोनाले ५ गोल गरे भने ५ मा पास उपलब्ध गराए । जर्मनी लगातार दोस्रो वर्ष उपविजेतामै सीमित भयो।

प्रतियोगितामा म्याराडोनाको चर्चामा अझ ठूलो विषय ‘भगवानको हात’ले कमायो । अजटेका रंगशालामा इङ्ल्यान्डमाथि क्वार्टरफाइनलमा २–१ को विजय हात पार्दा म्याराडोनाले दुई यस्ता गोल गरे, जसको बर्णन जति गरे पनि कम हुन्छ । पहिलो गोल जसलाई म्याराडोनाले ‘भगवान्को हात’ले गरेको भन्छन् । क्रस आएको बललाई पन्च गर्न इङ्ल्यान्डका गोलरक्षक पिटर सिल्टन अगाडि बढ्दा फुच्चे प्लेमेकर म्याराडोनाले हातले नै बललाई गोल गरिदिएका थिए । त्यसको तीन मिनेटपछि उनले दोस्रो उत्कृष्ट गोल गरेका थिए । मध्यभागबाट एक्लै बल अगाडि बढाउँदै उनले इङ्ल्यान्डका ५ खेलाडी र गोलरक्षक सिल्टनलाई बिट गरी गरेको गोललाई अहिले पनि विश्वकप इतिहासकै उत्कृष्ट गोल मानिन्छ।

आर्थिक कारण देखाई कोलोम्बियाले नाम फिर्ता लिएपछि मेक्सिकोले प्रतियोगिता आयोजना गरेको थियो । १९८५ को सेप्टेम्बरमा शक्तिशाली भूकम्पले झन्डै २० हजार मेक्सिकनको ज्यान गएको थियो । तर भूकम्पले रंगशालालाई कुनै असर पारेको थिएन र मेक्सिकोले यादगार प्रतियोगिता आयोजना गरेर देखायो।

म्याराडोना मुख्य आकर्षण भए पनि इङ्ल्यान्डका स्ट्राइकर ग्यारी लिनेकर प्रतियोगिताका केही नायकमा थिए । उनले ६ गोल गर्दै ‘गोल्डेन शू’ जितेका थिए । पोल्यान्डविरुको ह्याट्रिकले प्रतियोगितामा उनलाई उच्च गोलकर्ता बनाएको थियो । खराब सुरुवात र कप्तान ब्रायन रोब्सन खेल्न नसक्ने भएको अवस्थामा लिनेकरले गोल गर्ने क्रमलाई जारी राख्दै इङ्ल्यान्डलाई अगाडि बढाएका थिए । अर्जेन्टिनासँग २–० ले नै पछाडि रहेको अवस्थामा उनले इङ्ल्यान्डका लागि एक गोल फर्काए।

क्यानाडा र इरानसँगै नवप्रवेशी डेनमार्कले आक्रामक शैलीमा खेल्दै लगातार तीन खेल जितेको थियो । त्यसमा एक विजय जर्मनीविरुद्ध थियो । ‘डेनिस बम’ उपनाम पाएको डेनमार्कको टोलीमा माइकल लाउड्रप र प्रेबेन इल्कजाइरजस्ता खेलाडी थिए । उरुग्वेलाई ६–१ ले पराजित गर्दा इल्कजाइरले डेनमार्कका लागि ह्याट्रिक गरेका थिए।

यसपटक विश्वकपको संरचनामा परिवर्तन ल्याइएको थियो । दोस्रो चरणको समूह चरण हटाई त्यो स्थानमा अन्तिम १६ नकआउट चरण राखिएको थियो । त्यसको मतलब तेस्रो स्थानमा रहने ४ टोलीले नकआउट चरणमा प्रवेश पाउँथे । तर मोरक्कोले त्यो कुरिरहनु परेन, जसले टोलीलाई पहिलो चरण पार गर्ने पहिलो अफ्रिकी राष्ट्र बनायो । मोरक्कोले समूह चरणमा पोर्चुगललाई ३–१ ले पराजित गरेको थियो भने त्यसपछिका खेलमा पश्चिम जर्मनीसँग घुँडा टेकेको थियो।

जर्मनीले त्यसपछि नकआउट चरणको खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो । मेक्सिकोका मानुइल नेग्रेटेले प्रतियोगिताकै उत्कृष्ट गोलहरूमा गनिने किसिमले बाइसाइकल किकमा गोल गरे । तीन क्वार्टरफाइनल खेलको निर्णय पेनाल्टी सुटआउटमै भए । चुलबुले गोलरक्षक जिएन मारिइ पफाफको सानदार प्रदर्शनमा बेल्जियमले स्पेनलाई पछार्याे भने फ्रान्सले ब्राजिलको आशा समाप्त पारिदियो । फ्रान्सले ४–३ ले जितेको यस खेललाई पेलेले ‘ऐतिहासिक’ भनेका थिए।

यसअघि साबिक विजेता इटालीलाई पराजित गरेको युरोपियन च्याम्पियन्स फ्रान्सले संगठित ब्राजिलसँगको निर्धारित खेल १–१ को बराबरीमा टुंग्याएको थियो भने अतिरिक्त समयमा पनि गोल नभएपछि निर्णय पेनाल्टी सुटआउटमा भयो, जहाँ जिकोको प्रहारलाई फ्रान्सका गोलरक्षक जोइल बाट्सले रोकेका थिए । तर मिसेल प्लाटिनीले पनि पेनाल्टी गुमाए पनि लुइस फर्नान्डेजको निर्णायक गोलमा फ्रान्सले खेल आफ्नो पक्षमा पा¥यो । तर फ्रान्सको दुर्भाग्य टोली फेरि सेमिफाइनलमा जर्मनीसँग पराजित हुन पुग्यो।

बेल्जियमविरुद्धको सेमिफाइनलमा २–० को विजय हात पार्दा दुवै गोल गरेका म्याराडोनाले फेरि अर्को स्मरणीय गोल गरे । तर फाइनल उनका लागि त्यति सजिलो भएन । लोथर म्याथ्युजले उनलाई नियन्त्रणमा लिए । सेन्ट्रल रक्षक जोसे लुइस ब्राउनले अर्जेन्टिनाको लागि पहिलो गोल गरे । विश्वकप खेलिरहे पनि ब्राउन क्लबको खोजीमा थिए । जर्ज भाल्डानोले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । कार्ल हेइन्ज रुमेन्जी र रुडी भोलरले ६ मिनेटको अन्तरमा गोल गरी जर्मनीलाई बराबरीमा ल्याए।

म्याथ्युजले म्याराडोनालाई पूरै ९० मिनेट नियन्त्रणमा राख्न सकेनन् । भोलरले ८०औं मिनेटमा बराबरी गोल गरेको तीन मिनेटपश्चात् नै म्याराडोनाले दिएको पासलाई जर्ज बुरुचागाले तेस्रो गोल गरे, जसले अर्जेन्टिनालाई दोस्रो पटक विश्वकपको उपाधि दिलायो।

इतिहासको पानाबाट

१९८६, अर्जेन्टिना (१२औं विश्वकप)

मे ३१ देखि जुन २९ सम्म

सहभागी टोली : २४

खेल संख्या : ५२

गोल संख्या : १ सय ३२ (प्रतिखेल २.५ गोलऔसत)

दर्शक : २३ लाख ९३ हजार ३१ (४६ हजर १९ प्रतिखेल)

विजेता : अर्जेन्टिना

उपविजेता : पश्चिम जर्मनी

तेस्रो स्थान : फ्रान्स

चौथो स्थान : बेल्जियम

गोल्डेन शु : ग्यारी लिनेकर (इङ्ल्यान्ड)

गोल्डेन बल : डिएगो म्याराडोना (अर्जेन्टिना)

उत्कृष्ट युवा खेलाडी : इन्जो सिफो (बेल्जियम)

फेयर प्ले अवार्ड : ब्राजिल

यसमा तपाईको मत