म्याराडोनाको अर्जेन्टिनालाई अहिले पनि समर्थन

नेपाली नजरमा
आइतबार, २० जेठ २०७५, १६ : ४८ नागरिक

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) मा दुई पटक स्वर्ण पदक जितेका दीपक श्रेष्ठ नेपाली करातेमा अहिलेसम्मका सबभन्दा सफल खेलाडी हुन् । २०१० को श्रीलंका सागपछि खेलाडीका रूपमा संन्यास लिएर राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका दीपक हाल नेपाली खेलाडीहरूको छाता संगठन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष पनि हुन्

करातेबाट खेलकुदमा ठूलो उचाइ लिए पनि उनी बाल्यकालमा फुटबलका राम्रा खेलाडी थिए । ललितपुरको चापागाउँ निवासी दीपक सानै उमेरमा फुटबल खेल्दा घाइते भएपछि परिवारले उनलाई फुटबल खेल्न प्रतिबन्ध लगाएको थियो । फुटबल टिम खेल भएकाले परिवारसँग लुकेर खेल्न सम्भव भएन । ‘त्यै भएर करातेमा लागेँ,’ उनले विगत सम्झिए, ‘तर अहिले पनि फुटबल मलाई करातेपछि सबभन्दा मन पर्ने खेल हो।’

फुटबल समर्थकहरू जुन १४ बाट रूसमा सुरु हुने विश्वकप कल्पेर उत्साहित छन् । तर अगस्टमा इन्डोनेसियामा हुने एसियाली खेलकुदका लागि करातेको राष्ट्रिय टोली तयार गरिरहेका कुमुते प्रशिक्षक दीपकलाई विश्वकपको ज्वरोले छुन पाएको छैन । अन्य समर्थकझैँ दीपक विश्वकप आउन लागेकोमा खुसी छैनन् । ‘एसियाली खेलकुदको तयारीसँग जुध्यो । सबै खेल हेर्याे भने एसियाली खेलकुदको तयारी प्रभावित हुन्छ । त्यसैले मुख्य मुख्य खेल हेर्ने प्रयास गर्छु । फुर्सदमा हाइलाइट हेरेरै यसपालि पनि विश्वकपको धीत मार्नेछु,’ जेठ १ देखि सुरु भएको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शिविर नेतृत्व गर्दै पोखरामा रहेका दीपकले भने, ‘चार वर्षअघि पनि एसियाली खेलकुदको तयारीसँग जुधेकाले राम्ररी विश्वकप हेर्न पाएको थिइनँ।’

विश्वकप १९९० मा म्याराडोनाको खेलबाट प्रभावित दीपक अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका प्रशंसक हुन् । म्याराडोनाको फुटबल कला असाधारण लाग्ने दीपकलाई वर्तमान कप्तान लियोनल मेसी पनि उत्तिकै मन पर्छ । त्यसैले यसपालि पनि अर्जेन्टिना जितोस् भन्ने कामनासहित विश्वकप हेर्ने उनको दोस्रो रोजाइमा भने जर्मनी पर्छ । ‘१९९० मा निक्कै राम्रो खेले पनि फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भयो । त्यो मैले राम्ररी बुझ्ने भएर हेरेको विश्वकप थियो । म्याराडोनाको प्रभावमा अर्जेन्टिना चार वर्षअघि च्याम्पियन बनेको थियो । त्यो भएर उनलाई मैले राम्ररी पछ्याएको थिएँ।

१९९० मा पनि उनले राम्रो खेलेका थिए । तर गोल गर्न नसक्दा फाइनलमा जर्मनीसँग हार्नुपर्याे,’ दीपकले भने, ‘नतिजा जे भए पनि उनको खेल शैलीबाट म अत्यन्तै प्रभावित भइसकेको थिएँ । तर फाइनल हार्दा उनी रोएको देखेपछि मेरो सिम्प्याथी झनै अर्जेन्टिनामा पुग्यो । अहिलेसम्म पनि अर्जेन्टिनालाई नै समर्थन गरिरहेको छु । अहिले पनि उनीहरूको टोलीमा मेसीजस्ता असाधारण क्षमता भएका शालीन खेलाडी छन्।’

२००४ मा कराते प्रतियोगितामा सहभागिता जनाउन जर्मनी जाँदा उनले त्यहाँको फुटबल संस्कार देख्ने मौका पाए । त्यसयता उनले दोस्रो रोजाइका रूपमा जर्मनीलाई समर्थन गर्दै आएका छन् । जसका कारण अर्जेन्टिनाको मात्र समर्थक हुँदा हारमा निराश हुनुपर्ने नियति उनले भोग्नुपरेको छैन।

विश्वकप कसले जित्ला त ? दीपकको उत्तर छ, ‘अर्जेन्टिना, जर्मनी, ब्राजिल, स्पेन, फ्रान्सलगायतका टिम विश्वकपमा सधैंका दाबेदार हुन् । तर फुटबलमा कहिलेकाहीँ मुख्य दाबेदार हारेर अरूले जितेका इतिहास पनि छन् । जसले जिते पनि मचाहिँ यसपालि अर्जेन्टिना र जर्मनीमध्ये एकले जितोस् भन्ने कामनाका साथ विश्वकप हेर्छु । अरू खेल सबै हेर्न नभ्याए पनि यी दुई टिमको खेलचाहिँ छुटाउँदिनँ।’

यसमा तपाईको मत