मार्को रिउस (जर्मनी)

फिचर खेलाडी
बुधबार, १३ असार २०७५, ०४ : ४७ नागरिक

नाम : मार्को रिउस
जन्म : ३१ मे, १९८९ (डर्टमन्ड)
पोजिसन : स्ट्राइकर
क्लब : रोट बेसी आलन, बोरुसिया मोन्चेनग्लाडबाच, बोरुसिया डर्टमन्ड

बोरुसिया डर्टमन्डका स्ट्राइकर मार्को रिउस जर्मन राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । रूसमा जारी विश्वकपमा मेक्सिकोसँग पराजित भएको पहिलो खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रिउसले शनिबार स्विडेनविरुद्ध २–१ को जित हासिल गर्दा टोलीका लागि पहिलो गोल गरेका थिए।

१–० ले पछि परेको जर्मनीलाई खेलमा फर्काउन उनको बराबरी गोलले महत्वपूर्ण भूमिका निर्वाह गर्याे । विश्वकपमा रिउसको त्यो पहिलो गोल थियो । ५ वर्षको उमेरमै बोरुसिया डर्टमन्डको फुटबल एकेडेमीमा भर्ना भएका रिउसले त्यही क्लबमा १२ वर्ष बिताए।

रिउस २००६ मा जर्मनीको स्थानीय क्लब रोट बेसी आलनको यु–१९ टिममा समावेश भएका थिए । यु–१९ टोलीबाट उत्कृष्ट प्रदर्शन गरेसँगै उनले २००७ मा क्लबको दोस्रो रोजाइको टोलीमा स्थान बनाउन सफल भए । जहाँ उनले ६ खेलमा ३ गोल गरे । दोस्रो रोजाइको टोलीबाट समेत उत्कृष्ट प्रदर्शन गरेका रिउस सोही सिजन क्लबको पहिलो रोजाइको टोलीमा स्थान बनाउन सफल भए । बेसी आलनबाट दुई सिजन खेल्दा उनले ४३ खेलमा ५ गोल गरे।

२००९ मा बुन्डेसलिगाको क्लब बोरुसिया मोन्चेनग्लाडबाचमा आबद्ध भएका रिउसले त्यहाँबाट तीन सिजन खेल्दै ९७ खेलमा ३६ गोल गरेका थिए । २०१२ मा डर्टमन्ड फर्किएका रिउसले क्लबका लागि १ सय ३६ खेलमा ६३ गोल गरिसकेका छन्।

२०१० मे १४ मा माल्टाविरुद्धको मैत्रीपूर्ण खेलबाट जर्मनीको सिनियर टोलीमा बोलाइए पनि उनले खुट्टाको चोटका कारण खेल हुन ३ दिनअघि टोलीबाट नाम फिर्ता लिएका थिए । रिउसले २०११ अक्टोबर ७ मा टर्कीविरुद्धको मैत्रीपूर्ण खेलसँगै जर्मनीबाट डेब्यु गरेका थिए । जर्मनीका लागि ३३ खेलमा १० गोल गरिसकेका रिउस टोलीको उपाधि रक्षा अभियानका महत्वपूर्ण हतियार हुन्।

यसमा तपाईको मत