माया योसिदा (जापान)

फिचर खेलाडी
आइतबार, २७ जेठ २०७५, १२ : ४५ नागरिक

नाम : माया योसिदा

जन्म : २४ अगस्ट, १९८८
नागासाकी, जापान

क्लब : नागोया ग्राम्पुस, भिभिभि–भेन्लो, साउथह्याम्पटन

२९ वर्षे माया योसिदा रूस विश्वकपकमा जापानी टोलीका भरपर्दा डिफेन्डर हुन् । अन्डर २३ देखि राष्ट्रिय टोलीमा स्थान बनाएका योसिदाले राष्ट्रिय टोलीबाट ८० खेल खेल्दा १० गोल गरेका छन् । योसिदा सन् २०१२ देखि इङ्लिस क्लब साउथह्याम्पटनबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

६ फिट २ इन्च उचाइ भएका योसिदा दुवै खुट्टाले उत्तिकै फुटबल खेल्न सक्छन् । लोभलाग्दो उचाइ र विपक्षीको बललाई कुशलताका साथ विफल पार्न माहिर योसिदा जापानी टोलीका मुख्य खम्बा हुन् । खेलको परिस्थितिअनुसार कप्तानको पनि जिम्मेवारी सम्हाल्न पछि नहट्ने योसिदाले इङ्लिस क्लब साउथह्याम्टन पुग्नुअघि नागोया ग्राम्पुसबाट फुटबल करियर सुरुआत गरेका थिए।

योसिदाले सन् २००९ मा एएफसी च्याम्पियन्स लिगमा नागोया ग्राम्पुसबाट दक्षिण कोरियाको उल्सान हुन्डाइ होराङ्गीविरुद्ध पहिलो गोल गरेका थिए । सोही क्लब नागोया ग्राम्पुसबाट ७१ खेल खेलेका उनले ५ गोल गरेका थिए । त्यसपछि भिभिभि–भेन्लो गएका योसिदाले ५४ खेलबाट ५ गोल गर्न भ्याए । उनी भेन्लोबाट साउथह्याम्पटनमा आबद्ध भएका थिए।

हालसम्म पनि साउथह्याम्टनबाट व्यावसायिक फुटबल खेलिरहेका योसिदाले सन् २०१३ को लिग कपमा सन्डरल्यान्डलाई २–१ ले पराजित गर्दा क्लबबाट पहिलो गोल गरे । प्रिमियर लिगमा भने उनले वेस्ट ह्याम युनाइटेडविरुद्ध पहिलो गोल गरेका थिए । उक्त खेल साउथह्याम्पटनले ३–१ ले जितेको थियो । व्यावसायिक फुटबलमा राम्रो छवि बुन्दै गएका योसिदालाई सन् २०१५ को जनवरीमा क्लब साउथह्याम्पटनले २०१८ सम्म सम्झौता नवीकरण गरेको थियो।

रूस विश्वकपमा स्थान सुरक्षित गर्न छनोट चरणका खेलमा डिफेन्डर योसिदाले उत्कृष्ट खेल पस्कँदै जापानी टोलीलाई विश्वकपको ढोका उघारेका थिए।

यसमा तपाईको मत