‘मेरो विश्वकप क्वार्टरफाइनलबाट सुरु हुन्छ’

नेपाली नजरमा
आइतबार, २७ जेठ २०७५, १३ : ०१ अनिल यादव

काठमाडौंँ – भनिरहनु नपर्ला, राजेश हमाल नेपाली फिल्मका दर्शकमाझ प्यारो र परिचित नाम हो । तीन दशक भइसक्यो नेपाली फिल्मको मैदानमा उनी दौडिएको तैपनि थाकेका छैनन्, उनको यात्रा जारी नै छ।

तीन दशकमा कमाएको दर्शकको प्रेम देख्दा राजेश स्वयंलाई लाग्छ, उनीभन्दा प्रख्यात उनको छवि भइसक्यो । दर्शकमाझ उनको चर्चा फिल्ममार्फत मात्रै हुँदैन, कहिले जोक्स, कहिले ट्रोल त कहिले बिम्बका रूपमा समेत उनी दर्शकमाझ परिचित छन्।

धेरैलाई थाहा नहुन सक्छ— उनी खेलप्रेमी पनि हुन् । अझ फुटबलका त उनी ठूला प्रशंसक नै हुन् । संसारभरका खेलप्रेमीको नजर यति बेला रसियामा हुने विश्वकप फुटबलमा केन्द्रित छ।

हमालको नजर त्यता नहुने कुरै भएन । उनलाई लाग्छ, अघिपछि नतात्तिने नेपाली पनि विश्वकपमा तात्तिन्छन् । हमालको विश्वकप रुचि अरूको भन्दा अलि फरक छ । ‘मेरो विश्वकप क्वार्टरफाइनलबाट सुरु हुन्छ, क्वार्टरफाइनलबाट मात्रै म तात्तिन थाल्छु,’ नेपाली फिल्ममा महानायकको उपाधि पाएका हमालले थपे, ‘टिम र प्लेयर पनि क्वार्टरफाइनलबाटै छान्छु । आफ्नै देशले विश्वकप खेलेको भए सुरुदेखि नै तात्तिन्थेँ होला । तर छैन, त्यसैले अहिले नै टिम छान्ने मोह छैन।’

हमाल कुनै समय नेपाली फिल्ममा संख्याका हिसाबले धेरै फिल्म खेल्ने अभिनेता थिए । यस्तो पनि समय थियो जति बेला उनले एक वर्षमा दुई दर्जन जति फिल्म खेले।

फिल्म खेल्ने सवालमा उनी कहिल्यै ‘चुजी’ देखिएनन्, तर अचम्म ! फुटबलका मामिला उनी धेरै ‘चुजी’ रहेछन् । ‘म क्वाटर्रफाइनलपछि पनि टिम र प्लेयर सेलेक्सनमा विशेष ध्यान दिन्छु,’ हमालले सुनाए, ‘अलिकति सम्भावना देखाएको र केही गरौं भन्ने इख बोकेको खेलाडी र टिमलाई मेरो समर्थन हुनेछ । म कहिल्यै पनि जित्ने सम्भावना भएको घोडालाई मात्र साथ दिन्नँ।’

उनी अहिलेदेखि मात्रै होइन, पहिलेदेखि नै चुजी रहेछन् । सन् १९९८ को विश्वकप अनुभूति उनी कहिल्यै बिर्संदैनन् । ‘त्यति बेला एक जना पत्रकारले मसँग विश्वकप कसले जित्ला भनेर सोधेका थिए,’ हमालले सम्झिए, ‘सबै पपुलर टिमको नाम लिइरहेका थिए तर मैले यो पल्टको वल्र्ड कपमा फ्रान्स विजयी हुन्छ भनेको थिएँ । नभन्दै फ्रान्सले फाइनलमा ब्राजिललाई पछार्याे । म यति खुसी भएछु कि खाटबाट उफ्रिएर भुइँमा हाम्फालेछु । लाइफमा पहिलोचोटि होला मैले त्यति उत्साहित भएर रिएक्ट गरेको ! म फ्रान्सले जितेकोमा भन्दा पनि मेरो अनुमानले जितेकोमा बढी खुसी थिएँ।’

फ्रान्सले त्यति बेला पहिलोपल्ट विश्वकप जितेको थियो । कहिल्यै विश्वकप नजितेको टिमलाई राजेशले त्यति बेला सपोर्ट गर्नुको कारण के रहेछ ? ‘त्यति बेला विश्वकप फ्रान्समै हुँदै थियो, फ्रेन्चहरू एकदमै उत्साहित थिए,’ राजेशले भने, ‘यसमा दुइटा कारण छ । पहिलो, आफ्नै होम ग्राउन्डमा होम दर्शकका अगाडि फ्रेन्चहरुले इख राख्न खोज्छन् भन्ने उनीहरूको साइकोलोजी मैले पढेको थिएँ । दोस्रो, जिनेदिन जिदानलगायत दुई–तीन जना खेलाडी त्यति बेला एकदमै उदाएर आएका थिए । त्यसैले फ्रान्सले जित्ला भन्ने मलाई मनैदेखि लागेको थियो।’

विश्वकपका बेला टोल–सहरमा ठूलठूला पर्दा हालेर खेल देखाइने प्रचलन नेपालमा व्यापक छ । हमालको त्यस्ता पर्दामा फुटबल हेरेको अनुभव भने रहेनछ । उनले रुचि बताए, ‘म यस्ता कुराहरू प्राइभेसीमा हेर्न रुचाउँछु । अरूसँग सेयर गरेर हेर्दिनँ।’

यसमा तपाईको मत