मेसीको स्किलका फ्यान प्रदीप

नेपाली नजरमा
शनिबार, १९ जेठ २०७५, १२ : ५८ अजय फुयाल

काठमाडौं – २०६५ सालको दिन नेपाली फुटबलका लागि कालो दिन थियो । कम्बोडियामा हुने एएफसी च्यालेन्ज कपको तयारीका सिलसिलामा थाइल्यान्ड पुगेको नेपाली राष्ट्रिय टोलीको त्यो दिन बैंककको स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल थियो । बैंककस्थित फ्रेन्ज बेकेनबाउर फुटबल एकेडेमीको मैदानमा त्यहाँको व्यावसायिक क्लब बैंकक ग्लासविरुद्धको अभ्यास खेलमा नेपालले ठूलो मूल्य चुकाउनुपर्याे।

खेल सुरु भएको १४ मिनेट पनि बित्न पाएको थिएन, नेपालले आक्रमणको राम्रो मुभ बनायो । विपक्षी गोलपोस्टमा गोलकिपर र एक विपक्षी रक्षक मात्र थिए । नेपालका भर गरिएका आक्रामक मिडफिल्डर प्रदीप महर्जनले चितुवाको गतिमा बललाई झम्टिए । सायद त्यो मुभमा प्रदीप सफल भएको भए नेपाली फुटबलले एएफसी च्यालेन्ज कप तयारीमा खेलिएको त्यही खेल लामो समय स्मरणीय बन्न सक्थ्यो।

दुर्भाग्य, मुभ सफल त भएन, नेपालले थप क्षति बेहोर्नुपर्याे । गोलको भोकमा हन्तु प्रदीपले जमेर हेड गरेपछि ल्यान्ड गर्न खोज्दा सन्तुलन गुमाए । उनले घुँडाको जोर्नीमा गहिरो चोट बोकेर मैदान छोडे । राष्ट्रिय टोलीका लागि प्रेरणाको स्रोत बन्न सक्ने त्यो मुभमा असफल हुँदा आशा गरिएका प्रदीपको प्रतिभालाई नेपाली राष्ट्रिय टोलीले सधैंका लागि गुमायो।

नेपाली फुटबलमा सही दृष्टि, आक्रमणको कडा धार, वान टचमै बललाई नियन्त्रणमा लिने खुबी, थर्ड म्यानका रूपमा फरवार्डबाट फुत्किएको बललाई उपयोग गर्ने, शारीरिक रूपमा पनि बलियो मिडफिल्डरको अभाव सधैं थियो र छ । प्रदीप यी सबै गुण भएका खेलाडी हुन्।

‘प्रदीप नेपाली फुटबलमा रोल मोडल हुने क्षमता भएका खेलाडी हुन् । नेपाललाई उनको अभाव खट्किरहन्छ’, नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक श्याम थापा भन्ने गर्थे, ‘नेपाली फुटबलमा असाधारण प्रतिभाको कमी छ । एउटै मात्र त्यस्ता खेलाडी प्रदीपलाई चोटले नराम्ररी गाँज्यो।’

घाइते भएयता नेपाली फुटबलका सबैले प्रदीपलाई ‘मिस’ गरे, उनको अभावमा टोलीले पीडा महसुस गरिरह्यो । पूर्वप्रशिक्षक थापाले भनेजस्तै नेपाली राष्ट्रिय टोलीमा अहिलेसम्म पनि उनको अनुपस्थिति खट्किइरहेको छ । स्वयम् प्रदीपका लागि यो समय अझ पीडादायी थियो । २०७० सालपछि घरेलु फुटबलबाट समेत बुट थन्क्याएर पानी ट्याङ्कर किनेर व्यावसाय थालेका प्रदीप भन्छन्, ‘फुटबलबाट टाढिनुको पीडा मैले जति कसैले भोग्नुपरेको छैन । प्यारापिट वा टेलिभिजनअगाडि बसेर खेल हेर्दा एउटा खेलाडीलाई धेरै गाह्रो हँुदो रहेछ, खुट्टा सलबलाइरहने । त्यो भएर मैले आफू खेल्न छोडेपछि फुटबल हेर्ने बानी त्यागिसकेँ । कामले भ्याउँदिनँ पनि । विश्वकप, युरोपियन च्याम्पियनसिप र नेपालले खेलेका खेलचाहिँ भ्याएसम्म छुटाउँदिनँ।’

दायाँ घुँडाको जोर्नीमा लागेको चोटबाट मुक्त हुन एक वर्षसम्म उनी पूरा उपचारमा व्यस्त रहे । दुई वर्षपछि जसोतसो घरेलु फुटबलमा फर्किए पनि पुरानो लय भेट्टाउन सकेनन् । नेपाली फुटबल इतिहासकै सर्वोत्कृष्ट आक्रामक मिडफिल्डरमध्येका एक प्रदीपलाई ‘कामचलाउ’ प्रदर्शनका साथ मैदानमा समय बिताउन मन्जुर रहेन । ‘आफ्नो स्तरअनुसार खेल्न नसकेपछि मैले २०७० मा जावलाखेलबाट खेलेपछि संन्यास लिने निर्णय गरेँ,’ त्यसयता फुटबलबाट भौतिक रूपमा टाढिए पनि मनमा यही खेल भएको बताउने उनले भने, ‘आफूले खेल्न नसकेपछि धेरै पीडा हुँदो रहेछ । त्यै भएर फुटबलबाट टाढा बस्न मन लाग्यो । आजकालचाहिँ शनिबार एन्फामा बच्चाहरूलाई ट्रेनिङ गराउन जाने गरेको छु । अब त विश्वकप पनि आउँदै छ । फुटबलबाट पूरै भाग्न त कहाँ सकिन्छ र।’

पछिल्लो दशक विश्व फुटबलमा राज गरेका अर्जेन्टिनाका लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो प्रदीपलाई सबभन्दा मन पर्ने खेलाडी हुन् । तर उपाधिचाहिँ सधैँ अर्जेन्टिनाले जितोस् जस्तो लाग्छ । अर्जेन्टिनाको खेल्ने शैली अरू सबै टिमभन्दा फरक देख्ने प्रदीपलाई मेसीको स्किलले झनै कायल बनाउँछ । त्यही कारण अर्जेन्टिनाले जितोस् भन्ने कामना गर्दै उनले यसपालिको विश्वकप हेर्ने योजना बनाएका छन्।

‘मेसीले गोल गर्दा मुभलाई फिनिस गरेको नभई जादु गरेजस्तो लाग्छ । अत्यन्तै सजिलोसँग नहतारिईकन मेसीले गोल गरेको जति चोटि देखे पनि उत्तिकै रमाइलो लाग्छ,’ उनले भने, ‘रोनाल्डोको चाहिँ मिहिनेत धेरै मन पर्छ । रोनाल्डोले लामो दूरीबाट प्रहार गरेका कडा सट राम्रो लाग्छ । त्यही कारण मेसीजस्तो स्किल नभए पनि मिहिनेत र कडा सटका कारण उनी धेरै गोल गरिरहन सफल भएका हुन्।’

यसमा तपाईको मत