मेसीका खाँटी समर्थक दीपक

नेपाली नजरमा
सोमबार, २१ जेठ २०७५, १६ : ३६ नागरिक

काठमाडौं – लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडीमध्ये एक हुन् । दीपक विष्टचाहिँ नेपाली खेलकुद इतिहासका सबभन्दा सफल खेलाडी । दक्षिण एसियाली खेलकुदमा नेपाललाई लगातार चार स्वर्ण पदक दिलाउनुका साथै एसियाली खेलकुदमा समेत नेपालका लागि कांस्य पदक उचालेका दीपक छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई नेपालीमध्येका एक हुन्।

दीपक तेक्वान्दोको एरिनामा उत्रिन छोडेको धेरै भइसक्यो । तर खेलाडीका रूपमा संन्यास लिए पनि उनको खेलकुद सक्रियता घटेको छैन, बरु बढेकै होला । प्रशिक्षकका रूपमा राष्ट्रिय टोलीका खेलाडीहरूलाई तिखार्न बाह्रै महिना व्यस्त रहने दीपक व्यवसायबाट पनि खेलकुदसँगै जोडिएका छन् । खेल्न छोडेपछि उनले नयाँ बानेश्वरमा खेलसामग्रीकै पसल ‘स्पोटर्स युनिभर्स’ चलाइरहेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका निवर्तमान अध्यक्ष भएकाले खेलाडीका सुख–दुःखमा हम्मेसि साथ रहनुपर्दा उनको व्यस्तता झनै बढेको छ । एउटा खेल अभियन्ताको अर्को पहिचान पनि दिलाएको छ।

आफू तेक्वान्दोका पूर्वखेलाडी र प्रशिक्षक भए पनि दीपक टिम खेलका खाँटी प्रशंसक हुन् । तेक्वान्दोमा करियर सुरु गर्नुअघि उनी भलिबलको जिल्लास्तरका राम्रा खेलाडीमा गनिन्थे । टिम खेलमा फुटबल उनको प्यारो खेल हो । त्यसैले अर्को महिनाबाट रूसमा सुरु हुने विश्वकपको ज्वरोले उनलाई तताइसकेको छ । दीपक अर्जेन्टिनाका ‘फ्यान’ हुन् । जुन १४ बाट जुलाई १५ सम्म रूसका विभिन्न सहरमा चल्ने प्रतियोगिताका भ्याएसम्म सबै खेल हेर्ने योजना बनाएका दीपक अर्जेन्टिनाको भने कुनै पनि खेल नछुटाउने बताउँछन्।

‘अन्तर्राष्ट्रिय खेलाडीमा मलाई मेसी सबभन्दा मन पर्ने स्टार हुन् । त्यसैले उनको टोली जितोस् भन्ने चाहना राखेर विश्वकप हेर्नेछु । अर्जेन्टिना आफैँमा पनि बलिया टोलीमध्येको एक हो । त्यसैले जित्ने सम्भावना छ । तर खेल हो, एउटाले जित्छ । समर्थन पनि एउटालाई नै गरिन्छ, जित र हारले त्यसमा खास अर्थ राख्दैन,’ दीपकले नागरिकसँग भने, ‘मेसीले उनको क्लब बार्सिलोनालाई सबै उपाधि जिताइसकेका छन् । व्यक्तिगत रूपमा उनी पाँच पटक बालन डी अर विजेता भइसके । तर देशका लागि भने उनले कुनै ठूलो उपाधि जिताउन सकेका छैनन् । अर्जेन्टिनाको जर्सीमा उनले जितेको भनेको २००८ को बेइजिङ ओलम्पिक मात्र हो । देशका लागि सिनियर स्तरमा पनि एउटा विश्वकप जित्न सके भने मेसीको करियर पूर्ण हुन्छ।’

मेसीले २००८ मा ओलम्पिक जित्दा दीपक पनि तेक्वान्दोमा भाग्य जाँच्न बेइजिङमै थिए । चार वर्षअघि संगीना वैद्यले छनोट चरण पार गर्दै ग्रिस ओलम्पिकमा सहभागिता जनाउँदै बनाएको गर्विलो इतिहासलाई दीपकले बेइजिङमा निरन्तरता दिएका थिए । बेइजिङ यात्रा दीपकका लागि व्यक्तिगत रूपमा ऐतिहासिक थियो । छनोट चरण पार गरेर ओलम्पिक खेल्ने उनी संगीनापछिको दोस्रो खेलाडी बनेका थिए । आफैँले बेइजिङमा थप उपलब्धि हासिल गर्न नसके पनि त्यो उनका लागि त्यतिकै स्मरणीय यात्रा बन्यो।

आफूलाई सबभन्दा बढी मन पर्ने सुपरस्टार मेसीसँग उनी एउटै ओलम्पिक भिलेजमा बसेका थिए । जहाँ मेसी र उनको कोठा पनि नजिकै थियो । ‘सबभन्दा मन पर्ने मानिसलाई भेट्दा खुसी लाग्नु स्वाभाविक थियो । तर म उनको व्यवहारले झनै प्रभावित भएँ।

एउटा फुच्चे, सालिन, ट्याइँफ्याइँ नगर्ने केटाका रूपमा मैले उनलाई देख्ने गर्थें । त्यहीँ मैले अमेरिकी बास्केटबल स्टार कोबे ब्रायन्टलाई पनि देखेँ । उनी हिँड्दा पनि सुरक्षागार्डसहित हिँड्ने । उनी र अरू ठूला नाम चलेका स्टार ओहोर–दोहोर गर्दा राष्ट्रपतिकै सवारी चलेजस्तो वातावरण बन्ने देखेको थिएँ,’ दीपकले भने, ‘मेसीलाई त्यस्तो कुनै कुरासँग मतलब थिएन । उनी अत्यन्तै शालीन थिए । मानिस जति ठूलो भए पनि सानो हुन जान्नुपर्छ भन्ने मैले मेसीबाट सिकेँ । मसँगकै भेटमा पनि उनले एउटा ‘फ्यान’लाई दिनुपर्ने माया मीठो मुस्कानका साथ दिए।’

यसमा तपाईको मत