मेसीकी फ्यान मञ्जुको समर्थन जर्मनीलाई

नेपाली नजरमा
सोमबार, २१ जेठ २०७५, १४ : १८ नागरिक

काठमाडौं – मञ्जु गुरुङलाई नेपाली महिला भलिबलको पर्याय भन्दा फरक पर्दैन । हुन पनि मञ्जुले नेटजालीमा बल लिएर उफ्रिन थालेको डेढ दशकभन्दा धेरै भइसक्यो । राष्ट्रिय टोलीबाटै खेलेको पनि दशक नाघिसक्यो । अझै पनि उनको जोस सेलाएको छैन । त्यसैले त उनी नयाँ पुस्ताका लागि ‘रोड मोडल’ हुन्।

सानै उमेरबाट भलिबलसँग साइनो गाँसेकी मञ्जुलाई अन्य खेलबारे त्यति धेरै चासो हुँदैन । भलिबलमा भने उनी विश्वका स्टारलाई फलो गर्छिन् । सामाजिक सञ्जालमा मन पर्ने भलिबल स्टारको फोटा पोस्ट गरिरहेकी हुन्छिन् । खेलाडी मन न हो, अन्य खेलबारे धेरै चासो नराखे पनि संसारमा हुने ठूला खेलकुद गतिविधबाट टाढा रहन कहाँ सकिन्छ र ! बिस्तारै विश्वकपको ज्वरो बढ्दै छ । त्यसबाट उनी पनि अछुतो छैनन् । विश्वकपको तापले उनलाई पनि राम्रैसँग छोएको छ।

भलिबललाई जस्तै नजिकबाट नहेरे पनि मञ्जु भ्याएसम्म विश्वकपमा खेल छुटाउन चाहन्नन् । पहिलो विश्वकप कहिलेबाट हेरेको भन्ने ठ्याक्कै हेक्का छैन उनलाई । तर, पछिल्लो विश्वकपमा भने ब्राजिलको समर्थन गर्दै टेलिभजनको पर्दा नियालेकी थिइन् । घरेलु मैदानमै जर्मनीले सेमिफाइनलमा ब्राजिललाई ७–१ को फराकिलो अन्तरमा हराइदिएपछि मञ्जुलाई फाइनलको रौनकले छोएन।

ब्राजिलाई हराउने त्यही जर्मनीले अर्जेन्टिनालाई हराउँदै उपाधि जित्यो । मञ्जुको फुटबलमा खास यही टिम भन्ने छैन । त्यसैले पनि यसपालि रसियामा हुने विश्वकपमा उनको समर्थन जर्मनीलाई हुनेछ । जर्मनीमा उनलाई मन पर्ने खास खेलाडी त छैन । तर, टोलीको संगठित प्रदर्शनले उनको मन छोएको हो।

टोलीमा जर्मनी मन पर्ने भए पनि व्यक्तिगत रूपमा मेसी उनको सबैभन्दा मन पर्ने खेलाडी हो । शालीन स्वभाव र मैदानमा देखाउने जादुका कारण मेसीको खेल सकेसम्म हेर्ने गर्छिन् । मेसी मन पर्ने अनि समर्थनचाहिँ जर्मनीलाई भनेर सोध्दा उनी भन्छिन्, ‘मेसी त सदाबहार भैहाल्यो नि ! तर टिम गेम हेर्दा जर्मनी राम्रो लाग्यो । त्यसैले यसपालि जर्मनीको समर्थन।’

यसमा तपाईको मत