मेसीको स्किलमाथि दबाब हाबी

नेपाली नजरमा
आइतबार, ०३ असार २०७५, ०३ : ५० नागरिक

विज्ञ नजर

नेपालमा अर्जेन्टिनाका समर्थक धेरै छन् । शनिबार नवप्रवेशी आइसल्यान्डविरुद्ध प्रिय स्टार लियोनल मेसीले पेनाल्टी खेर फालेपछि बराबरी नतिजा निस्कँदा नेपाली समर्थक निराश बनेका छन् । विश्व फुटबलमै मेसी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने होड चलिरहेको छ । यस्तो अवस्थामा एक दिनअघि भएको खेलमा रोनाल्डो ह्याट्रिकसहित टोलीलाई ३ अंक दिलाएको अवस्थामा मेसीले पेनाल्टी चुकाउँदा अर्जेन्टिना १–१ को बराबरीमा सीमित भएको छ।

विश्वकपमा पहिलो पटक सहभागिता जनाएको आइसल्यान्डलाई कमजोर आँक्नु अर्जेन्टिनाको गल्ती थियो । आइसल्यान्डले युरोपेली छनोटअन्तर्गत समूह ‘आई’ मा क्रोएसिया, युक्रेन र टर्कीजस्ता बलिया देशलाई पछि पार्दै विजेताका रूपमा रूसको टिकट पक्का गरेको थियो । छनोट प्रतियोगिताको १० खेलमा उनीहरूले ७ गोल मात्र खाएका थिए । त्यसैले आइसल्यान्डविरुद्ध गोल गर्न सहज हुँदैन भन्ने अर्जेन्टिनाले बुझ्नुपर्ने थियो।

आइसल्यान्डको रणनीति पूरै रक्षात्मक खेल्ने र काउन्टर अट्याकमा गोल गर्ने हुन्छ । यही रणनीतिमा आइसल्यान्डले युरोपियन च्याम्पियनसिपको समूह चरणमा उपाधि विजेता पोर्चुगललाई १–१ को बराबरीमा रोकेको थियो । त्यति मात्र नभई अन्तिम १६ मा इङ्ल्यान्डलाई २–१ ले हराउँदै आइसल्यान्डले विश्व फुटबलमा आफ्नो छाप छाड्न सफल भएको थियो।

विश्वकप फुटबलको इतिहासमा सबैभन्दा कम जनसंख्या भएको टिम आइसल्यान्डले शनिबार अर्जेन्टिनाका लियोनल मेसी, सर्जियो अग्विरो, एन्जेल डी मारिया र म्याक्सिमिलियानो मेजोजस्ता खेलाडीलाई रोक्न सफल भएको छ।

विगतमा मिडफिल्डबाट प्रभावशाली प्रदर्शन गरेका हाभियर मास्चेरानोले आशा गरेअनुसर खेल्न नसक्दा मेसी आक्रमण बुन्न भन्दा प्लेमेकरको भूमिकामा थन्किनुपर्याे।

सामान्यता फुटबलमा धेरै बल पोसेसन भएका टोलीको रक्षापंक्ति सजग (अलर्ट) भएको ह्रुँदैन । त्यसैले विपक्षी टोलीले काउन्टर अट्याकमा गोल गर्ने सम्भावना धेरै रहन्छ । आइसल्यान्ड विश्वकपमा पहिलो पटक खेलेका कारण दबाब अर्जेन्टिनालाई बढी थियो । अर्जेन्टिनाले १९औं मिनेटमा अग्रता लिए पनि आइसल्यान्डले पाँच मिनेट नबित्दै बराबरी गर्यो । एकपछि अर्को गर्दै आइसल्यान्डका गोलकिपर हान्स हाल्डर्सनले अर्जेन्टिनाको आक्रमण विफल बनाउँदा दक्षिण अफ्रिकी टोलीमाथि बिस्तारै दबाब बढ्दै गएको थियो । ६४औं मिनेटमा मेसीको पेनाल्टी रोक्नु नै खेलको निर्णायक मोड बन्यो।

अर्जेन्टिनाजस्तो बलियो टोलीसँग अंक खोसेको आइसल्यान्डले अर्को चरण पुग्ने सम्भावनालाई जीवित राखेको छ । त्यसैले अर्जेन्टिनाले नाइजेरिया र क्रोएसियाविरुद्ध गल्ती दोहोर्याउनु हुँदैन । त्यसो भयो भने मात्र अर्जेन्टिनाको अगाडि बढ्ने सम्भावना रहन्छ।

शनिबार पहिलो खेलमा अर्जेन्टिनाले अंक गुमाएका कारण समूह ‘डी’ बाट नाइजेरिया र क्रोएसियाको पनि दोस्रो चरण पुग्ने सम्भावना खुला भएको छ । यस्तो अवस्थमा उपाधि दाबेदारका रूपमा रूस पुगेको अर्जेन्टिनालाई अन्य टोलीभन्दा बढी दबाब छ । अघिल्लो चरण पुग्न अर्जेन्टिनासँग थप मिहिनेत गर्नुको विकल्प छैन।

अघिल्लो दिन स्पेनले पोर्चुगलसँगको खेलमा गरेको प्रदर्शनबाट शनिबार खेल्ने तयारीमा रहेका उपाधिका दुई मुख्य दाबेदार अर्जेन्टिना र फ्रान्समाथि दबाब बढेको थियो । जसको प्रभाव अर्जेन्टिनाको खेलमा देखियो । अर्जेन्टिनीहरूले रक्षापंक्तिमा टाँसिएको आइसल्यान्डलाई अगाडि बढाउन नसक्नु कमजोरी रह्यो । दोस्रो हाफको सुरुआतमा केही समय अर्जेन्टिनाले आक्रमणको गति कम गरेजस्तो गरेर आइसल्यान्डका खेलाडीलाई माथि उकालेको थियो । त्यो बेला गोलको सहज अवसर मिल्न सक्थ्यो । तर त्यसलाई दुवै टिमले धेरैबेर निरन्तरता दिन सकेनन् । अर्जेन्टिना गोलको हतारमा चाँडै आक्रमणमा होमियो भने आइसल्यान्डले पनि आफ्नो रणनीति र स्वभाव सम्झिएर पुनः रक्षात्मक प्रदर्शनमा फर्कियो।

अर्जेन्टिनाजस्तै फ्रान्सले पनि दाबेदार छविमा न्याय गर्न सकेन । अस्ट्रेलियामाथि २–१ को जित हासिल गरे पनि फ्रान्सका एन्टोनी ग्रिजम्यान, पाउल पोग्बा, काइलियन एमबाप्पे र ओसामाने डेम्बेलेहरूले आशा गरेअनुसार प्रदर्शन गर्न सकेनन्।

नतिजाजस्तो भए पनि स्पेनले शुक्रबार उच्चस्तरको प्रदर्शन गरेर आफ्नो दाबेदार छवि प्रमाणित गरिसकेको थियो । तर, पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले वान म्यान आर्मीको जस्तो भूमिका निर्वाह गरेका कारण स्पेनले बराबरी नतिजामा चित्त बुझाउनुपर्याे । अन्यथा स्पेन सबै हिसाबमा माथि थियो । स्पेनको खेल्ने शैलीको आधार टिकी टाका नै भए पनि उनीहरूले त्यसलाई समयअनुसार धेरै परिमार्जन गरेको देखियो । अहिले स्पेनको टिकी टाकामा पनि आक्रामक स्वभाव देखिन्छ । उनीहरूको पास खेल्ने शैली उस्तै भए पनि अहिले पहिलाको दाँजोमा अलि लामो पास खेल्न थालेका छन्।

विपक्षी पोस्टमा खतरानाक बनेका फरवार्ड डिएगो कोस्टा, अनुभवी मिडफिल्डर आन्द्रियास इनियस्टा र डिएगो सिल्भालाई परिवर्तन गर्नु स्पेनका नयाँ प्रशिक्षक फर्नान्डो हाएरोको कमजोर निर्णय बन्यो । कोस्टा, इनियस्टा र सिल्भा मैदानमा रहँदा स्पेनले दुई पटक पछि परेको स्थितिलाई बराबरीमा ल्याएर अग्रता लिन समेत सफल भएको थियो । विश्वकै उत्कृष्ट खेलाडी रोनाल्डो मैदानमा रहँदासम्म जति बेला पनि खेलको नतिजा उल्टाउन सक्छन् भने हेक्का प्रशिक्षक हाएरोले राखेनन् । कोस्टा, इनियस्टा र सिल्भालाई निकालेपछि स्पेनको लय बिग्रियो । उनीहरूको अभावमा उल्टो दबाब झेल्नुपर्दा स्पेनले अन्तिम समयमा केही मिनेट आफ्नो पोस्ट जोगाउनै संघर्ष गर्नुपर्याे।

स्पेनसामु पोर्चुगलका अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । निर्धारित ९० मिनेटमध्ये झन्डै ७० मिनेट स्पेनले बल आफ्नो नियन्त्रणमा राखेको थियो । पोर्चुगल स्पेनविरुद्ध एकदमै निरीह साबित भएको थियो । खेलमा भाग्यको पनि साथ चाहिन्छ भन्ने कुरा यस खेलमा प्रमाणित भएको छ । रोनाल्डोले दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपअन्र्तगत समूह चरणको अन्तिम खेलमा आवश्यक परेको बेला महत्वपूर्ण दुई गोल गर्दै पोर्चुगललाई अघिल्लो चरण पुर्याएका थिए । उनले शुक्रबार पनि त्यस्तै प्रदर्शन दोहोर्याए । रोनाल्डोले फेरि एक पटक आफ्नो क्षमता प्रमाणित गर्दा पोर्चुगल स्पेनसँग एक अंक खोस्न सफल भयो।

तथापि समूहमा यो बराबरीले दुबै दबाबमा भने हुने छैनन् । समूह ‘बी’ मा तुलानात्मक रूपमा कमजोर मानिएको एसियली राष्ट्र इरानले मोरक्कोलाई हराएको छ । स्पेन र पोर्चुगलले यी दुई टोलीसँग खेल्न बाँकी रहेकाले नतिजा आफ्नो पक्षमा पार्दै अर्को चरण प्रवेश गर्ने सम्भाना जीवितै छ।

यसमा तपाईको मत