मोरक्को अभागी भएपछि

नेपाली नजरमा
बिहिबार, ०७ असार २०७५, ०१ : २२ नागरिक

रूसका विभिन्न ११ सहरमा चलिरहेको विश्वकपमा अहिलेसम्म सम्पन्न खेलहरू हेर्दा मोरक्कोलाई अभागी टोली भन्न हिचकिचाउनु पर्दैन । पहिलो खेलमा दुर्भाग्यजनक आत्मघाती गोलका कारण इरानसँग पराजित भएको मोरक्कोले बुधबार पोर्चुगलसँग पनि जित्नै पर्ने खेलमा पराजय भोग्यो।

बल पोसेसन, विपक्षी पोस्टमा आक्रमण र खेलमाथिको नियन्त्रण सबै पक्षमा मोरक्को माथि थियो । तर फुटबलमा नभई नहुने गोल गर्ने काममा मोरक्को असफल रह्यो । ६ यार्ड एरियाभित्र पाएका राम्रा अवसरलाई पनि उपयोग गर्न नसक्नु मोरक्कोको मुख्य कमजोरी थियो । मोरक्को जुन कुरामा कमजोर देखियो, पोर्चुगलले त्यसैमा बाजी मा¥यो । पोर्चुगलसँग जस्तोसुकै अवस्थामा पनि गोल निकाल्न सक्ने क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीको साथ थियो । ठूला खेलको प्रशस्त अनुभव थियो । त्यसैमा हाबी हुँदै पोर्चुगलले जित निकाल्यो।

पहिलो खेलमा इरानसँग पराजित भएपछि मोरक्कोमा एकखालको दबाब थियो । दोस्रो खेल पाँच पटकका बालन डी अर विजेता रोनाल्डोको टिमसँग थियो । त्यसबाट सिर्जित दबाबमा मोरक्को हुँदा पोर्चुगल भने रोनाल्डोको नेतृत्व र पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी नतिजा निकालेपछिको उत्साह थियो । यसबाहेक जारी विश्वकपमा पनि पोर्चुगल भाग्यमानी साबित भइरहेको छ । स्पेनसँगको पहिलो खेलमा रोनाल्डोले गरेका तीन गोल हटाउँदा पूरा खेल स्पेनको पक्षमा थियो । दोस्रो खेलमा पनि रोनाल्डोकै एक गोल बिर्सने हो भने मोरक्कोसँग पोर्चुगलको तुलना थिएन । पूरा समय मोरक्कोका आक्रमण रोक्नमै व्यस्त भए पनि आफूले पाएको एउटा अवसरलाई उपयोग गरेको टोली सफल भयो।

विश्वकपमा यही संस्करणदेखि भिडियो सहायक रेफ्री (भिएआर) को प्रयोग गरियो । विश्वभर भिएआर प्रयोगको विषयमा मिश्रित प्रतिक्रिया आइरहेको छ । भिएआरबाटै रेफ्रीले आफ्ना थुपै्र नतिजा उल्टाएका छन् । भिएआर प्रविधिको प्रयोगकै कारण फ्रान्स, स्विडेन र इजिप्टले पेनाल्टी पाए । फ्रान्स र स्विडेनको जितमा त्यसकै भूमिका रह्यो । तर प्रविधिले पनि मोरक्कोलाई चाहिँ ठग्यो । दुई पटक मोरक्कोले पेनाल्टी पाउनै पर्ने थियो । तर रेफ्रीले भिएआर प्रयोग गर्नु जरुरी ठानेनन्।

फुटबलमा सफलताका लागि टिम राम्रो भएर मात्र पुग्दैन, खेल राम्रा खेलेर मात्र पनि पर्याप्त हुँदैन । विपक्षी कमजोर भएर पुग्दैन । भाग्यको साथ मात्र पनि अपर्याप्त हुन सक्छ । खेल जित्नका लागि उचित रणनीति पनि बनाउन सक्नुपर्छ । बनाएको रणनीति मैदानमा सही ढंगमा उपयोग गर्न सक्नुपर्छ । खेलको अवस्थाअनुसार रणनीतिमा परिवर्तन गरेर मैदानमा कार्यान्वयन गर्न सक्नुपर्छ।

पोर्चुगल त्यसमा चाहिँ माथि थियो । एक गोलले अग्रता लिए पनि पूरा समय विपक्षीको आक्रमण रोक्नमै केन्द्रित भएपछि दोस्रो हाफमा पाँच मिनेट इन्जुरी समय थपिएको थियो । एकोहोरो दबाब झेलिरहेको बेला पोर्चुगलका लागि त्यो पाँच मिनेट निक्कै लामो हुन्थ्यो । त्यसैले रोनाल्डोको अनुभवी टोलीले इन्जुरी समयमा अनावश्यकजस्तो देखिने विवाद गरेर समय गुजार्ने सफल प्रयास गर्याे । फुटबलमा नतिजाका लागि सानो सानो कुरामा पनि ध्यान पुर्याउनुपर्छ भन्ने उदाहरण पनि हो यो खेल।

पहिलो दुई खेलमा मिलेका थुप्रै संयोगले दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपजस्तै पोर्चुगललाई यसपालि पनि भाग्यशाली टिमको रूपमा उभ्याउन सक्छ । खाली त्यो भाग्यले कहाँसम्म पुर्याउँछ भन्ने हो । मंगलबारको नतिजा पनि धेरैको अनुमानभन्दा फरक रह्यो । रूसलाई विश्वकप सुरु हुनुभन्दा पहिला कसैले पनि दोस्रो चरणको दाबेदार मानेका थिएनन् । स्वयम् रूसीहरूले पनि दोस्रो चरण पुग्ने आशा गरेका थिएनन् । तर पहिलो खेलमा कमजोर साउदी अरेबिया विपक्षी पाउनु उनीहरूको भाग्य थियो । त्यसमाथि सुरुमै गोल निस्कनु उनीहरूको भाग्यको शृंखलामा अर्को फाइदाजनक पक्ष रह्यो।

घरेलु टिमलाई मैदान, मौसम, दर्शक र अधिकारीहरूलगायतको फाइदा पुग्ने गर्छ । पहिलो खेलको जितपछि रूस दबाबमा थिएन । मोहम्मद सालाहको इजिप्टसँग खेल्दा त्यसैले रूस खुलेर प्रस्तुत भयो । पहिलो खेलमा चार खेलाडीले गोल गरेका थिए । गोल गरेपछि सम्बन्धित खेलाडीको मनोबल आफैँ उच्च भएको हुन्छ । त्यही क्रमले दोस्रो खेलमा पनि निरन्तरता पायो । इजिप्टजस्तो बलियो टिमसँग पनि उनीहरूले एकतर्फी नतिजा निकालेर डार्क हर्सको छवि प्रस्तुत गरेका छन् । घरेलु मैदानमा बनाएको यो छविले प्रतियोगितामा रूसलाई लामो यात्रा गराउने अपेक्षा गर्न सकिन्छ।

समूह ‘सी’ मा फ्रान्स र डेनमार्कले पहिलो खेल जितेर सहज अवस्थामा छन् । तर अस्ट्रेलिया र पेरू पहिलो अंकको खोजीमा छन् । त्यसैले अर्को चरण पुग्ने सम्भावना जीवित राख्नका लागि पनि बिहीबार अस्ट्रेलिया र पेरूसामु जितको विकल्प हुने छैन । अस्ट्रेलिया फुटबलमा एसियालाई प्रतिनिधित्व गर्ने भए पनि उसको फुटबल स्तर आम एसियालीभन्दा माथि छ । एसियामा खेल्दा उस्तै देखिए पनि विश्वकपमा आउँदा उनीहरू फरक टिमका रूपमा प्रस्तुत हुने गर्छन् । उनीहरूको टिममा फाइटिङ स्पिरिट अन्य एसियाली टिमको भन्दा बढी छ।

फ्रान्ससँग अन्तिम समयमा गोल खानु, भिएआरको सिकार बन्नु अस्ट्रेलियाको दुर्भाग्य थियो । नतिजा पराजित भए पनि उपाधिकै मुख्य दाबेदार फ्रान्ससँग अस्ट्रेलियाको प्रदर्शन उच्च स्तरको थियो । त्यसैले बिहीबार पनि त्यही प्रदर्शन दोहोर्याउन सके डेनमार्कमाथि अस्ट्रेलियाले जित हासिल गर्ने अनुमान गर्न सकिन्छ । यसै गरी पेरू पनि पहिलो खेलमा आत्मघाती गोलको सिकार हुनुका साथै आफूले पाएको पेनाल्टीमा गोल गर्न नसकेका कारण मात्र डेनमार्कसँग पराजित भएको थियो । उता अस्ट्रेलियासँग फ्रान्सले निक्कै संघर्ष गर्नुपरेको थियो । फ्रान्सका विश्वस्तरीय स्टारहरूको समूह अस्ट्रेलियाविरुद्ध नामअनुसारको प्रदर्शनबाट चुकेको थियो । थुप्रै अवस्थामा फ्रान्सको टिमवर्कमा प्रश्न गर्ने ठाउँ थिए । फ्रान्सको त्यही प्रदर्शनले निरन्तरता पाउने हो र आफूले दुर्भाग्यको सिकार हुनु नपरे पेरू आश्चर्यजनक नतिजाको लायक छ।

रूसमा जारी प्रतियोगितामा पूरा विश्वले आँखा ठूलो पारेर हेरेका खेलाडी र टिम लियोनेल मेसी र अर्जेन्टिना हुन् । पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकिँदा मेसी पेनाल्टीमा चुकेका थिए । त्यसले मेसी र उनको अर्जेन्टिनामाथिको दबाब बढेको छ । विश्वले सबभन्दा बढी आशा गरेका कारण मेसी सधैझै अहिले पनि चरम दबाबमा छन् । पहिलो खेलमा आफ्नो टिमले पूरा खेल नियन्त्रणमा राख्नाका बावजुद मेसी त्यो दबाबलाई जित्न सफल भएनन्।

अर्जेन्टिनाको टिम सधैं लामो समयदेखि एक खेलाडीमा बढी भर पर्ने गरेको छ । पछिल्लो १५ वर्षदेखि अर्जेन्टिनी टिमको एक्लो भरका रूपमा मेसी रहँदै आएका छन् । सबै खेलाडीले मैदानभित्र पनि मेसीसँगै मात्र बढी पास खेल्न खोज्ने, मेसीबाटै गोलको अपेक्षा गर्ने गरेको देखिन्छ । तर मेसी विपक्षीको कडा निगरानीमा रहने गर्छन् । जसका कारण अर्जेन्टिना थुपै्र अवसरमा हकलाग्दो नतिजाबाट विमुख हुने गरेको छ।

पहिलो खेलमा बराबरीमा सीमित भएका कारण बिहीबार क्रोएसियासँग खेल्दा मेसी र उनको अर्जेन्टिनालाई जितबाहेकको विकल्प काम लाग्दैन । उता पहिलो खेलमा नाइजेरियामाथि २–० को स्पष्ट जित हासिल गरेर तीन अंक जोडेको क्रोएसिया तुलनात्मक रूपमा कम दबाबमा हुनेछ । मेसीको बार्सिलोनाको चिर प्रतिद्वन्द्वी रियाल मड्रिडका स्टार मिडफिल्डर लुका मोडरिचको प्रेरणामा क्रोएसियाले उच्चस्तरको प्रदर्शन गरिरहेको छ । त्यसैले अर्जेन्टिनाले यो खेलमा जित आशा गर्ने हो भने मेसीमाथिको निर्भरता कम गर्दै टिम वर्कमा विश्वास राख्नुपर्छ।

यसमा तपाईको मत