नामले मात्र खेल्न सकिन्न

नेपाली नजरमा
शनिबार, १६ असार २०७५, ०७ : २४ नागरिक

रुसमा जारी विश्वकपको समूह चरण सकिँदा केही अनपेक्षित नतिजा र केही त्यस्तै गैह्र खेलकुदीय दृष्यहरु देखिए। साबिक विजेता टोली समूह चरणबाट बाहिरिने पछिल्ला संस्करणको क्रमले यसपाली पनि निरन्तरता पाउँदा जर्मनी निराश भयो।

जर्मनी कमजोर टोली भएका कारण मेक्सिको र दक्षिण कोरियासँग पराजित भएको थिएन । पहिलो खेलमा मेक्सिकोजस्तो सधै एकरुपको प्रदर्शन गर्ने टोलीलाई कमजोर आँक्नुको मुल्य जोचिम लोउ र उनका खेलाडीहरुले चुकाउनुपरेको थियो । त्यस्तै कोरियासँगको खेलमा पनि जर्मनी स्वभाविक रुपमा प्रस्तुत हुन सकेको थिएन । उनीहरुको टिम कुनै पनि बेला संगठित रुपमा प्रस्तुत भएर जितको भोक देखाउन सफल भएन । फलत समूहका तीनमध्ये दुई खेलमा हार भोग्दै चाढै घर फर्किन बाध्य भयो।

यसैगरी समूह चरणको अन्तिम दिन दुई खेलमा अत्यन्तै दूर्लभ दृष्य देखिए । समूह ‘एच’ मा कोलम्बियाले सेनेगललाई गोल हानेपछि जापानले फेयर प्ले अंकका आधारमा १–० सम्मको अन्तरमा पराजित भए पनि नकआउट चरण पुग्ने बुझेर अन्तिम १५ मिनेट अत्यन्तै उदासिन फुटबल खेल्यो।

पोल्यान्डविरुद्धको खेलमा एक गोल खाइसकेको जापानले पुनरागमनको लागि गरेका सबै प्रयासमा ७४औं मिनेटमा अर्को खेलमा कोलम्बियाले गोल गरेपछि बिट मार्यो । पछि परिरहेको टिमले आफै समय बर्बादमात्र गर्ने उदेश्यमा आफ्नै जोनमा पास खेलिरहँदा प्रतियोगिताबाट बाहिरिइसकेको पोल्यान्डले पनि बल खोस्न कुनै मिहिनेत गरेन । पोल्यान्डले पनि सान्त्वना जितका लागि एक गोल पाइसकेको थियो । जसका कारण दुवै टोलीले अत्यन्तै उदासिन फुटबल खेलेर विश्वभरका दर्शकलाई निराश बनाए।

त्यस्तै दृष्य समूह ‘जी’बाट नकआउट चरण पुगिसकेका बेल्जियम र इङल्यान्डबीचको खेलमा पनि देखियो । विजेता बनेर अगाडि बढ्नेले क्वार्टरफाइनलमा ब्राजिलसँग भेटने सम्भावना रहन्थ्यो । त्यसैले ब्राजिलसँगको त्यो सम्भावित भेट दुवै टोलीले टार्न चाहँदा खेल निरश रहयो।

शनिबारबाट दोस्रो चरण सुरु हुँदा पहिलो खेलमा दाबेदार छविका लियेनेल मेसीको अर्जेन्टिना र स्टार खेलाडीहरुले भरिपूर्ण फ्रान्सले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरीमा सिमित हुँदा अर्जेन्टिनाका सुपरस्टार मेसीले पेनाल्टीको अवसर खेर फालेका थिए । त्यसपछि दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित हुँदा अर्जेन्टिनाको समस्या झनै नराम्ररी ‘एक्सपोज’ भयो।

क्रोएसियासँगको त्यो हारबाट पूरा शंसार अचम्मित भयो । समर्थकहरु अर्जेन्टिनी टिमको कम्पोजिसन भन्दा पनि नामले जित्छ भन्ने विश्वास राख्छन् । तर आधुनिक फुटबलमा नामलेमात्र हुँदैन । पहिलो दुई खेलमा त्यही नामका भरमा जित्न खोज्दा पराजय भोगेपछि नकआउट चरण पुग्न अन्तिम खेलमा नाइजेरियालाई जित्नैपर्छ भन्ने बुझेर प्रशिक्षक जर्ज साम्पोलीले रणनीतिसँगै खेलाडी परिवर्तन गरेर मेसीलाई मुख्य स्ट्राइकरको भूमिकामा खेलाए । ४–३–३ को फर्मेसनमा खेलिरहेको टिम अन्तिम खेलमा ४–४–२ को फर्मेसनमा गयो । मेसीलाई अगाडि खेलाउनु र खेलाडीसँगै फर्मेसन परिवर्तन गर्नुको फाइदा अर्जेन्टिनालाई पुग्यो।

नाइजेरियाविरुद्धको खेलमा मेसीले जादुमय गोल गरे । सधै त्यस्तै भए अर्जेन्टिनाविरुद्ध कुनै पनि टोलीको केही लाग्दैन । मेसीको जादु चले अर्जेन्टिनालाई कसैले हराउन सक्दैन । तर फ्रान्ससँग पनि विश्वकै सर्बोत्कृष्ट खेलाडीहरुको समूह छ । युरोपका टिमहरुले खेल्ने ४–२–३–१ कोे ढाँचामा एनगोलो कान्टे र पाउल पोग्बा खुबै सुहाउँछन् । रक्षापंक्तिको ठ्याक्कै अगाडि मिडफिल्डमा खेल्ने दुई पोजिसनका लागि उनीहरु एकदमै ठिक छन् । फुटबलको यो शैली नै पोग्बा र कान्टेका लागि बनाइएजस्तो हुन्छ । त्यसैले कान्टे र पोग्बाले मेसीलाई खुलेर खेल्न दिने छैनन् । फ्रान्सका गोलकिपर हुगो लोरिस पनि राम्रो प्रदर्शन गरिरहेका छन्।

ठिक विपरित अर्जेन्टिनाका गोलकिपर फ्रांको अर्मानी भर्खरमात्र राष्ट्रिय टिममा डेब्यु गरेका खेलाडी हुन् । त्यसैले किलियन एमबाप्पे, एन्टोनी ग्रिजम्यान, औसमान डेम्बेले, ओलिभर जिरौडजस्ता खेलाडी रहेको फ्रान्सको आक्रमण उनलाई पूरा समय दबाबमा राख्न पर्याप्त हुनेछ । जवकि समूह चरणमा फ्रान्सले पनि त्योअनुसारको खेल देखाउन नसक्नुमा भने अर्जेन्टिनाले आफ्नो सम्भावना खोज्न सक्छ । तर फ्रान्सको टिममा ढल्कँदो उमेरका भन्दा उदीयमान स्टारहरुको बाहुल्य छ र यो टिमले पछिल्लो दुई वर्षयता राम्रो फुटबल खेल्दै आएको छ । यसकारण फ्रान्सले जित्ने सम्भावना बढि रहन्छ।

अन्तिम १६अन्तर्गत शनिबारै हुने अर्को खेलमा उरुग्वे र पोर्चुगलले खेल्दा भने खेल पेनाल्टी सुटआउटसम्म जाने अपेक्षा गर्न सकिन्छ । पोर्चुगल मुस्किलले नकआउट चरणमा आएको हो । तर जति मुस्किलले आए पनि उनीहरुसँग रोनाल्डोजस्ता गेम चेन्जर खेलाडी छन् । रोनाल्डोको उपस्थितीका कारण पोर्चुगललाई कमजोर मान्न मिल्दैन । पोर्चुगलले समूह चरणमा कुनै पनि विपक्षीलाई डोमिनेट गरेर हराउन सकेन । यसैगरी अरुले पनि पोर्चुगललाई डोमिनेट गर्न सकेनन् । पोर्चुगलले दुई वर्षअघि युरोपियन च्याम्पियनसिपमा पनि यसैगरी उपाधि जितेको थियो।

ठिक विपरित उरुग्वे पूरा ९ अंक लिएर आएको छ । तर टोलीले पहिलो दुई खेलमा इजिप्ट र साउदी अरेबियासँग तीन अंक लिन धेरै संघर्ष गरेको थियो । अघिल्लो चरणलाई छनोट भइसकेको र विपक्षीले रातो कार्ड खाएको अवस्थामा भएको अन्तिम खेलमा चाँही रुसविरुद्ध उनीहरुको प्रदर्शन र नतिजा सहज रहयो।

उरुग्वेको टिम वर्क रोनाल्डोको पोर्चुगलभन्दा माथि छ । पोर्चुगलसँग रोनाल्डोजस्तै उनीहरुसँग पनि लुइस स्वारेज र इडिन्सन काभानी जस्ता विश्वका उत्कृष्ट फरवार्ड छन् । साथमा डिएगो गोडिनको रक्षात्मक प्रदर्शन उच्चस्तरको छ । उनीहरुले यो वर्ष भएका ६ खेलमा एउटै गोल खाएका छैनन् । जुन रोनाल्डो र पोर्चुगलका लागि टाउको दुखाई हो।

तर पोर्चुगलको खेल रोनाल्डोमा केन्द्रित हुनेछ । उनीहरुले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा तिब्र गतिका रोनाल्डोमार्फत नै गोल निकाल्ने रणनीति बनाउनेछन् । ९० मिनेटमै गोल गर्न सके उरुग्वेले जित्न सम्भव होला । तर यो खेलमा कतै न कतै दुवै टोली जोखिम नमोलीकन टाइम किल गर्दै अवसर खोज्ने रणनीतिमा हुन सक्छन्।

स्वारेज, काभानी र उरुग्वेको संगठित प्रदर्शनको डर जति पोर्चुगललाई हुनेछ त्यतिकै रोनाल्डोसँग पनि उरुग्वे जोखिन खोज्नेछ । त्यसैले यो खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा जान सक्छ । त्यसो भयो भने पोर्चुगलको पक्षमा नतिजा आउने सम्भावना बलियो रहन्छ।

यसमा तपाईको मत