स्पेनको पक्षमा नवयुग

नेपाली नजरमा
शनिबार, १९ जेठ २०७५, १६ : १२ नागरिक

काठमाडौं – नेपाली फुटबल टोलीको लामो गोल खडेरी तोड्दै उदाएका खेलाडी हुन्, नवयुग श्रेष्ठ । त्रिभुवन आर्मी क्लबबाट राष्ट्रिय लिगमा धेरै गोल गरेपछि नेपालको राष्ट्रिय टोलीमा पर्न सफल भएका नवयुगले त्यसपछि पछाडी फर्केर हेर्नु परेको छैन।

भारतको त्रिभेन्द्रममा सम्पन्न २०१५ को साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलबाट नेपालका लागि आधिकारिक प्रतियोगितामा ‘डेब्यू’ गरेका नवयुगले २०१६ को बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए । त्यसपछि राष्ट्रिय टोलीमा उनको स्थान नियमित छ । उनले भारतमै सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए।

छोटो समयमा नेपाली फुटबलकै ठूलो स्टारका रुपमा स्थापित भएका नवयुग फुटबलबाहेक क्रिकेटमा पनि उत्तिकै रुची राख्छन् । त्यसैले त विश्वकप शुरु हुन २० दिन पनि बाँकी नरहँदा नवयुग भने इन्डियन प्रिमियर लिग(आइपिएल)मा रुमल्लिरहेका छन् । आइपिएलमा उनलाई मन पर्ने टोली चेन्नई सुपर किंग्स हो । चेन्नईले आइपिएलको फाइनलमा स्थान बनाइसकेको छ । त्यसैले पनि नवयुग अझै आइपिएलमै रमाइराखेका छन्।

समकालिन खेलाडीमा रोहित चन्द मन पर्ने नवयुग विश्व फुटबलमा भने क्रिष्टियानो रोनाल्डोका फ्यान हुन् । रोनाल्डो मन पर्ने भए पनि विश्वकपमा उनको साथ पोर्चुगललाई छैन । युरोपियन च्याम्पियनसिपको उपाधि जिते पनि नवयुगलाई पोर्चुगलले विश्वकप च्याम्पियन हुने विश्वास छैन । त्यसैले स्पेनलाई समर्थन गर्दै विश्वकप हेर्ने योजनामा छन्, नवयुग । स्पेनमा त्यस्तो मन पर्ने कोही खेलाडी छैन । तर टोलीको संगठित प्रदर्शनले भने नवयुगलाई लोभ्याउछ । स्पेनजस्तै नवयुगलाई जर्मनी, फ्रान्स, अर्जेन्टिना ब्राजिल पनि उत्तिकै बलियो टोली लाग्छ।

‘स्पेनले जितोस जस्तो लाग्छ । अहिलेसम्म त विश्वकपका टोलीहरुको वारेमा अध्ययन गर्न भ्याएको छैन । अहिले आइपिएलमै रमाइलो भइरहेको छ । आइपिएल सकिएपछि विश्वकपमा ध्यान केन्द्रित हुन्छ,’ नवयुगले भने, ‘विश्वकपमा छनोट भएर आउने सबै टोली बलिया हुन्छन् । दुई वर्षअघि युरोपियन च्याम्पियनसिपमा आइसल्यान्डले इङल्यान्डलाई हरायो । त्यसैले यसैले जित्छ भनेर हेर्याे भने दुःख हुन्छ । म आफूलाई दुःख दिन चाहन्न।’

यसमा तपाईको मत