निराजन रायमाझी (फुटबल)

नेपाली नजरमा
सोमबार, २८ जेठ २०७५, १४ : ३२ नागरिक

९० को दशकमा टेलिभिजनको पर्दा चिहाएर विश्वकप फुटबल हर्ने नेपालीहरुमा अर्जेन्टिनाले गज्जबको छाप छाडेको छ। अझ भनौं मैदानभित्र म्यारोडोनाले देखाउने जादु र त्यससँगै हुने विवादित दृष्य नेपालीको दिमागमा ताजै छ। त्यही समयमा हुर्किएका नेपाली फुटबलका स्टार निराजन रायमाझीको मानसपटलमा पनि ती दृष्य आजसम्म पनि ताजै छ।

१९८६ मा पश्चिम जर्मनीलाई हराएर दोस्रो पटक विश्वकपको उपाधि उचालेको अर्जेन्टिना १९९० मा त्यही जर्मनीसँग पराजित हुदै उपविजेता बनेको थियो। उच्च लयमा रहेका म्यारोडोनाको छाप रायमाझीमा पनि गाढा बनि बसेको छ। त्यसैले विश्वकपको २१औं संस्करण नजिकिदै गर्दा रायमाझी अर्जेन्टिनाको समर्थन गर्दै विश्वकप हेर्ने योजनामा छन्।

‘अझै पनि च्यापियन्स लिग हेर्न नछुटाउने मैले चार वर्षपछि आउने विश्वकप छुटाउने त कुरै भएन,’ समकालिन साथिमाझ बसेर विश्वकप हेर्ने योजना बनाएका रायमाझीले थपे, ‘मैले जबदेखी विश्वकप हेर्न थाले त्यतीबेला देखी नै म अर्जेन्टिनाको समर्थक हुँ। तर दुभाग्य सधै राम्रो टोली भएर पनि अर्जेन्टिनाले उपाधि जित्न सकेको छैन । तर, यसपटक आशा गरेको छु।’

लियोनल मेसीको कप्तानीमा रहेका अर्जेन्टिनाको आक्रमक पंक्तिलाई उनी टोलीको सबैभन्दा बलियो पक्ष मान्छन्। टिम गेममा विश्वास राख्ने रायमाझीलाई अर्जेन्टिनापछि मनपर्ने अर्को टोली हो, स्पेन। तर, फ्रान्स, ब्राजिल, जर्मनी पनि उनलाई सन्तुलित टोली लाग्छ।

छोटो समयमा राष्ट्रिय टोलीबाट बढी गोल गरेका निराजन उच्च फर्ममा रहेकै बेला सबैलाई चकित पार्दै २०६० मा जर्मनी तिर हानिए। जर्मनीबाट २०६२ मा फर्केपछि थ्री स्टार क्लबमा आबद्ध रायमाझी २०६३ को लिगपछि व्यावसायिक फुटबल खेल्न एनआरटी गए। झन्डै ४ वर्षपछि २००७ मा विश्वकप छनोट चरणलाई पुनः राष्ट्रिय टोलीमा बोलाइएका निराजनले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध ४–१ को जितमा एक गोलसमेत गरे। त्यही गोलबाट उनले राष्ट्रिय टोलीका लागि व्यक्तिगत गोलसंख्या १३ पुर्याउँदै सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमानमा हरि खड्कासँग बराबरी गरेका थिए।

फुटबलबाट सन्यास लिएर व्यवसायतर्फ लागेका रायमाझीको पारिवारिक माहोल पनि फुटबलमय छ। त्यसैले घरमा बसेर फुटबल हेर्दा श्रीमतीसँग उनको कुरा बाझ्ने गर्छ। ‘म अर्जेन्टिनाको समर्थक हुँ, उनी जर्मनीको,’ पारिवारिक बातारण सम्झदै रायमाझीले थपे, ‘फरक टिमको समर्थक भएका कारण सँगै बसेर फुटबल हे¥यो भने झगडै पर्लाजस्तो हुन्छ।’

यसमा तपाईको मत