पाउल पोग्बा (फ्रान्स)

फिचर खेलाडी
बिहिबार, ०७ असार २०७५, ०० : ३७ नागरिक

नाम : पाउल पोग्बा

जन्म : १५ मार्च, १९९३

पोजिसन : मिडफिल्डर

क्लब : ला हाब्रे, म्यानचेस्टर युनाइटेड, युभेन्ट्स

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा फ्रान्सका समेत महत्वपूर्ण खेलाडी हुन् । मैदानको मध्यभागमा प्रभावशाली प्रदर्शन गर्ने पोग्बा अवस्थाअनुसार विपक्षीको पोस्टमा हाबी बन्न सक्छन् भने आफ्नो पोस्टको रक्षामा पनि खटिन सक्छन्।

६ वर्षको उमेरबाट फुटबल खेल्न थालेका पोग्बाले ला हाब्रेबाट व्यावसायिक फुटबल खेल्न सुरु गरेका थिए । २००९ जुलाइमा पोग्बा फ्रान्सबाट म्यानचेस्टर युनाइटेडको युथ एकेडेमीमा भर्ना हुन इङ्ल्यान्डतिर लागेका थिए । युनाइटेडको युथ एकेडेमीमा आबद्ध भएका पोग्बाले २०११ सिनियर टोलीमा पनि स्थान बनाएका थिए।

युनाइटेडले नयाँ सम्झौताका लागि राखेको प्रस्ताव अस्वीकार गर्दै पोग्बा इटाली गएका थिए । इटालीको महारथी युभेन्ट्ससँग अनुबन्धित पोग्बाले २०१२ देखि २०१६ सम्मको सिजन टुरिनमा बिताए । पोग्बाले युभेन्ट्सबाट १ सय २४ खेलमा २८ गोल गरेका थिए । उनी २०१६ मा पुनः ओल्ड ट्राफोर्ड फर्किए । युनाइटेड फर्किएपछि पोग्बाले ५७ खेलमा ११ गोल गरेका छन्।

२०१३ मार्च २२ मा जर्जियाविरुद्धको विश्वकप छनोट खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका पोग्बाले ५५ खेलमा ९ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । गत सिजन युनाइटेडबाट २७ खेलमा ६ गोल गरेका पोग्बाले गत शनिबार अस्ट्रेलियाविरुद्ध निर्णायक गोल गर्दै रूस विश्वकपमा आफू राम्रो लयमा रहेको संकेत दिएका छन्।

यसमा तपाईको मत