पाउलिन्हो (ब्राजिल)

फिचर खेलाडी
सोमबार, १८ असार २०७५, ०० : ३९ नागरिक

नामः पाउलिन्हो
जन्मः २५ जुलाई, १९८८
पोजिसनः मिडफिल्डर
क्लबः पाओ डे अकुकार, एफसी भिल्नुस, एकेएस लोड्ज, ब्रागटिन्हो, कोरिन्थियन्स, टोटेनह्याम, ग्वान्जाओ इभरग्रान्डे, बार्सिलोना

बार्सिलोनाका मिडफिल्डर पाउलिन्हो ब्राजिली टोलीका समेत प्रमुख सदस्य हुन् ।

रूसमा जारी विश्वकपमा ब्राजिलले समूह ‘जी’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गर्दा पाउलिन्होको प्रदर्शन प्रशंसनीय छ । उनले सर्बियाविरुद्धको समूह चरण अन्तिम खेलमा टोलीका लागि दोस्रो गोल गरेका थिए।

१६ वर्षको उमेरमा ब्राजिलको स्थानीय क्लब पाओ डे अकुकारको युथ एकेडेमीमा भर्ना भएका पाउलिन्हो २००६ मा लिथोनियाको एफसी भिल्नुसमा आबद्ध भएका थिए । १ सिजन भिल्नुसमा बिताएका पाउलिन्होले क्लबबाट ३८ खेलमा ५ गोल गरेका थिए। २००७ मा पोल्यान्डको एकेएस लोड्जमा आबद्ध भएका पाउलिन्होले त्यहाँ भने उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

एकेएस लोड्जमा एक सिजन बिताए लगत्तै पाओ डे अकुकार फर्किएका पाउलिन्हो २००९ मा अर्को ब्राजिली क्लब ब्रागटिन्होमा आबद्ध भए। ब्रागटिन्होबाट २८ खेल खेलेका उनले ६ गोल गरे।

२०१० बाट तीन सिजन कोरिन्थियन्सबाट खेलेका उनले क्लबका लागि ८६ खेलमा २० गोल गरे। २०१३ मा इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्याममा आबद्ध भएका पाउलिन्होले २ सिजन क्लबका बिताउँदै ४५ खेलमा ६ गोल गरेका छन् । २०१५ मा चिनियाँ क्लब ग्वान्जाओ इभरग्रान्डे गएका उनले क्लबबाट २ सिजन खेल्दै ६३ खेलमा १७ गोल गरे।

२०१७ मा स्पेनिस ला लिगा क्लब बार्सिलोनामा आबद्ध भएका पाउलिन्होले ३४ खेलमा ९ गोल गरिसकेका छन् । २०११ सेप्टेम्बर १४ मा अर्जेन्टिनाविरुद्धको मैत्रीपूर्ण खेलबाट ब्राजिली राष्ट्रिय टोलीबाट डेब्यु गरेका पाउलिन्होले ५३ खेलमा १३ गोल गरिसकेका छन्।

यसमा तपाईको मत