प्लेयर्स टु वाच (पोर्चुगल)

फिचर खेलाडी
शुक्रबार, ०१ असार २०७५, १४ : ०४ नागरिक

नामः क्रिष्टियानो रोनाल्डो

जन्मः ५ फेब्रुअरी, १९८५

पोजिसनः फरवार्ड

क्लबः स्पोर्टिङ सिपी, म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड

पछिल्लो समयका सबैभन्दा सफल खेलाडीमध्येका एक हुन्, क्रिष्टियानो रोनाल्डो। फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगल रोनाल्डोकै कप्तानीमा रुस पुगेको छ । पोर्चुगल रुसमा पनि फ्रान्समा जस्तै सफलता दोह-याउन चाहन्छ।

स्पेनिस क्लब रियाल मड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भुमिका निभाएका रोनाल्डो प्रेरणामा पुर्चगल रहेको छ। पाँच पटक बालोन डी ओरको उपाधि जितेका रोनाल्डोकै कप्तानीमा पाेर्चुगलले पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि उचाल्न सफल भएको थियो। शारिरिक रुपमा बलिया र तिब्र गतिमा दौडन सक्ने रोनाल्डोको बलमाथिको नियन्त्रण पनि गज्जबकै छ। आक्रमक स्वभावका रोनाल्डो विपक्षीको पोष्टमा सधै खतरानाक हुन्छन्।

क्लब स्तरमा सबै किसिमको सफलता चुमीसकेका रोनाल्डोका लागि सम्भवत यो विश्वकप अन्तिम पनि हुन सक्छ। त्यसैले आफ्नै कप्तानीमा देशलाई पहिलो पटक युरोपियन च्याम्पियनसिप बनाएका रोनाल्डो विश्वकप जितेर महान खेलाडीका रुपमा दर्ज हुन चाहन्छन्। फुन्चल साओ पेड्रोमा जन्मिएका रोनाल्डोले एन्डोरिन्हाबाट फुटबल खेल्न शुर गरेका थिए। त्यसपछि नेसनलबाट खेलेका रोनाल्डो स्पोर्टिङ सिपीबाट पनि खेले।

स्पोर्टिङबाटै सिनियर फुटबल करियर शुरु गरेका रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडले १ करोड २२ लाख ४० हजार पाउन्डमा अनुबन्ध गरेको थियो। युनाइटेडबाट खेल्ने रोनाल्डो पहिलो पोर्चुगलका खेलाडी बनेका थिए।

२००३ देखी २००९ सम्म युनाइटेडमा विताएका रोनाल्डोले १ सय ९६ खेलबा ८४ गोल गरेका थिए। त्यसपछि युनाइटेडले रोनाल्डोलाई त्यतिबेलाको कीर्तिमानी रमकमा रियाल मड्रिडलाई बेचेको थियो। ८ करोड पाउन्डमा रियाल मड्रिडसँग अनुबन्धित भएका रोनाल्डोले स्पेनिस क्लबबाट २ सय ९२ खेलमा ३ सय ११ गोल गरिसकेका छन्। पोर्चुगलबाट ८१ गोल गरिसकेका रोनाल्डो शुक्रबार स्पेनविरुद्ध हाबी हुने अनुमान गर्न गरिएको छ।

यसमा तपाईको मत