प्रदर्शन हेरेर टिम छान्दै खड्का

नेपाली नजरमा
सोमबार, २१ जेठ २०७५, १३ : ३७ नागरिक

काठमाडौं – नेपाली फुटबलमा हरि खड्काको नाम नसुन्ने कमै होलान् । ९० को दशकबाट उदाएका उनी राष्ट्रिय टोली र विभागीय क्लब नेपाल पुलिस क्लबका सफल स्ट्राइकर हुन् । उत्कृष्ट ड्रिब्लिङ क्षमता भएका हरिले सन् १९९५ देखि सन् २००६ सम्म राष्ट्रिय टोलीबाट खेले । अग्रपंक्तिका साथै मध्यपंक्तिमा समेत खेल्न अब्बल हरि सधैं राष्ट्रिय टोली र नेपाल पुलिस क्लबका महत्वपूर्ण सदस्य थिए।

नेपालकै सर्वाधिक सफल क्लबमध्येको एक रानीपोखरी कर्नर टिम आरसिटीबाट व्यावसायिक खेल जीवन सुरु गरेका हरिले व्यावसायिक खेलजीवनको अधिकांश समय विभागीय क्लब नेपाल पुलिसलाई नेतृत्व प्रदान गर्दै धेरैभन्दा धेरै सफलतासमेत दिलाए।

विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल सुरु हुन एक महिनाभन्दा कम समय बाँकी छ । विश्वभरका फुटबलप्रेमीझैं हरिका लागि पनि यो विश्वकप विशेष छ । हरि यस पटक हालै मात्र दरबारमार्गमा खुलेको किङ्स लन्जमा साथीभाइसँग बसेर विश्वकपको मजा लिने सोचमा छन् । सन् १९९३ मा जर्मनीमा डेढ महिनाको छात्रावृत्ति पाएका हरिलाई विश्व फुटबलको मन पर्ने देश पनि जर्मनी नै हो । सन् १९८६ मा सम्पन्न विश्वकपदेखि उनले अन्तर्राष्ट्रिय फुटबललाई राम्रोसँग नियाल्न थालेका थिए । मेक्सिकोमा सम्पन्न उक्त विश्वकपको उपाधि अर्जेन्टिनाले वेस्ट जर्मनीलाई ३–२ ले पराजित गर्दै जितेको थियो।

यसअघि जर्मनीलाई समर्थन गर्दै आएका हरि यस पटक भने समूह चरणको खेलपछि मात्र कुनै एक टोलीलाई समर्थन गर्ने सोचमा छन् । ‘सबै टोलीले छनोट चरण पार गरेरै आएका हुन्,’ हरिले भने, ‘सबै टोली उत्कृष्ट र बलिया छन् । त्यसैले अहिले कुनै एक टोलीको समर्थन गर्नुभन्दा पनि सहभागी टोलीहरूले समूहचरणमा गरेको प्रदर्शनपछि मात्र म कुनै एक टोलीलाई समर्थन गर्नेछु।’

सन् १९९३ मा जर्मनीमा डेढ महिनाको छात्रावृत्ति पाएका हरिलाई जर्मनी नै विश्व फुटबलको मन पर्ने देश हो । ‘जर्मनी विश्व फुटबलकै एक उत्कृष्ट टोली हो,’ हरिले थपे, ‘यो टोली युवा खेलाडीले भरिएको छ र उनीहरू टिम वर्कमा विश्वास गर्छन्।’

विश्व फुटबलमा हरिलाई मनप र्ने खेलाडी भने फ्रान्सका स्ट्राइकर थियरी अनरी हुन् । ‘अनरी विश्व फुटबलकै एक उत्कृष्ट स्ट्राइकर हुन्,’ हरिले भने, ‘उनी राम्रो फिनिसर हुन् । जो पाएका अवसरलाई हत्तपत्त खेर जान दिँदैनन् । यो नै उनको विशेष गुण हो।’

यसमा तपाईको मत