रासिदी एकिनी (नाइजेरिया)

फिचर खेलाडी
शनिबार, १९ जेठ २०७५, १५ : ०९ एजेन्सी

नाइजेरिया – सहजै विपक्षी रक्षकलाई झुक्याउन सक्ने क्षमता भएका स्ट्राइकर रासिदी एकिनी नाइजेरियाका सर्वकालीन गोलकर्ता हुन् ।सन् १९९३ अफ्रिकन वर्ष खेलाडी एकिनीले १९९४ र १९९८ गरी दुई विश्वकपसहित नाइजेरियाबाट ५ प्रमुख प्रतियोगितामा प्रतिनिधित्व गरेका थिए।

नाइजेरियाले पहिलो पटक सन् १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपमा खेल्दा एकिनी टोलीका महत्वपूर्ण सदस्य थिए । एकिनी नाइजेरियाबाट विश्वकपमा गोल गर्ने पहिलो खेलाडीसमेत हुन् । पहिलो विश्वकप नै सम्झनलायक बनाउने क्रममा नाइजेरियाले समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । उनले पहिलो खेलमा बुल्गेरियालई ३–० ले पराजित टोलीका लागि पहिलो गोल गरेका थिए । दोस्रो खेलमा अर्जेन्टिनासँग २–१ ले पराजित भएको नाइजेरियाले तेस्रो खेलमा ग्रिसलाई पराजित गर्दै समूह विजेता बनेको थियो । तर अन्तिम १६ को खेलमा इटालीलाई २–१ को नतिजा सुम्पिएसँगै नाइजेरियाको विश्वकप यात्रा टुङ्गिएको थियो।

नाइजेरियाले सोही वर्ष अफ्रिकन कप अफ नेसनको उपाधि जित्दा एकिनी टोलीका महत्वपूर्ण सदस्य थिए । त्यस क्रममा एकिनीले ५ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताका साथै उत्कृष्ट खेलाडीको उपाधिसमेत जितेका थिए।

एकिनी सन् १९९८ को विश्वकपमा पनि टोलीका महत्वपूर्ण सदस्य थिए । उक्त विश्वकपमा पनि नाइजेरियाले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो पहिलो खेलमा अप्रत्याशित रूपमा स्पेनलाई ३–२ ले पराजित गरेको नाइजेरियाले दोस्रो खेलमा बुल्गेरियालाई १–० ले पराजित गरेको थियो ।

तेस्रो खेलमा पाराग्वेलाई ३–१ को नतिजा सुम्पिए पनि नाइजेरिया समूह विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । तर डेनमार्कलाई ४–१ को नतिजा सुम्पिएसँगै नाइजेरियाको विश्वकप यात्रा पुनः एक पटक अन्तिम १६ मै टुङ्गिएको थियो । नाइजेरियाबाट ५८ खेल खेलेका एकिनीले ३७ गोल गरेका छन् । उनले सन् १९९८ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए।

सन् १९८१ नाइजेरियाली लिग क्लब युएनटिएल कान्डुनाबाट व्यावसायिक खेल जीवन सुरु गरेका एकिनी सन् १९९० मा पोर्चुगल लिग टोली भिटोरिया डी स्टुवालमा अनुबन्धित भएका थिए । उनले पोर्चुगल बसाइ सुखद बनाउने क्रममा सन् १९९३–१९९४ सिजनमा २१ गोल गर्दै लिगकै सर्वाधिक गोलकर्ता भएका थिए । सोही प्रदर्शनका आधारमा उनी सन् १९९३ मा अफ्रिकन वर्षखेलाडी घोषित भएका थिए । सन् २००५ मा व्यावसायिक खेल जीवन टुंग्याएका एकिनीको सन् २०१२ मा निधन भएको थियो।

यसमा तपाईको मत