राहुल गोन्जालेज (स्पेन)

फिचर खेलाडी
सोमबार, २१ जेठ २०७५, १३ : ०१ एजेन्सी

मड्रिड – स्पेनबाट कुनै प्रमुख उपाधि नजिते पनि पूर्वकप्तान राहुल गोन्जालेजलाई सर्वकालीन स्ट्राइकरका रूपमा लिइन्छ।

सन् २०००, २००१ र २००२ गरी लगातार तीन पटक युरोपियन क्लब वर्ष स्ट्राइकर गोन्जालेज प्राविधिक र रणनीतिक रूपमा समेत अब्बल रणनीतिकार तथा सधैं एकरूपको प्रदर्शन गर्ने सक्ने खेलाडीको रूपमा परिचित थिए ।उनले स्पेनबाट ३ पटक विश्वकप र २ पटक युरोपियन च्याम्पियनसिपमा सहभागिता जनाएका थिए।

सन् १९९६ अक्टोबर ९ मा चेक रिपब्लिकविरुद्ध सन् १९९८ को विश्वकप छनोट खेलबाट स्पेनिस सिनियर टोलीबाट डेब्यु गरेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । उनले छनोटचरणकै तेस्रो खेलमा सोही वर्ष डिसेम्बर २६ मा युगोस्लाभियालाई २–० ले पराजित गरेको खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । सन् १९९८ को विश्वकपको समूह ‘डी’ मा भएको स्पेनबाट समूहका सबै खेलमा सहभागिता जनाएका थिए । तर स्पेनको यात्रा समूहचरणमै सकिएसँगै गोन्जालेजका लागि उक्त विश्वकप सुखद बन्न सकेन । उनलाई सन् २००२ मा कप्तानको जिम्मेवारी दिइएको थियो।

सन् २००२ मा दक्षिण कोरिया र जापानमा सम्पन्न विश्वकपको समूह ‘बी’ मा रहेको स्पेन समूहविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो । पहिलो खेलमा स्लोभानियालाई ३–१ ले पराजित गर्दा एक गोल गरेका गोन्जालेजले दक्षिण अफ्रिकालाई ३–२ ले पराजित गर्दा थप २ गोल गरेका थिए । उनी ग्रोइनको चोटका कारण त्यसपछिका खेलहरूमा भने बेन्चमै रहे । अन्तिम १६ मा आयरल्यान्डलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको स्पेन अन्तिम ८ मा आयोजक दक्षिण कोरियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

सन् २००६ को जर्मनी विश्वकप छनोट चरणअन्तर्गत सन् २००५ अक्टोबर ८ मा बेल्जियमविरुद्ध २–० को जित हात पार्दा खेलसँगै राष्ट्रिय टोलीबाट खेल संख्या ८९ पुर्याएका थिए । यद्यपि नयाँ प्रशिक्षक लुइस अरागोनिसले अर्का स्ट्राइकर डेभिड भिया र फर्नान्डो टोरेजलाई पहिलो रोजाइमा प्राथमिकता दिँदा गोन्जालेजले त्यसपछि भने कमै मात्र अवसर पाएका थिए।

विश्वकपको समूहचरणको पहिलो खेलमा अवसर नपाए पनि दोस्रो खेलमा ट्युनिसियाविरुद्ध १–० ले पछि परेको स्थितिमा राहुल गार्सियाको स्थानमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका गोन्जालेजले बराबरी गोल फर्काएका थिए । उक्त खेल स्पेनले ३–१ ले जितेको थियो । उक्त विश्वकप पनि गोन्जालेजका लागि सम्झनलायक रहेन । अन्तिम १६ को खेलमा फ्रान्सलाई ३–१ को नतिजा सुम्पिँदै स्पेनको विश्वकप यात्रा टुङ्गिएको थियो।

सन् २००६ अगस्ट १५ मा आइसल्यान्डविरुद्ध गोलरहित बराबरीमा सकिएको खेलसँगै गोन्जालेजले राष्ट्रिय टोलीबाट १ सयांै खेलको कोसेढुङ्गा पार गरेका थिए । सोही वर्ष सेम्टेम्बरमा नर्दन आयरल्यान्डलाई ३–२ को नतिजा सुम्पिएको खेल उनका लागि राष्ट्रिय टोलीबाट अन्तिम खेल बन्यो । उक्त खेलपछि गोन्जालेजले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए । स्पेनबाट १ सय २ खेल खेलेका गोन्गालेजले ४४ गोल गरेका थिए।

रियाल मड्रिड, साल्के, अल साद र न्युयोर्क कोसमसबाट क्लब जीवन बिताएका गोन्जालेजले सन् २०१५ मा व्यावसायिक खेलजीवनबाट संन्यासको घोषणा गरेका थिए।

यसमा तपाईको मत