राजेशद्वारा स्पेनको जर्सी जोहो

नेपाली नजरमा
मङ्गलबार, २२ जेठ २०७५, १३ : ०० नागरिक

काठमाडौं – राजेश मानन्धर अग्लो र गँठिलो शरीरका कारण दानवको उपनाम नेपाली फुटबलमा परिचत छन् । विदेशमा खेल्न जाँदा कमेन्टेटरबाट ‘बिग म्यान’ को उपनाम पाउने मानन्धरलाई दानव भन्नुको पछाडि शरीरबाहेक अर्को पनि कारण छ।

समकालीनहरूका अनुसार लेफ्ट ब्याकबाट खेल्ने भए पनि आवश्यकताअनुसार उनी सेन्टर ब्याकबाट पनि उत्तिकै सहज रूपमा खेल्थे । आफ्नो जोनमा जिम्मेवारीपूर्ण रूपमा प्रस्तुत हुने उनी आवश्यकता पर्दा अगाडि बढेर मिडफिल्ड र फरवार्डलाई पनि सघाउँथे । ‘अग्लो र छरितो पनि भएकाले उहाँको जोनबाट बल छिराउन विपक्षीलाई हम्मे हुन्थ्यो।

डेडबलमा उहाँ निकै प्रभावकारी हुनुहुन्थ्यो । पावर सट हान्नुका साथै बल स्विङ गराउन सक्ने क्षमता उहाँमा थियो,’ फुटबल विज्ञ सञ्जीव मिश्र सम्झन्छन्, ‘विपक्षीको पोस्टमा पनि एयर बललाई फ्लिक गरेर गोलका राम्रा अवसर सिर्जना गर्न सक्षम हुनुहुन्थ्यो । आफ्नो टिमका लागि दैव उहाँ विपक्षीका लागि भने दानवजस्तो।’

अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष मानन्धर अर्थात् दानवलाई टिमवर्कमा विश्वास राख्दै छोटो पास खेल्ने फुटबल मन पर्छ । नेपाली राष्ट्रिय टोलीका पूर्वरक्षक मानन्धर आफैँमा चाहिँ पावर खेलका लागि परिचित भए पनि अरूले चाहिँ छोटा पास खेल्दै मुभ बनाएको हेर्न रुचाउने कारण अहिले उनी स्पेनका समर्थक हुन्।

रूसमा विश्वकप सुरु हुन १० दिन मात्र बाँकी रहँदा मानन्धरले स्पेनकै समर्थनमा खेल हेर्नका लागि जर्सीको जोहो गरिसकेका छन् । त्यसो त उनी स्पेनको समर्थक भएको २०१० यता मात्र हो । त्यसअघि उनलाई ब्राजिल मन पथ्र्यो । ‘ब्राजिलको त्यो बेला खेल्ने शैली निक्कै राम्रो थियो । उनीहरु वान–टच, टु–टच खेल्थे । टिम वर्क राम्रो थियो । त्यै भएर त पाँच पटक विश्वकप जित्न सके नि,’ मानन्धरले भने, ‘तर २०१० को विश्वकपमा स्पेनले ठ्याक्कै त्यस्तै खेल खेल्यो । आन्द्रियास इनियस्टा, जाभी हर्नान्डेजजस्ता खेलाडीहरूले बिल्कुल फरक शैलीको फुटबल आविष्कार गरे । जति हेरे पनि हेरिरहुँ जस्तो लाग्ने । विपक्षीको पोस्टमा पुगिसक्दा पनि बिलकुलै नहडबडाईकन आरामले पास खेलिरहने । सानो ठाउँमा पनि आरामसँग पास खेल्न सक्ने उनीहरूको शैली मलाई खुबै मन पर्छ।’

२०१० अघिसम्म उनलाई घरमा विश्वकप हेर्ने माहोल तनावपूर्ण हुने गरेको थियो । कारण, उनी र श्रीमतीको फरक रोजाइ । २००२ को विश्वकपमा उनी ब्राजिलका समर्थक थिए, श्रीमती सोलुचाहिँ अर्जेन्टिनालाई समर्थन गर्थिन् । २००६ मा उनले ब्राजिलकै पक्ष लिए, श्रीमतीले यसपालि समर्थन परिवर्तन गरिन्, इङल्यान्डका नाममा । तर २०१० यता भने दुवैको रोजाइ फेरियो । दुवै स्पेनका समर्थक बने।

‘पहिला घरमा खेल हेर्दा बुढा–बुढीकै मारामार होला जस्तो हुन्थ्यो । तर २०१० पछि स्पेनको खेलबाट हामी सबै प्रभावित भयौं । अहिले घरमा सबै स्पेनकै फ्यान । छोरी प्रेक्ष्या पनि स्पेनकै समर्थक हुन्,’ १९८५ देखि १९९९ सम्म लगातार नेपाली राष्ट्रिय टोलीबाट खेलेका दानवले भने, ‘यसपालि घरमा सबै जना स्पेनकै जर्सी लगाएर हेरिन्छ । फुटबलमा स्पेनको अन्धो भक्त भएकाले जितोस् भन्ने चाहन्छु । जित्छ कि भन्ने आशा पनि छ।’

यसमा तपाईको मत