राकेशको समर्थन ब्राजिललाई

नेपाली नजरमा
शुक्रबार, १८ जेठ २०७५, १२ : ३२ नागरिक

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ नेपाली राष्ट्रिय टिमको जर्सीमा ५० आधिकिारिक खेले खेल्ने पहिलो खेलाडी हुन्।

छैटौं साफ च्याम्पियनसिपअन्तर्गत नेपालले अन्तिम खेलमा अफगानिस्तानविरुद्ध मुस्किलले एक मिनेट खेलेपछि राकेशको लामो अन्तर्राष्ट्रिय खेलजीवनले पीडादायी बिदाइ लिएको थियो।

कप्तानको आर्मब्यान्ड जिम्मा लिएर प्रतियोगिताका लागि ढाका प्रस्थान गरेका उनले ४८ अन्तर्राष्ट्रिय खेल खेले पनि तथ्याङ्कमा दुई खेल थप्न नसक्दा निराश बनेका थिए । तर सन् २००९ मा सातौं च्याम्पियनसिपका लागि बंगलादेश प्रस्थान गर्नुअघि भारतको कोलकातामा भुटानविरुद्ध अचानक खेलिएको अभ्यास खेललाई पनि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आधिकारिक मान्यता प्रदान गर्दा राकेशको सपना अनायासै पूरा भएको थियो । प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेललाई फिफाको तथ्याङ्कले ५०औं म्याचको दर्जा दिएपछि उनले ५०औं अन्तर्राष्ट्रिय खेलको कोसेढुङगा पार गरेका थिए।

१२ वर्षसम्म नेपाली टिमको धर्मखम्बाको रूपमा बिताएका रक्षक राकेशका लागि अफगानिस्तानविरुद्ध सोही खेल राष्ट्रिय टोलीका लागि अन्तिम खेल बन्यो । सन् १९९८ मा बैंककमा १३औं एसियाली खेलकुदअन्तर्गत जापानविरुद्धको खेलबाट राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका राकेशले सन् २००७ मा ओमानविरुद्ध सम्पन्न विश्वकप २०१० को छनोट खेलबाट राष्ट्रिय टोलीमा कप्तानको जिम्मेवारी पाएका थिए । उनीसँग राष्ट्रिय टोलीबाट लगातार ३४ खेल खेल्ने कीर्तिमानसमेत छ।

नेपाली घरेलु प्रतियोगिताका समेत उत्कृष्ट खेलाडी राकेशको कप्तानीमा नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिमा ह्याट्रिक गरेको थियो।

विश्व फुटबलमा राकेशलाई मन पर्ने खेलाडी अर्जेन्टिनाका म्याराडोना भए पनि विश्वकपमा भने उनको समर्थन सधैं ब्राजिललाई रहने गर्दछ । उनी केही खेल घरपरिवार र केही खेल साथीभाइसँग हेर्दै विश्व फुटबलको कुम्भमेलाको मजा लिने सोचमा छन् ।
राकेश ब्राजिली टोलीका पूर्वरक्षक रोबर्टो कार्लोसलाई आदर्श खेलाडी मान्छन्।

‘मलाई रोबर्टो कार्लोेस उत्कृष्ट लाग्छ,’ राकेशले भने, ‘उनी रक्षक भएर पनि ओभरल्यापमा जाँदै गोल गर्नुका साथै गोलको अवसरसमेत सिर्जना गर्छन् । सन् १९९६ बाट विश्वकप हेर्न थाले पनि उनले सन् १९९० को विश्वकपबाट भने राम्रोसँग अन्तर्राष्ट्रिय फुटबल नियाल्न थालेका थिए।

युवा तथा क्षमतावान् खेलाडीका कारण ब्राजिलले यस पटक सुखद नतिजा ल्याउँदै गत संस्करण घरेलु मैदानमा भोगेको लज्जास्पद बहिर्गमनको चोट भुलाउनेमा राकेश आशावादी छन् । समूह ‘ई’ मा रहेको ब्राजिलले जुन १७ मा स्विजरल्यान्डविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ भने दोस्रो खेल जुन २२ मा कोस्टारिका र अन्तिम खेलमा जुन २७ मा सर्बियाको सामना गर्नेछ।

यसमा तपाईको मत