राम्रो खेल्नेलाई समर्थन

नेपाली नजरमा
मङ्गलबार, २२ जेठ २०७५, ११ : ३४ नागरिक

काठमाडौं – रुस्लान थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी नेपाली फुटबलमा कुशल रणनीतिकारका रुपमा चिनिन्छन् । आफ्नो जमानाका प्रभावशाली स्ट्राइकर केसीको खेलाडीको रुपमा अन्तर्राष्ट्रिय करियर उमेर समूहमै सिमित छ । तर प्रशिक्षकका रुपमा भने उनी नेपालकै सफल प्रशिक्षकमध्ये एक मानिन्छन्।

घरेलु फुटबलमा थ्री स्टार क्लबलाई सबैखाले उपाधि जिताइसकेका केसीकै नेतृत्वमा पाटनको क्लबले अघिल्लो वर्ष एएफसी कपको अन्तिम चरणका लागि स्थान सुरक्षित गरेको थियो । अखिल नेपाल फुटबल संघले समयमा टोली दर्ता नगराएका कारण थ्री स्टारले एएफसी कप खेल्न पाएन । त्यसैको विरोधस्वरुप लामो समय मैदानवाहिर रहेको टोलीले यसपाली हिउँदमा पुरानै लयका साथ मैदानमा पुनरागमन जनायो।

अहिले घरेलु फुटबल विश्राममा छ । पूरा विश्वलाई विश्वकपको ज्वरोले तताइसकेको छ । सबैखाले फुटबलप्रेमीहरु जेठ ३१ देखि एक महिनासम्म रुसका विभिन्न सहरमा हुने फुटबल मेलाका लागि योजना बनाउन थालिसकेका छन् । एउटा प्रशिक्षकका नाताले केसीलाई पनि फुटबल ज्वरोले छोइसक्यो । उनले पनि विश्वकपका लागि योजना बनाएका छन्, तर आम फुटबलप्रेमीको भन्दा फरक।

‘एउटा प्रशिक्षकका नाताले मलाई यस्ता प्रतियोगिताको व्यग्र प्रतिक्षा हुने गर्छ । यहाँबाट हामी फुटबलमा लाग्नेले धेरैथोक सिक्न सक्छौं । हामी फुटबलको स्तरमा विश्वकप खेल्नेहरुभन्दा कल्पनै गर्न नसकिने गरी तल छौं । त्यसैले उनीहरुलाई हेरेरै पनि प्रभावित हुन सकिन्छ,’ अर्जेन्टिनी सर्बकालिन सुपरस्टार डिएगो म्याराडोनाका फ्यान केसीले भने, ‘केही सिक्ने उदेश्यका साथ सकेसम्म सबै खेल हेर्छु । कतिपय खेल प्रत्यक्ष हेर्न पाइन्न । समूह चरणमा एकै समयमा दुई खेल हुन्छन् । त्यस्ता खेलको रिटेलिकास्ट भए पनि हेर्छु।’

म्याराडोनाको फ्यान भएकाले अर्जेन्टिनाप्रति केसीको सहानुभुति छ । तर टिमको हकमा भने उनको कुनै त्यस्तो विशेष रोजाई छैन । जर्मनीलाई सबभन्दा बलियो दाबेदार मान्ने उनी जर्मनी, ब्राजिल र अर्जेन्टिनामध्ये एकले उपाधि जित्ने अनुमान गर्छन।

‘१९८६ देखि मैले फुटबल हेर्न थालेको हो । त्योबेला म्याराडोनाको प्रभाव थेगिनसक्नु थियो । म पनि म्याराडोनाको खेलबाट निक्कै प्रभावित भएँ । त्यही कारण अर्जेन्टिनाप्रति सहानुभुति छ, तर खेल हेर्दै गएपछि जसले राम्रो र फेयर खेल्यो उसैलाई समर्थन गर्नेछु,’ केसीले भने।

यसमा तपाईको मत