रोबर्ट लेवान्डोवस्की (पोल्यान्ड)

फिचर खेलाडी
मङ्गलबार, ०५ असार २०७५, ०३ : ३६ नागरिक

नाम : रोबर्ट लेवान्डोवस्की

जन्म : २१ अगस्ट, १९८८ (वार्सा)

क्लब : जिनिस्ज प्रुस्जकोभ, लेच पोज्नान, बोरुसिया डर्टमन्ड, बायर्न म्युनिख

बायर्न म्युनिखका रोबर्ट लेवान्डोवस्की वर्तमान विश्व फुटबलका सबभन्दा प्रतिभावान् स्ट्राइकरमध्ये एक हुन्। २०१४ देखि बायर्न म्युनिखबाट खेल्दै आएका उनको प्रेरणामा टोलीले लगातार जर्मन बुन्डेसलिगाको उपाधि जित्दै आएको छ। 

पछिल्लो ६ वर्षदेखि गोल गर्ने उच्च फर्ममा रहेका लेवान्डोवस्कीले जर्मन बुन्डेसलिगामा २ सय ५७ खेलमा १ सय ७० गोल गरिसकेका छन्। २०१५ सेप्टेम्बरमा उनले उल्फसबर्गविरुद्धको खेलमा ९ मिनेटको बीचमा पाँच गोल गरेका थिए। त्यो जर्मन बुन्डेसलिगामा कुनै विदेशी खेलाडीले छोटो समयको बीचमा यति धेरै गोल गरेको कीर्तिमान हो।

२००८ देखि पोल्यान्डको राष्ट्रिय टिममा लगातार रहँदै आएका लेवान्डोवस्कीले ९५ खेलमा ५५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। पोल्यान्डका लागि उनी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । २०१५ को बालन डी अर पुरस्कारको मनोनयनमा परेर चौथो भएका उनी सात पटक पोल्यान्डको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । गार्जियनले २०१५ मा उनलाई विश्वकै सर्वोत्कृष्ट खेलाडी सूचीमा पाँचौं स्थानमा मनोनयन गरेको थियो।

रूस विश्वकपको छनोट प्रतियोगितामा १६ गोल गरेका उनी युरोपका उच्च गोलकर्ता हुन् भने पूरा विश्वका संयुक्त उच्च गोलकर्ता हुन्। उनकै कप्तानीमा पोल्यान्ड रूस पुगेको छ। रूसमा लेवान्डोवस्कीको प्रेरणाले पोल्यान्ड समूहचरण सहजै पार गर्न सक्षम हुने अपेक्षा गरिएको छ।

यसमा तपाईको मत