रोबर्ट लेवान्डोवस्की (पोल्यान्डबाट)

फिचर खेलाडी
मङ्गलबार, २९ जेठ २०७५, ११ : ०२ नागरिक

नामः रोबर्ट लेवान्डोवस्की

जन्मः २१ अगस्ट, १९८८ (वार्सा­)

पोजिसनः फरवार्ड

क्लबः जेनिक प्रस्जको, लेच पोजनान, बोरुसिया डर्टमन्ड, बायर्न म्युनिख

पोल्यान्डका कप्तान रोबर्ट लेवन्डोवस्कीले टोलीलाई रुसको टिकट पक्का गर्दा युरोपेली छनोट प्रतियोगितामा १६ गोल गरेका थिए । युरोपको एउटै छनोट प्रतियोगितामा १६ गोल गर्ने लेवान्डोवस्की पहिलो खेलाडी हुन्।

छनोट प्रतियोगितामै अर्मानियाविरुद्ध दुई गोल गरेपछि उनी पोल्यान्डबाट सबैभन्दा धेरै ५२ गोल गर्ने खेलाडी बनेका थिए । २०१६ को युरोपियन च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेका लेवान्डोवस्कीले बायर्न म्युनिखलाई लगातार छैटौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जिताउन पनि महत्वपूर्ण भुमिका खेलेका थिए । अहिले उनीमाथि युरोपका ठूला क्लबहरु रियाल मड्रिड, चेल्सी र म्यानचेस्टर सिटीलगायतले आँखा गाडेका छन्।

लेवान्डोवस्कीले एमकेएस भार्सोभिया वार्साबाट एकेडेमीक करियर शुरु गरेका थिए । त्यसपछि उनी डेल्टा वार्सासँग अनुबन्ध भएका थिए । २००५–६ को सिजन लेगिया वार्सबाट खेल्दै लेवान्डोवस्कीले आफ्नो युथ करियर टुंगाएका थिए । २००६ मा जेनिक प्रस्जकोबाट खेलेका उनी २००८ मा लेच पोजनानसँग अनुबन्ध भए।

त्यहाँबाट २०१० मा जर्मनीको बोरुसिया डर्टमन्डमा आवद्ध भएका थिए । चार वर्षसम्म डर्टमन्डबाट १ सय ३१ खेल खेलका लेवान्डोवस्कीले ७४ गोल गरेका थिए । २०१४ मा बायर्न म्युनिख गएका लेवान्डोवस्कीले त्यहाँबाट १ सय २६ खेलमा १ सय ६ गोल गरिसकेका छन्।

लेवान्डोवस्कीले २००८ सेप्टेम्बरमा सान मारिनोविरुद्ध खेल्दै पोल्यान्डको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेर गोल गरेका थिए । त्यसअघि उनले पोल्यान्डको यु–२१ टोलीबाट ३ खेल खेलेका थिए । २९ वर्षे लेवान्डोवस्कीले पोल्यान्डबाट ९४ खेलमा ५३ गोल गरिसकेका छन्।

यसमा तपाईको मत