रोमेलु लुकाकु (बेल्जियम)

फिचर खेलाडी
सोमबार, ०४ असार २०७५, ०० : ४३ नागरिक

नाम : रोमेलु लुकाकु

जन्म : १३ मे १९९३

पोजिसन : फरवार्ड

क्लबः एन्डरलेच्ट, चेल्सी, वेस्ट ब्रोम (लोन), एभर्टन, म्यानचेस्टर युनाइटेड

बेल्जियमका रोमेलु लुकाकुले २०११ देखि २०१४ सम्म चेल्सीबाट खेल्दा लन्डन टोलीमा प्रभावशाली प्रदर्शन गर्न सकेका थिएनन् । लन्डन क्लबबाट एभर्टन गएपछि उनले लय समाते।

२०१४ देखि २०१७ सम्मको एभर्टन बसाइमा लुकाकुले १ सय १० खेलमा ५३ गोल गरेका थिए । त्यसपछि उनलाई भित्र्याउन युरोपका ठूला क्लबहरूले आँखा गाडेका थिए । उनकै पुरानो क्लब चेल्सीको प्रस्ताव अस्वीकार गर्दै उनी जोजे माउरिन्होको प्रशिक्षणमा खेल्न युनाइटेडसँग अनुबन्धित भए । युनाइटेडबाट उनले गत सिजन ३४ खेलमा १६ गोल गरिसकेका छन्।

शारीरिक रूपमा बलिया लुकाकु विपक्षी रक्षकका लागि सधैँ खरतनाक हुने गर्छन् । बेल्जियमको एन्टविपमा जन्मिएका लुकाकुले राष्ट्रिय टोलीबाट पनि ६९ खेलमा ३६ गोल गरिसकेका छन्।

पाँच वर्षको उमेरमा रुपेल बुमबाट एकेडेमी करियर सुरु गरेका लुकाकुको उपस्थितिले बेल्जियमको अग्रपंक्तिलाई मजबुत बनाएको छ । लुकाकुसँगै केभिन डी ब्रुएना, इडेन हाजार्डजस्ता खेलाडीको साथले बेल्जियमलाई प्रतियोगितामा बलियो प्रतिद्वन्द्वीका रूपमा उभ्याएको छ।

यसमा तपाईको मत