रोनाल्डोका फ्यानको ब्याकअपमा ब्राजिल

नेपाली नजरमा
शुक्रबार, २५ जेठ २०७५, ११ : ४३ नागरिक

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर अञ्जन विष्टको खेल्ने शैली धेरै हदसम्म पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँग मिल्छ । आ–आफ्नो स्तरमा दुवै खेलाडी कडा मिहिनेत, तिब्र गति, शारिरिक रुपमा ‘टफ’ फुटबल, पाएका अवसर उपयोग गर्नेजस्ता विशेषताका लागि परिचित छन्। 

रोनाल्डोसँग अञ्जनको विशेषता त्यसै मिलेको होइन । यो अञ्जनले उनै रोनाल्डोलाई आदर्श मानेर उनलाई पछ्याउँदै आफूलाई तिखारेका हुन् । त्यसैले रुसमा अर्को हप्ताबाट सुरु हुने विश्वकपमा अञ्जन रोनाल्डो र उनको टोली पोर्चुगलको समर्थनमा हुने छन् । भनिन्छ, स्ट्राइकर अत्यन्तै चलाख र अवसरवादी हुनुपर्छ । चलाख हुन सकेन भने विपक्षी पोस्टको हुलमुलको बललाई जाली चुमाउन सकिन्न । अवसरवादी भएन भने पाएका मौका खेर जान्छन्। 

अञ्जनमा यो गुण छ । त्यै भएर उनले विश्वकपमा समर्थन गर्ने टिम पनि दुईवटा छन् । जिते पोर्चुगल, नजिते ब्याकअपमा ब्राजिल उनको दोस्रो रोजाई हो । स्ट्राइकरका रुपमा मैदान उत्रिँदा गोलका लागि क्रस वा पास उपलब्ध गराउन मिडफिल्ड र रक्षापंक्तिमा धेरै साथीहरु भएजस्तै विश्वकपमा पनि उनीसँग विकल्प छ। 

‘म रोनाल्डोको डाई हार्ट फ्यान हुँ । रोनाल्डो मेरो आइडियल खेलाडी हो । हाम्रो पोजिसन पनि एउटै छ । उसैको खेल्ने शैली पछ्याउँने प्रयास गरिरहेको छु । रोनाल्डोलाई सम्झने वित्तिकै मलाई उजस्तै खेल्छु भन्ने भावनाले उत्साहित गरिरहन्छ,’ अञ्जनले नागरिकसँग भने, ‘रोनाल्डोका कारण पोर्चुगललाई समर्थन गर्छु । तर पोर्चुगलले जित्छ जस्तो लाग्दैन । त्यो भएर जित्नका लागि ब्राजिलको समर्थन गर्छु । व्यक्तिगत रुपमा रोनाल्डोपछि मलाई मनपर्ने खेलाडी नेइमार हुन।’

सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट व्यावसायिक करियर सुरु गरेका अञ्जन यसैपालीदेखि नेपाली फुटबलको महारथी लक्ष्मी हुन्डाई मनाङ मर्सयाङदी क्लबसँग अनुबन्धित भएका छन् । लामो समयदेखि रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग असोजमा सुरु हुँदा अञ्जन मनाङको जर्सीमा देखिनेछन् । त्यसअघि सेप्टेम्बरमा बंगलादेशको ढाकामा हुने १०औं साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि जिताउने तयारीमा जुट्नु उनको अहिलेको प्राथमिकता हो। 

‘बिहीबारबाट राष्ट्रिय टिमको प्रशिक्षण सिविर सुरु हुँदैछ । साफ च्याम्पियनसिप हामीले जित्नैपर्ने अन्तर्राष्ट्रिय प्रतियोतिगा हो । अहिलेलाई त्यसैको तयारी र विश्वकप हेर्ने र त्यहाँबाट केही नयाँ सिप सिक्ने योजना छ,’ उनले थपे। 

 

यसमा तपाईको मत