रोनाल्डोकी फ्यान संज्ञा

नेपाली नजरमा
आइतबार, २० जेठ २०७५, १६ : ०२ नागरिक

काठमाडौं – रूसमा जुन १४ बाट सुरु हुने फिफा विश्वकपको ज्वरोले पूरा विश्व तातिसकेको छ । फुटबल खेल्ने र खेलाउने बाहेककाहरू पनि विश्वकपका लागि व्यग्रताका साथ प्रतीक्षारत छन्।

विश्वमा सबभन्दा लोकप्रिय खेलका रूपमा स्थापित फुटबलको सबभन्दा ठूलो कुम्भमेला यसपालि रूसका विभिन्न सहर घुम्दै छ । एक महिना चल्ने यो प्रतियोगिताको ज्वरो बढ्दै जाने क्रममा तातो नेपाल आइसकेको छ । सबै पेसा, व्यावसायमा लाग्नेलाई विश्वकपले आफूतिर तान्ने काम सुरु गरिसकेको छ । यही जेठको अन्तिममा रिलिज हुने तयारीमा रहेको फिल्म मट्टिमालाकी नायिका तथा बैंकर संज्ञा श्रेष्ठलाई विश्वकपको प्रतीक्षाले व्यग्र पार्न थालिसकेको छ । मट्टिमाला उनको पहिलो फिल्म हो।

पछिल्लो एक दशकदेखि सनराइज बैंकमा कार्यरत संज्ञा यसअघि म्यागेजिन मोडलिङ, म्युजिक भिडियो र टेलिभिजन विज्ञापनमा देखिने गर्थिन् । पेसाले बैंकर, कलाकार एवं मोडल भए पनि उनी एउटा ‘प्यासनेट’ फुटबलप्रेमी हुन् । इङ्लिस प्रिमियर लिग नियमित हेर्ने उनलाई सबभन्दा मन पर्ने क्लब चेल्सी हो । खेलाडीचाहिँ रियाल मड्रिडका क्रिस्टियानो रोनाल्डो हुन् । अनि अन्तर्राष्ट्रिय फुटबलमा चाहिँ ब्राजिल उनको पहिलो रोजाइ हो।

‘फुटबलमा मेरो रोजाइ एकदमै अचम्मको छ । प्रिमियर लिग समय मिल्ने भएकाले बढी हेर्छु । स्पेनिस ला लिगा पनि समय मिल्दा र विशेष खेल हुँदा हेर्छु । इङ्ल्यान्डमा चेल्सी सबभन्दा मन पर्छ । मिहिनेती र स्टाइलिस भएकाले रोनाल्डो मन पर्छ,’ संज्ञाले भनिन्, ‘विश्वकपचाहिँ ब्राजिलको पक्षमा बसेर हेर्छु । सानै उमेरदेखि ब्राजिललाई सपोर्ट गरेर हेर्ने गरेकाले ब्राजिल सबभन्दा मन पर्छ।’

पछिल्लो समय फिल्म प्रवद्र्धनमा व्यस्त छिन् उनी । बैंकमा पनि अहिले मार्केटिङ विभागमा कार्यरत भएकाले कामको व्यस्तता धेरै छ । ‘त्यसैले आजकाल त्यति धेरै फुटबल हेर्न भ्याएको छैन । लिगका खेलहरू रोजेर हेर्छु । विश्वकपमाचाहिँ फुर्सत मिलाएर सबै खेल हेर्छु,’ संज्ञाले नागरिकसँग भनिन्, ‘ब्राजिलका खेल सबै बाहिर साथीहरूसँग बसेर हेर्ने योजना बनाएकी छु । अरू खेलचाहिँ घरमै परिवारसँग हेर्छु।

ब्राजिलले जितोस् भन्ने चाहना छ । जित्छ भन्ने पक्का छैन । ब्राजिल विश्व फुटबलमा सधैँको दाबेदार हो । यसपालि पनि उपाधि जित्न लायक खेलाडीहरू छन् । प्रतियोगिता सुरु हुँदाको बेला खेलाडीको फर्म र टिमवर्क कस्तो हुन्छ भन्नेमा नतिजा निर्भर रहन्छ । रोनाल्डोको फ्यान भएकाले पोर्चुगल जिते पनि खुसी नै हुन्छु।’

यसमा तपाईको मत