रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्ड दाबेदार

नेपाली नजरमा
बुधबार, २७ असार २०७५, ०३ : २१ नागरिक

इङ्ल्यान्ड र क्रोएसियाले विश्वकपको सेमिफाइनल नखेलेको धेरै भयो । इङ्ल्यान्ड २८ र क्रोएसिया २० वर्षपछि विश्वकपको सेमिफाइनल पुगेका हुन् । त्यसैले दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ।

दुवै फाइनल पुग्नका लागि आतुर भइरहँदा कसरी सेमिफाइनल जित्ने भन्ने विषयमा केन्द्रित छन् । सेमिफाइनल पुग्ने हरेक टिममा त्यो हुनु स्वाभाविक हो । तर इङ्ल्यान्ड र क्रोएसियाले यो सेमिफाइनललाई त्यो स्वाभाविकताभन्दा फरक रूपमा लिएका छन्।

लामो समयदेखि चाहिरहेको चिज नजिक पुग्दा पनि नपाएको अनुभवले सताइरहेका कारण दुवै जति फाइनल पुग्न आतुर छन्, उत्तिकै यसपालि पनि असफल हुने हो कि भन्ने भयबाट सताइएका छन् । जसका कारण यो सेमिफाइनल सामान्यभन्दा फरक हुनेछ । युगोस्लाभियाबाट छुट्टिएको देश भएकाले क्रोएसियाको अन्तर्राष्ट्रिय इतिहास लामो छैन । दुई टिमबीच विगतमा जम्मा ६ खेल भएकोमा ४ पटक इङ्ल्यान्डले जितेको छ भने दुई पटक क्रोएसियाले बाजी मारेको छ।

क्रोएसिया प्रतियोगिताको गाह्रो समूहमा परेको थियो । नाइजेरिया, अर्जेन्टिना र आइसल्यान्ड भएको समूहलाई ग्रुप अफ डेथका रूपमा लिइएको थियो । तर क्रोएसिया ग्रुप अफ डेथबाट पूर्णांङ्क लिएर आएको टिम हो । त्यसमा पनि मेसीको अर्जेन्टिनालाई ३–० ले हराएपछि विश्व फुटबलमा क्रोएसियाको चर्चा हुन थाल्यो । त्यहीँबाट क्रोएसियालाई सम्भावित विजेताका रूपमा लिइन थाल्यो।

क्रोएसियाले समूहमा तीनवटा फरक स्वभावका टिमसँग खेलेर आफूलाई जाँच्न पाएको थियो । नाइजेरियाको उच्च शारीरिक प्रदर्शनका साथै तीव्र गति, आइसल्यान्डको कडा रक्षात्मक प्रदर्शन र अर्जेन्टिनाको विश्वस्तरीय टिममा मेसीको जादु हुँदा पनि क्रोएसियाले सबैलाई हराउन सफल भएको थियो । त्यस क्रममा ७ गोल गर्दा टोलीले १ गोल मात्र खायो।

समूहचरणको प्रदर्शनले जसरी टिमलाई दाबेदार छवि दियो, त्यसै गरी मानसिक रूपमा दबाब पनि दियो । फेरि महŒवपूर्ण अवस्थामा पुगेर असफल हुनुपर्ला भन्ने भयमा रहेको टोलीलाई थप चिन्ता दियो । कठिन समूह सहजै पार गरेपछि नकआउटमा हार्नु हुँदैन, यही समय हो इतिहास लेखाउने भन्ने खालको सम्भावनाले क्रोएसियाली टिममाथि दबाब थप्यो । त्यसको प्रभाव नकआउट चरणमा देखियो । अर्जेन्टिनालाई तीन गोल गरेको क्रोएसियाले नकआउटमा एउटै खेल जित्न सकेन।

पेनाल्टी सुटआउटमा दुई पटक भाग्यमानी हुँदा मात्र क्रोएसिया सेमिफाइनलको लायक बन्यो । तथापि लुका मोडरिच र इभान राकेटिच जारी विश्वकपको सबभन्दा उत्कृष्ट मिडफिल्ड जोडी हो । यसै गरी रक्षापंक्तिमा डेजान लोभरेन र डोमागोज भिडाजस्ता जब्बर रक्षक छन् । इभान पेरिसिच उच्च फर्ममा रहेका मिडफिल्डर हुन् । उनी विंग्सका साथै १० नम्बर पोजिसन (दोस्रो स्ट्राइकर) मा पनि खेल्न सक्षम छन् भने मारियो मान्डजुकिचको उच्च फर्म उत्तिकै भरोसायोग्य छ । गोलकिपर ड्यानिअल सुबासिचले पनि नकआउट चरणका टाइब्रेकरमा चार पेनाल्टी रोकेर आफूलाई टिमको भरोसाका रूपमा उभ्याएका छन्।

समग्रमा क्रोएसिया मिडफिल्डमा अत्यन्तै बलियो टिम हो । त्यसैले उनीहरूको भाग्य मिडफिल्डको प्रदर्शनमै निर्भर रहन्छ । सामान्यतया कुनै पनि टिम नकआउट चरणमा पुग्दा सुधारिएर प्रस्तुत हुन्छन् । तर क्रोएसियाको प्रदर्शनचाहिँ नकआउट चरणमा खस्किएको छ । जसको कारण डेनमार्क र रूससँग पेनाल्टी सुटआउटसम्म संघर्ष गर्नुपर्यो । दुवै खेल १ सय २० मिनेट खेलेका कारण खेलाडीहरू निक्कै थाकेका छन् । मानसिक रूपमा पनि दबाबमा रहेका खेलाडीलाई चार दिनको आराम पर्याप्त नहुन सक्छ।

ठीक विपरीत इङ्ल्यान्डले यो वर्ष युवा खेलाडीको टिम लिएर आउँदा उनीहरू संगठित छन् । आक्रमण गर्दा होस् वा रक्षामा झर्नुपर्दा दुवै अवस्थामा इङ्ल्यान्डको टोली संगठित छ । युवा खेलाडीबीचको तालमेल र आत्मविश्वास उच्च देखिन्छ । लामो समयपछि सेमिफाइनलसम्मको यात्रा तय गर्दा भेटेका हरेक विपक्षीसँग इङ्ल्यान्डले आफ्नै स्वाभाविक फुटबल खेलेको छ।

हरेक खालको अवस्था ट्याकल गर्न उनीहरूसँग रणनीति छ । यसैको कारण इङ्ल्यान्डले तीन पटक विश्वकप र युरोपियन च्याम्पियनसिपमा तीन पटक टाइब्रेकरमा पराजित भएको इतिहास यसपालि उल्टायो । मुख्य कुरा इङ्ल्यान्डले हरेक खेलमा सुधार गरिरहेको छ । सेट पिसमा उनीहरू सफल देखिएका छन् । रक्षकहरूको वास्तविक परीक्षा अहिलेसम्म भएको छैन । तर सबै खेलाडी उत्तिकै तीव्र गतिमा खेल्न सक्ने भएकाले ३–५–२ को फर्मेसनमा पनि यिनीहरूलाई दबाब परेको छैन।

३–५–२ को फर्मेसनमा खेले पनि इङ्लिस टिममा अगाडिका सात खेलाडीमा को मिडफिल्ड र को फरवार्डमा खेलेको भन्ने थाहा हुँदैन । अत्यन्तै तीव्र गतिका सबै खेलाडी विपक्षी पोस्टमा धावा बोल्न उत्तिकै सक्षम छन् । यसै गरी बल आफ्नो जोनमा पुग्दा सबै तीव्र गतिमा पुगिसकेका हुन्छन् । रहिम स्टर्लिङ आफैंले गोल गर्न नसके पनि विपक्षी रक्षापंक्तिलाई कायल पारिरहेका छन् । जारी प्रतियोगितामा ६ गोल गरिसकेका कप्तान ह्यारी केन उनीहरूका मुख्य हतियार हुन् । केन उनीहरूको टिमका सुपरस्टार हुन्, तर बाँकी ६ आक्रामक खेलाडी पनि उत्तिकै डरलाग्दा भएकाले क्रोएसिया कसलाई रोक्ने भन्ने दुबिधामा पर्न सक्छ । त्यसो भयो भने इङ्ल्यान्डले विपक्षीको त्यही दुबिधाको फाइदा उठाउँदै खेल सकाउन सक्छ।

इङ्लिस टोलीसँग यसपालि भएको अर्को महत्वपूर्ण पक्ष गोलकिपर जोर्डन पिकफर्डको आत्मविश्वास पनि हो । उनको बचाउ मात्र नभई फुटवर्क पनि राम्रो छ र उनले रक्षापंक्तिलाई कमान्ड गरिरहेका छन् । उमेर कम भए पनि पिकफर्डले परिपक्वता प्रदर्शन गर्दै पोस्टबाट पूरा टिमलाई गाइड गरिरहेका छन्।

उत्कृष्ट खेलाडीहरुको रोमाञ्चक प्रतिस्पर्धा भए पनि धेरै संयोगहरूका कारण इङ्ल्यान्ड यो खेलको दाबेदार देखिन्छ । किनकि प्रशिक्षक गारेथ साउथगेट यति अगाडि बढिसकेपछि पछि फर्किने मुडमा देखिन्नन् । कोलम्बियासँग अन्तिम १६ को पेनाल्टी सुटआउटमा बाजी मारेपछि उनले दिएको प्रतिक्रियाले त्यही देखाउँछ । उनले पूरा आत्मविश्वासका साथ भनेका थिए, ‘पेनाल्टी सुटआउट भनेको फगत भाग्यको खेल होइन । यो आफ्नो प्रतिभालाई आत्मविश्वासका साथ प्रमाणित गर्ने महत्वपूर्ण अवसर हो ।’ यो भनाइबाट साउथगेट र उनको टोली जुनसुकै अवस्थालाई पनि सहजतापूर्वक ट्याकल गर्न तयार देखिन्छ।

यसबाट साउथगेट मोडरिच र राकेटिचको खेलमा भन्दा आफ्नो खेलमा केन्द्रित हुने देखिन्छन् । स्विडेनमाथिको ‘कन्फिडेन्ट भिक्ट्री’ पछि साउथगेट स्वाभाविक फुटलब खेल्ने अवस्थामा छन् । तर इङ्ल्यान्डले कोलम्बियाविरुद्धको खेलमा आवश्यक सचेतता अपनाउन नसक्दा पेनाल्टी सुटआउटसम्म संघर्ष गर्नुपरेको थियो । अग्रता लिएको अवस्थामा आक्रमण पनि आफंैले एकतर्फी गरिरहेको खेल इन्जुरी समयमा पुग्दा इङ्ल्यान्ड ‘अब जितियो’ भनेर ढुक्क भयो।

आफ्नो पोस्टमा बारम्बार आक्रमण नभइरहँदा टिम एलर्ट हुँदैन । त्यस्तै हल्का लिँदा इङ्ल्यान्डले त्यहाँ इन्जुरी समयमा गोल खाएर पेनाल्टीमा ‘प्रतिभा प्रमाणित’ गर्नुपरेको थियो । त्यस्तै गल्ती क्रोएसियासँग दोहो¥यायो भने इङ्ल्यान्डको यात्रा सेमिफाइनलमै सकिन सक्छ । तर क्रोएसियालाई उनीहरूले त्यति सहज नलेलान् । विपक्षीको मुख्य हतियार मिडफिल्डरहरूलाई उनीहरूको जोनमा खुलेर खेल्न दिए पनि आफ्नो जोनको भने राम्ररी सुरक्षा गर्लान्।

यसमा तपाईको मत