रूसको रणनीति सफल

नेपाली नजरमा
सोमबार, १८ असार २०७५, ०० : ४७ नागरिक

फुटबलमा लिग र नकआउट खेल फरक हुन्छ । नकआउट चरणमा कमजोर टोलीले खेललाई थप समय हुँदै पेनाल्टीसम्म लम्ब्याउन चाहन्छ भने बलियो टोली निर्धारित समयमै नतिजा निकाल्न चाहन्छ।

आइतबार पनि ‘अन्डर डग’ का रूपमा रहेको रूसले स्पेनलाई १ सय २० मिनेटसम्म रोक्न सफल भयो । यसले रूसको रणनीति सफल भएको देखिन्छ । फलस्वरूप २०१० को विजेता स्पेनलाई हराउँदै रूसले दोस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।

स्पेनजस्तो दाबेदार टोलीलाई पेनाल्टीसम्म रोक्दा रूस आफू दबाबमुक्त हँदै गयो भने स्पेनमाथि दबाब बढ्दै गयो । अन्डर डग टोलीका गोलकिपरले खेलमा धेरै बल बचाएको हुन्छ । जसले उसलाई पेनाल्टीमा मनोबल बढाउँछ।

त्यसका साथै पेनाल्टीसम्म खेल लम्ब्याउने योजनामा आएको टोलीले पेनाल्टीका लागि पनि राम्रो तयारी गरेको हुन्छ। निर्धारित ९० मिनेटको समय सकिएपछि थपिएको चार मिनेट रूसले नतिजा आउँछ कि भनेर आक्रामक खेलेको थियो । घरेलु मैदान र समर्थकको साथ पाएको रूस आफ्नो रणनीतिमा पूर्ण सफल देखियो।

ठीक विपरीत स्पेनका प्रशिक्षक फर्नान्डो हायरोले आन्द्रेस इनिएस्टाजस्ता अनुभवी खेलाडीलाई बेन्चमा राखेर गल्ती गरे । टाइब्रेकरमा पनि उनले इयागो आसपासजस्ता राष्ट्रिय टोलीमा कम अनुभव भएका खेलाडीलाई अन्तिममा राख्नु उनको गलत निर्णय भयो । अन्तिममा हान्ने खेलाडीमाथि धेरै दबाब हुन्छ । त्यसैले हायरोले आसपासको स्थानमा रामोस, इनिएस्टाजस्ता अनुभवी खेलाडीलाई  राख्नुपथ्र्याे।

यसअघि २००२ पनि स्पेन दक्षिण कोरियासँग टाइब्रेकरमै पराजित भएको थियो । पछिल्लो चार संस्करणको नकआउट चरणमा आयोजक राष्ट्र टाइब्रेकरबाट गुज्रिएका छन् । सबैमा संस्करणको नतिजा आयोजक टोलीको पक्षमा गएको छ । यो तथ्यले पनि स्पेन बढी दबाबमा थियो । यही विश्वकपबाट निर्धारित ९० मिनेटभन्दा बढी खेल लम्बियो भने थप एक खेलाडी (३+१) सब्स्टिच्युट गर्न पाउने नियम परिवर्तन गरिएको थियो । त्यो आज लागू भएको छ । दुवै टोलीले चार खेलाडी परिवर्तन गरेका छन्।

रसियामा जारी २१औं विश्वकपबाट फुटबलमा ठूला नाम भनिएका क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, मोहम्मद सालाह, थोमस मुलरजस्ता खेलाडी बिदा भइसकेका छन् । विश्वकपको पर्यायवाची जस्तै रहेको ब्राजिल प्रतियोगितामा टिकिरहँदा अर्का स्टार नेइमार रूसमा आफूलाई प्रमाणित गर्ने प्रयासमा छन् । यसैबीचमा पाँच पटक उपाधि जितिसकेको ब्राजिलले अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्दा ऊसँग नेइमारबाहेक पनि फिलिप कौटिन्हो, मार्सेलो, थियागो सिल्भा, ग्राब्रियल जिसस, विलियानजस्ता खेलाडी साथमा हुन्छन् । त्यसैले मेक्सिकोविरुद्धकोे प्रि–क्वार्टरफाइनलमा ब्रालिल अत्तालिनुपर्ने छैन।

समूहचरणमा स्विट्जरल्यान्डसँग बराबरी खेले पनि बाँकी खेलमा ब्राजिलले आफ्नो छविअनुसारको प्रदर्शन गरेको थियो भने खेलाडीहरूले पनि नामअनुसारको प्रदर्शन गरेका थिए । मेक्सिकोले पहिलो खेलमा साबिक विजेता जर्मनीलाई पराजित गर्दै विश्व फुटबलको ध्यान आफूमा केन्द्रित गर्न सफल भएको थियो । स्टार खेलाडीहरू गोलकिपर गुइलेर्माे ओचेआ, हाभियर हर्नान्डेज, कार्लोस भेलाजस्ता खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दा मेक्सिकोले दक्षिण कोरियालाई पनि हराउन सफल भयो । पहिलो दुई खेलबाट ६ अंक बटुले पनि मेक्सिकोको दोस्रो चरण पुग्ने पक्का भइसकेको थिएन । त्यस्तो अवस्थामा मेक्सिको स्विडेनसँग नराम्ररी पराजित भयो । यसबाट मेक्सिकोको प्रदर्शनमा एकरूपता नभएको पुष्टि हुन्छ।

गत विश्वकपमा समूहचरणको खेलमा बराबरी खेलेका मध्य अमेरिकी टोली मेक्सिकोले सदाझँै गोलकिपरको उत्कृष्ट प्रदर्शनका साथै खेलमा सुधार गर्दै ब्राजिलको आक्रमणलाई रोक्न सके मात्र आफ्नो सम्भावना जीवित राख्न सक्छ । ब्राजिलले नेइमारमा मात्र भर नपरी अन्य खेलाडीहरूले खुलेर खेले भने नतिजा आफ्नो पक्षमा पार्न सक्छ । तर, लिग र नकआउट चरणमा टोलीको रणनीति फरक हुन्छ । यदि मेक्सिकोले ब्रालिललाई निर्धारित ९० मिनेटसम्म रोक्दै खेललाई थप समयतर्फ धकेल्न सक्यो भने ब्राजिलमाथि दबाब बढ्दै जान्छ । यस्तो अवस्थामा मेक्सिकोले पनि नतिजा आफ्नो पक्षमा निकाल्छ सक्छ।

सोमबारै हुने अर्को खेलमा स्टार खेलाडीले भरिपूर्ण बेल्जियमले एसियाको एक मात्र प्रतिनिधि जापानसँग प्रतिस्पर्धा गर्दै छ । बेल्जियममा अधिकांश खेलाडी इङ्लिस प्रिमियर लिगका स्टार छन् । ती खेलाडीको उपस्थितिले बेल्जियमलाई जारी विश्वकपकै सबैभन्दा संगठित र सशक्त टोलीका रूपमा उभ्याएको छ । विश्वकपको पहिलो चरणमा ट्युनिसिया, पानामा र इङ्ल्यान्डलाई पराजित गरेको बेल्जियमले शतप्रतिशत नतिजा निकाल्दै नकआउट चरणमा स्थान बनाएको हो।

हुन त समूहचरणको अन्तिम खेलमा इङ्ल्यान्डविरुद्ध सबै वैकल्पिक खेलाडीलाई मौका दिए पनि बेल्जियमले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । तथापि इङ्ल्यान्डले पनि अधिकांश खेलाडीलाई आराम दिएर दोस्रो रोजाइको खेलाडी उतारेको थियो । विश्वकपअघि सबैभन्दा महत्वका साथ हेरिएको यस खेलमा दुवै टोलीले दोस्रो रोजाइको खेलाडी उतार्दा सारा फुलबलप्रेमी निराश बनेका थिए।

तर बाहिरबाट जसरी हेरिए पनि त्यसले खास अर्थ राख्दैन । हरेक प्रशिक्षकले टोलीको हीतमा छुट्टाछुट्टै रणनीति बनाएका हुन्छन् । त्यहीअनुरूप उक्त खेलमा बेल्जियम र इङ्ल्यान्डका प्रशिक्षकले फाइनलसम्मको यात्रालाई सहज बनाउनका लागि जित टार्न खेलिरहेका थिए।

जापानले आफ्नो पहिलो खेलमा कोलम्बियाजस्तो बलियो प्रतिद्वन्द्वीलाई हराउन सफल भएको थियो । त्यसपछि जापानले सेनेगल र पोल्यान्डसँग बराबरी खेलेर अपराजित रहँदै दोस्रो चरणमा स्थान बनाएको हो । कोलम्बियाविरुद्धको पहिलो खेलमा भाग्यमानी बनेको जापानलाई नकआउट चरणमा स्थान बनाउन पनि भाग्यले साथ दियो । सेनेगलसँग समान ५ अंक भए पनि विश्वकपको इतिहासमै पहिलो पटक ‘फेयर प्ले’का आधारमा जापान अघिल्लो चरण पुग्न सफल भएको हो । समूह चरणमा तीन फरक महादेशका टोलीविरुद्ध अपराजित रहँदा जापानले जुझारुपन देखाएको छ।

तर फिफा वरीयताको तेस्रो स्थानमा रहेको बेल्जियमविरुद्ध खेल्न जापानका लागि त्यति सहज हुनेछैन । बेल्जियमको अग्रपंक्ति विश्वमै राम्रो मानिन्छ । केभिन डी ब्रुयना, रोमेलु लुकाकु, इडेन हाजार्ड, द्रिइस मार्टिन्सजस्ता खेलाडीको आक्रमणलाई ९० मिनेटसम्म निस्तेज पार्न जापानलाई सजिलो छैन । अग्रपंक्ति मात्र नभई बेल्जियमको मिडफिल्ड र रक्षापंक्ति पनि उत्तिकै सशक्त छ।

सिन्जी कागावा, केइसुके होन्डाजस्ता अनुभवी खेलाडीले जापानलाई जिताउन धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । जापानले राम्रो प्रदर्शन गरे पनि युरोपमा बेजोड प्रदर्शन गरिरहेका खेलाडीहरूको बाहुल्यताका कारण बेल्जियमले नतिजा आफ्नो पक्षमा पार्ने देखिन्छ।

यसमा तपाईको मत