रूसको आश्चर्यजनक प्रदर्शन

नेपाली नजरमा
सोमबार, २५ असार २०७५, ११ : ३६ नागरिक

सोभियत संघ १९९० मा विघटन भएपछि रूसले फिफा विश्वकपमा ३ पटक मात्र सहभागिता जनाएको छ। १९९४, २००२ र २०१४ मा सहभागी हुँदा रूस तीनै संस्करणमा समूहचरणबाटै बाहिरिएको थियो। विश्व फुटबलमा सोभियत संघले बलियो उपस्थिति जनाए पनि विघटनपछिको रूसले त्यही प्रभाव जमाउन सकेको छैन। १९९० पछि विश्वका धेरै देशले घरेलु लिगलाई परिमार्जन गरी व्यवस्थित र व्यावसायिक बनाउँदै लगे। तर, रूसले भने आफ्नो लिगलाई समयानुसार परिमार्जन गर्न सकेन। फलस्वरूप युरोपका प्रतिष्ठित  युरोपा र च्याम्पियन्स लिगमा रूसी क्लबहरूले बलियो चुनौती पेस गर्न सकेका छैनन्।

२०१० मा फिफा काउन्सिलले २०१८ को विश्वकप रूसलाई र २०२२ को विश्वकप कतारलाई आयोजना गर्ने जिम्मेवारी दिँदा त्यस समाचारले विश्वभर नै सनसनी मच्चाएको थियो। विश्वकपको आयोजना गर्ने जिम्मेवारी लिनका लागि रूसका तत्कालीन प्रधानमन्त्री भ्लाद्मिर पुटिनले फिफासमक्ष कडा लबिङ गरेका थिए। पुटिनले विश्वकपको उद्घाटनमा तत्कालीन फिफा अध्यक्ष (हाल निलम्बनमा रहेका) सेप ब्लाटरलाई विशेष निमन्त्रणामा रूस बोलाई त्यसको गुण तिर्ने प्रयास गरेका छन्।

रूसले आयोजकका रूपमा राम्रो तयारी गरेको प्रतियोगिता दौरान प्रमाणित हुँदै आएको छ। फिफाको निमयमा आयोजक राष्ट्र स्वतः प्रतियोगितामा सहभागी हुन पाउने भएकाले विश्वकपको आयोजक बन्नुको प्रत्यक्ष फाइदा रूसी टोलीले लियो।

गत एक वर्षदेखि रूसको प्रदर्शन राम्रो हुन सकेको थिएन। रूसले एक वर्षभित्र खेलेका मैत्रीपूर्ण खेलमा राम्रो नतिजा निकाल्न सकेको थिएन।  खेलेका ६ वटा खेलमा एक बराबरीबाहेक सबैमा रूस पराजित भएको थियो। राम्रो नतिजा निकाल्न नसकेका कारण रूस विश्वकपमा सहभागी राष्ट्रमध्ये फिफा वरीयताको सबैभन्दा तल्लो स्थानमा थियो।

अन्य देश मात्र होइन रूसी समर्थक आफैँ पनि आफ्नो देशले कस्तो प्रदर्शन गर्छ भन्नेमा अलमल देखिन्थे। २ सय ११ बाट छानिएर आएका ३२ राष्ट्रले राम्रो तयारी गरेर आउने हुँदा कुनै पनि राष्ट्रलाई कमजोर आकलन गर्न मिल्दैन । यद्यपि रूसले भाग्यवश समूहचरणमा तुलनात्मक बलियो टोलीको सामना गर्नु परेन। रूस सहभागी समूह ‘ए’ मा एसियाली राष्ट्र साउदी अरेबिया, अफ्रिकी मुलुक इजिप्ट र दक्षिण अमेरिकी राष्ट्र उरुग्वे रहेका थिए । विश्वकपमा आयोजक राष्ट्रको प्रदर्शन सधैं राम्रो हुँदै आएको छ। त्यसैले रूसले पनि विश्वकपमा सफलता हासिल गर्ने आशा गरिएको थियो।

रूसले उद्घाटन खेलमा साउदी अरेबियालाई पराजित गर्नु सामान्य हो। तर, ५–० को फराकिलो अन्तरले हराउनु आश्चर्यजनक नतिजा थियो। सम्भवतः विश्वकपको उद्घाटन खेलमा यस्तो फराकिलो नतिजा आएको यो पहिलो हो। रूसमा विश्वका स्टार खेलाडीको उपस्थिति थिएन । तर, पहिलो खेलमा पाएको सफलताले उनीहरूको मनोबल बढ्यो र दोस्रो खेलमा मोहम्मद सालाहको इजिप्टलाई ३–१ को नतिजामा पराजित गर्न सफल भयो। पहिलो दुई खेल जित्दै अघिल्लो चरणमा स्थान पक्का गरिसकेको रूस समूहको अन्तिम खेलमा भने उरुग्वेसँग ३–० ले पराजित भयो।

नकआउट चरणमा रूसले २०१० को विजेता स्पेनविरुद्ध खेल्नुपर्ने थियो। स्पेनलाई यस संस्करणमा पनि उपाधि दाबेदारका रूपमा हेरिएकाले रूस एक किसिमको दबाबमा थियो। तर, दबाबका बावजुद पनि रूसले स्पेनलाई १ सय २० मिनेटसम्म १–१ को बराबरीमा रोकेर टाइबे्रकरमा नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान बनायो। रूसले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा गोलकिपर इबोर आकिनफिभले आफूलाई स्थापित गर्न सफल भए। तर, रक्षात्मक रणनीति अपनाइएको यही खेलबाट रूसले विश्वव्यापी आलोचना खेप्नुप-यो। खेलको मर्म मर्ने गरी नतिजा निकालेकाले रूसको चर्को आलोचना भएको हो।

क्वार्टरफाइनलमा रूस र क्रोएसियाबीचको खेलमा अयोजकले स्पेनसँग जस्तै रक्षात्मक रणनीति अपनाउने अनुमान गरिएको थियो। समूहचरणमा अर्जेन्टिनाजस्तो टोलीलाई ३–० हराउनुका साथै प्रि–क्वार्टरफाइनलमा डेनमार्कजस्तो संगठित टोलीलाई पराजित गरेकाले रूसविरुद्ध पनि क्रोएसियाले नतिजा आफ्नो पक्षमा पार्ने सबैको अपेक्षा थियो । तर शनिबार रूसले क्रोएसियाविरुद्ध सबैले सोचेभन्दा फरक खेल्यो। रूसी खेलाडीले रक्षात्मक भएर खेले पनि आक्रमणमा जाँदा क्रोएसियाभन्दा खतरनाक देखिएको थियो। रूसका डेनिस चेरिसेभले ३१औं मिनेटमा प्रतियोगिताकै उत्कृष्टमध्येको एक गोल गर्दै टोलीलाई अग्रता दिए। प्रतियोगितामा चौथो गोल गरेका चेरिसेभले आफूलाई क्रिस्टियानो रोनाल्डो, रोमेलु लुकाकुको पंक्तिमा उभ्याए।

एक शून्यको अग्रता लिइसकेपछि पनि रूसले रक्षात्मक रणनीति लिँदै आफ्नो स्वाभाविक प्रदर्शनलाई पनि निरन्तरता दियो। ३९औं मिनेटमा क्रोएसियाले बराबरी गरे पनि रूसीहरू निराश भएनन्। त्यति बेलासम्म पनि उनीहरू जित्ने मनस्थितिमै देखिएका थिए। क्रोएसियाका मिडफिल्डर लुका मोडरिच, इभान राकेटिचले गोलका लागि गरेका निरन्तरका प्रयासलाई रूसका गोलकपर आकिनफिभले विफल बनादिएका थिए। रूसले पनि क्रोएसियाको पोस्टमा निरन्तर आक्रमण गरिरह्यो । निर्धारित समयको बराबरी पछि खेल थप समयतर्फ धकेलियो। थपिएको समयमा आयोजक टोली सम्हालिन नपाउँदै अप्रत्याशित गोल खायो। एक गोलले पछि परे पनि रूसले हार मानेन। अन्तिम समयसम्म डटिरहँदा रूसले खेल सकिन पाँच मिनेट बाँकी छँदा बराबरी गोल फर्कायो। स्पेनविरुद्ध टाइब्रेकरमा विजयी भएको रूसले शनिबार त्यही नतिजा निकाल्न सकेन। फिदुर स्मोलोभ र मारिया फर्नान्डेजको पेनाल्टी प्रहार असफल हुँदा रूसको विश्वकप यात्रा पनि टुंगियो।

प्रतियोगिताबाट बाहिरिए पनि रूसले आफ्नो छवि सुधार्न सफल भयो। यससँगै रूसका केही खेलाडीले आफूलाई स्टार खेलाडीका रूपमा स्थापित गर्न सफल भएका छन्। १६ करोड जनसंख्या रहेको रूस सुविधाका हिसाबले पनि पश्चिम युरोपेली राष्ट्रभन्दा कमजोर छैन। पहिलो पटक विश्वकपको आयोजना गरेको रूसलाई यस प्रतियोगिताले फुटबल प्रवद्र्धन र विकासमा ठूलो योगदान पु¥याएको छ । विश्वकपको आयोजना गर्दै गर्दा रूसमा राम्रो फुटबल एकेडेमीहरु स्थापना भएका छन्। ती एकेडेमीमा अहिले रूसका मात्र नभई अन्य देशका पनि स्टार खेलाडीलाई भ्रमण गराएर युवाहरुको मनोबल बढाउने काम भइरहेका छन्। जसले भविष्यमा रूसी फुटबलको स्तरवृद्धी गर्नेछ।

टाइब्रेकरलाई नतिजा मात्र मान्ने हो भने रूस निर्धारित समयमा ६ मध्ये १ खेलमा मात्र पराजित भएको छ। यो नतिजा स्वाभाविक हो भनेर प्रमाणित गर्न रूसले आगामी दिनमा पनि राम्रो फुटबल खेल्न आवश्यक छ। त्यसका लागि रूसले घरेलु लिग लगानी गर्दै परिस्कृत गर्नुपर्छ । रुसले घरेलु मैदानमा आयोजना भएको विश्वकपमा जुन खालको प्रदर्शन ग-यो, त्यसले विश्व फुटबलमा रूस पनि एक सशक्त टोली हो भन्ने सन्देश प्रवाह गरेको छ। तर, यो सफलता २००४ मा ग्रिसले पाएको जस्तो नहोस भन्नका लागि रूस अहिल्यैबाट सजग भएर अघि बढ्नु पर्छ।

यसमा तपाईको मत