सालाह नखेलाउनु गलत

नेपाली नजरमा
शनिबार, ०२ असार २०७५, ०० : ४६ नागरिक

विज्ञ नजर

फुटबल पक्कै पनि टिम खेल हो । मैदान उत्रिने ११ खेलाडीमात्र नभई बेन्चमा रहने वैकल्पिक खेलाडी, प्रशिक्षकहरु, व्यवस्थापक, समर्थकलगायतको नतिजामा भूमिका रहने गर्छ । सबै पक्षको सही तालमेल हुँदा मात्र फुटबलमा सुखद नतिजा हात पार्न सकिन्छ । आफूसँग भएका सबै पक्षको वारेमा राम्ररी बुझ्नुका साथै विपक्षीका कमजोरी र बलियो पक्ष जानेर प्रशिक्षकले उचित रणनीति बनाउन सके र मैदानमा त्यसको सही कार्यान्वयन भयो भनेमात्र जित निकाल्न सकिन्छ।

समग्र टिमको सामूहिक क्षमता र प्रयास नतिजामा भर पर्ने भए पनि कहिलेकाँकी एउटा खेलाडीको उपस्थितीले अझ बढि अर्थ राख्न सक्छ । विश्वकपको दोस्रो दिन समूह ‘ए’ को खेलमा इजिप्टका लागि लिभरपुलका फरवार्ड मोहम्मद सालाहको उपस्थिती त्यतिकै अर्थपूर्ण थियो । व्यावसायिक फुटबलमा वितेको सिजन सालाहका लागि असाधारण थियो । त्यसैले उनको उपस्थितीमात्रले पनि विपक्षीलाई कायल पार्न सक्थ्यो । तर इजिप्टका प्रशिक्षक हेक्टर कुपरले सालाहलाई पहिलो खेलमा खेलाउने जोखिम मोल्न चाहेनन् । च्याम्पियन्स लिग फाइनलमा घाइते भएका सालाह पूरा फिट भइसकेको समाचारहरु आएका थिए।

अघिल्लो दिन समूहको पहिलो खेलमा आयोजक रुसले एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियामाथि ५–० को फराकिलो जित हासिल गरिसकेको थियो । यस्तो अवस्थामा शुक्रबार उरुग्वे र इजिप्ट दुवैका लागि जितको आवस्यकता थियो । बराबरीले बरु नकआउट चरण पुग्ने सम्भावना धेरै कमजोर बनाउदैनथ्यो । तर पहिलो खेलको हारले यात्रा समूह चरणमै सिमित पार्न सक्थ्यो । त्यसैले उरुग्वेसँग खेल्दा कुपरमा हार्न नचाहने मानसिकता हावी भएर होला उनले रक्षात्मक फुटबललाई बढि महत्व दिए । सालाहको फिटनेस चासो बनिरहेको बेला उनले आक्रमणमा ध्यान दिनुभन्दा पनि उरुग्वेका इडिन्सन काभानी र लुइस स्वारेजजस्ता विश्वकै उत्कृष्ट फरवार्डहरुलाई रोक्नमा आफ्ना खेलाडीलाई केन्द्रित गराए । जसका कारण लगातार आक्रमणको मुभ बनाइरहेको उरुग्वेले समय सकिन एक मिनेट बाँकी रहँदा गोल गरेर आवस्यक तीन अंक निकाल्यो।

समग्रमा खेल प्रतिस्पर्धात्मक भए पनि उरुग्वेले इजिप्टको तुलनामा विपक्षी पोस्टमा बढि धावा बोल्यो, जुन अपेक्षित थियो । तर इजिप्टको जब्बर रक्षात्मक प्रदर्शनका कारण उरुग्वेका धेरै प्रयास सफल भएनन् । इजिप्टले पनि तीन÷चार वटा राम्रा मौका पाएको थियो । प्रहार गरेको पनि हो । तर गोलमा परिणत हुन सकेन । इजिप्टले अन्तिम समयसम्म उरुग्वेलाई गोल गर्न नदिँदा कुपरको रणनीति सफल हुने संकेत देखिएको थियो । तर त्योभन्दा पनि सालाहलाई मैदान उतार्ने जोखिम मोलेको भए उनको उपस्थितीमात्रले पनि विपक्षीलाई ठूलो चुनौती प्रस्तुत गर्ने थियो र इजिप्टले गोलका थप अवसर सिर्जना गर्न सक्थ्यो । सालाह हुँदा उरुग्वेले खुलेर ४–४–२ को रणनीतिमा सहज खेल्न पाउने थिएन।

उरुग्वेको टिममा काभानी र स्वारेजवाहेक अन्य खेलाडी औसत क्षमताका छन् । त्यसैले उनीहरुलाई अगाडि बढ्नका लागि यो खेलमा जित अत्यावस्यक थियो । यसअर्थमा अन्तिम समयमा जित निकाल्न सक्दा ओस्कार टाबारेजको टोलीलाई भाग्यमानी मान्नुपर्छ । समूहमा अबका दुई खेल रुस र साउदी अरेबियासँग भएकाले उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना यो जितले पक्का जस्तै गरेको छ । जवकि इजिप्टलाई भने आगामी दुई खेल जित्नैपर्ने दबाब भएको छ । आउँदा दुई खेलमा सालाह पूरा फिट भएर मैदान फर्किए जुन सम्भव पनि छ।

रुसले घरेलु मैदानमा अघिल्लो दिन साउदी अरेबियामाथि पाँच गोलको वर्षा गरे पनि इजिप्ट त्यसबाट आत्तिनु पर्ने देखिन्न । विपक्षी कमजोर हुँदा रुसको खेल सबैतिर मिलेजस्तो देखिए पनि इजिप्ट वा उरुग्वेसँग खेल्दा घरेलु टोलीमाथि त्यस्तो सुविधा हुने छैन।

१२ वर्षपछि विश्वकपमा फर्किएको साउदी अरेबियाले विपक्षीको गल्तीमा सुरुमै गोलका केही अवसर पाएको थियो । तर साउदीका फरवार्डमा ठूला खेलमा पाएको अवसर उपयोग गर्न सक्ने परिपक्वता देखिएन । जसका कारण टोली सुरुमै अग्रता लिने मौकाबाट चुक्यो । साउदीले सुरुमा पाएका अवसरमध्ये एउटालाईमात्र गोलमा परिणत गर्न सकेको भए वा रुसको पोस्टमा खतरनाक पारामा धावा बोल्न सकेको भए रुस दबाबमा आउथ्यो । तर रुसले १२ मिनेटमै अग्रता लियो । पहिलो हाफमै अर्को गोल गर्न सक्दा रुसलाई उदघाटन खेल आगामी खेलहरुका लागि राम्रो अभ्यास जस्तो बन्यो।

यसमा तपाईको मत