सालाहमाथिको निर्भरता फाइदा घाटा दुवै

नेपाली नजरमा
शुक्रबार, ०१ असार २०७५, १४ : ५७ नागरिक

विज्ञ नजर

विश्वकपको दोस्रो दिन विश्वका केही सर्वोत्कृष्ट खेलाडीहरू आफ्नो प्रभाव छोड्ने उद्देश्यका साथ मैदान उत्रिनेछन् । समूह ‘बी’ को दोस्रो खेलमा पोर्चुगल र स्पेन मैदान उत्रिँदा दुवै टिममा स्टार खेलाडीको भीड हुनेछ । शुक्रबार हुने तीन खेलमा ६ टिम मैदान उत्रिँदा पोर्चुगलका रोनाल्डो, इजिप्टका मोहम्म्द सालाह, उरुग्वेका इडिन्सन काभानी र लुइस स्वारेज तथा इरानका सरदार अजमौनमाथि विश्वभरका फुटबलप्रेमीको नजर केन्द्रित हुनेछ । यी खेलाडीको प्रदर्शनमा सम्बन्धित टिमको नतिजा धेरे हदसम्म निर्भर हुने भएकाले यिनीहरूले विपक्षीको निगरानी पनि बढी नै झेल्नुपर्ने हुन्छ।

विश्वकपमा कुनै पनि खेल सजिलो हुँदैन । त्यसमाथि पनि पहिलो खेलमा कुनै टिम अंक गुमाउन चाहन्न । शुक्रबार पहिलो खेलमा समूह ‘ए’ का इजिप्ट र उरुग्वेले एक–अर्कासँग खेल्नेछन् । रूस र साउदी अरेबियाबीचको नतिजा आइसकेको हुने भएकाले उनीहरूले त्यही अनुसार रणनीति बनाउनेछन् । १२ डिग्रीसम्म तापक्रम ओर्लिने इकाटेनबर्गमा हुने खेलमा उरुग्वे जितको प्रस्ट दाबेदार हो।

काभानी र स्वारेजजस्ता पछिल्लो १० वर्षदेखि अन्तर्राष्ट्रिय फुटबलमा स्थापित स्ट्राइकरहरु भएको कारण उरुग्वे विश्वकपको सबभन्दा धारिलो आक्रमण भएको टिम हो । युवा मिडफिल्डर नाथान नान्डेज पनि खेललाई जुनसुकै अवस्थामा नयाँ मोड दिन सक्ने खेलाडी हुन् । समग्रमा खेलाडीको व्यक्तिगत प्रोफाइल हेर्दा बलियो देखिए पनि उरुग्वेलाई बढी आत्मविश्वासले घात गर्न सक्छ । किनकि इजिप्ट स्तब्धतापूर्ण नतिजा निकाल्न सक्षम टिम हो।

२८ वर्षपछि विश्वकपमा फर्किएको अफ्रिकी महारथी इजिप्टसँग पनि मोहम्मद सालाहमा विश्व फुटबलमै राज गर्न सक्ने क्षमता छ । तर दुई साताअघिसम्म पनि चोटका कारण उनी समूह चरणका सुरुआती खेल खेल्न सक्नेमा दुविधा थियो । तथापि अहिले उनी उरुग्वेविरुद्ध खेल्ने व्यावहारिक सम्भावना देखिएको छ । चोटलाई पूर्ण रूपमा पन्छाउँदै स्वाभाविक फुटबल खेलेर इजिप्टलाई माथिल्लो चरणसम्म पु¥याउन सके सालाह विश्व वर्ष खेलाडीको दाबेदार बन्न सक्ने खेलाडी हुन्।

इजिप्टको टोलीमा सालाहको उपस्थिति जति फाइदाजनक हो, त्यतिकै त्यसले घाटा पुग्न पनि सक्छ । किनकी इजिप्ट सालाहमा धेरै बढी भर गर्ने टिम हो । तर जुन खेलाडीमा सबभन्दा बढी भर गरेको हो उही पूरा फिट नभएको अवस्थामा इजिप्टले कसरी खेल्ला भन्ने अनुमान कठिन छ।

पहिलो खेलमा दुवै टोली हार्न चाहँदैनन् । त्यसैले सालाहसमेत पूरा फिट नभएको अवस्थामा इजिप्टले स्वाभाविक खेलभन्दा पनि रक्षात्मक खेल्न सक्छ । जसको फाइदा उरुग्वेका छरिता फरवार्डहरूले उठाउन सक्छन्।

शुक्रबारै दोस्रो खेलमा अफ्रिकी टोली मोरक्को र एसियाको महारथी इरानले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ मा पोर्चुगल र स्पेन अत्यन्तै बलिया भएकाले मोरक्को र इरान दुवैको यात्रा पहिलो चरणमै सीमित हुन सक्छ । नकआउट चरण पुग्ने आशा जीवित राख्नका लागि पहिलो खेलमा जित दुवै टिमका लागि अपरिहार्य छ । सामान्य अवस्थामा एसियाली वा अफ्रिकन टिम पहिलो खेलमा पराजित भएपछि पुनरागमन गर्ने सम्भावना अत्यन्तै न्यून हुन्छ । तर पहिलो खेल जित्न सके पोर्चुगल र स्पेनबीचको खेल बराबरीमा सकिए समूहका दाबेदारमध्ये कुनै एक टिम आगामी खेलमा चिप्लिए नकआउट चरण पुग्ने सम्भावना रहन्छ । त्यसैले दुवै टिमले जित्नै पर्ने मानसिकतामा दबाबका साथ पहिलो खेल खेल्नेछन्।

अफ्रिकी टिममा एसियाली विपक्षीसँग खेल्दा सुपेरियरिटी कम्प्लेक्स हुन्छ । एसियनभन्दा हामी बलियो हौं भन्ने भावना अफ्रिकन टिममा हुन्छ । त्यसैले मोरक्कोमा जित्नै पर्ने दबाब इरानको भन्दा बढी हुन्छ । तर इरानले भने स्वाभाविक रूपमा आफ्नो खेल खेल्नेछ । इरानको टिममा सबै औसत स्तरका खेलाडी भए पनि टिम वर्क राम्रो छ । त्यसमा रूसकै रुबेन काजानबाट व्यावसायिक फुटबल खेल्ने २३ वर्षे फरवार्ड सरदार अजमौन असाधारण खेलाडी छन् । उनले रूसको अनुभव पहिलो खेलमा उपयोग गर्न सके भने इरानले यो खेल जित्न सक्छ।

यही समूहको अर्को खेल मध्यरातमा स्पेन र पोर्चुगलबीच हुनेछ । रूस विश्वकपमा उपाधि जित्न सक्ने केही टिमको सूची बनाउँदा स्पेन त्यसमा पर्ने मुख्य दाबेदार हो । रोनाल्डोजस्ता पछिल्लो १० वर्ष लगातार विश्व वर्ष खेलाडीको पुरस्कारमा चुनौती दिँदै पाँच पटक सफलता हासिल गर्ने खेलाडीको साथ रहेको पोर्चुगल पनि दुई वर्षअघि युरोपियन च्याम्पियनसिप जित्न सफल टिम हो । दुवै टिममा युरोपका शीर्ष क्लबबाट उच्च स्तरको फुटबल खेलेका खेलाडीहरूको साथ छ । तथापि स्पेन दाबेदार हो।

सर्जियो रामोस र जेरार्ड पिकेजस्ता खेलाडीको उपस्थितिमा स्पेनको रक्षापंक्ति यो विश्वकपको ग्रेटवाल हो भन्दा फरक पर्दैन । उनीहरूलाई छिचोलेर गोल गर्न रोनाल्डो, आन्द्रे गोमेजहरूलाई पनि सजिलो हुने छैन । तर विश्वकपमा पहिलो खेल खेल्नुभन्दा दुई दिनअघि स्पेनले प्रशिक्षक परिवर्तन गरेको छ । त्यसले स्पेनिस फुटबल टिममा आन्तरिक विवाद रहेको संकेत गर्छ । मैदानमा त्यो विवादको प्रभाव देखियो भने गाह्रो हुन्छ । चार वर्षअघि साबिक विजेता भएर ब्राजिल जाँदा पहिलो खेलमै नेदरल्यान्ड्ससँग ५–१ ले हारेपछि स्पेन पहिलो चरणबाटै घर फर्किएको थियो।

चार वर्षअघि पहिलो खेलमा भोगेको हारको झट्का स्पेनले अहिलेसम्म बिर्सन सकेको छैन । जसले गर्दा उनीहरूले पहिलो खेललाई निक्कै महत्व दिएका छन् । तर अन्तिम समयमा प्रशिक्षक परिवर्तनका कारण स्पेनलाई पहिलो खेल सजिलो हुने छैन । आन्द्रियास इनियस्टालाई बेन्चमा राखेर स्पेनले खेल सुरु गर्ला । त्यो गर्नु उनीहरूको हितमा हुनेछ।

दुवै टिमका खेलाडीहरू क्लब फुटबलमा सँगै वा प्रतिस्पर्धी भएर धेरै खेलिसकेकाले एक–अर्काको विशेषता र कमजोरीप्रति राम्ररी जानकार छन् । मोरक्को र इरानको खेलको नतिजा आइसकेको हुने भएकाले दुवै टिमले त्यहीअनुसार रणनीति बनाउनेछन् । पहिलो खेलमा दुवै जित्न चाहन्छन, त्योभन्दा बढी कोही हार्न चाहँदैन । त्यसैले खेलमा धेरै गोलको वर्षा नहुन सक्छ।

यसमा तपाईको मत