सम्हालिँदै ब्राजिल

नेपाली नजरमा
शुक्रबार, १५ असार २०७५, ११ : ०१ नागरिक

विश्व फुटबलमा ब्राजिल सधैंको ठूलो नाम हो । पेलेको पालादेखि, रोमारियो, रोनाल्डो, रोनाल्डिन्हो हुँदै नेइमारसम्म आइपुग्दा दक्षिण अमेरिकाको यो देशले विश्व फुटबललाई दर्जनौं असाधारण प्रतिभा दिएको छ।

ब्राजिल मात्र एउटा यस्तो अन्तर्राष्ट्रिय टिम हो, जहाँ सधैं एक वा त्योभन्दा बढी असाधारण प्रतिभाको साथ हुने गर्छ । त्यसैले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपका हरेक संस्करणमा ब्राजिल उपाधिको मुख्य दाबेदारको हैसियतमा रहने गर्छ।

पाँच पटक विश्वकपको उपाधि जितिसकेको टोली अघिल्लो संस्करण आफैंले आयोजना गर्दा सेमिफाइनलमा जर्मनीसँग ७–१ को अन्तरमा पराजित भएको थियो । तर त्यो विश्वकपमा पनि सेमिफाइनल सुरु हुनुअघिसम्म ब्राजिल मुख्य दाबेदारको हैसियतमा थियो । त्यो हार ब्राजिलको अन्तर्राष्ट्रिय फुटबल इतिहासमा निक्कै लज्जाजनक थियो । जसका कारण त्यसयता ब्राजिल निक्कै सचेत भएको देखिन्छ । त्यो हारपछि उनीहरूमा फुटबलको प्राविधिक अनुशासन देखिएको छ । रूसमा जारी विश्वकपमा पनि उनीहरूले प्रत्येक खेलमा सुधार गरेर त्यही प्रमाणित गरेका छन्।

पहिलो खेलमा स्विट्जरल्यान्डसँग बराबरी गरेको ब्राजिलले दोस्रो खेलमा कोस्टा रिकालाई हराउन अन्तिम समयसम्म जुझारुपूर्ण संघर्ष गर्यो । दोस्रो खेलसम्ममा पनि ब्राजिलको आगामी चरण यात्रा पक्का भइसकेको थिएन । तेस्रो खेलमा सर्बियाजस्तो जब्बर टिमसँग खेल्नु थियो । तर आगामी चरण प्रवेश गर्न एक अंक पर्याप्त हुने अवस्थामा दबाब नलिईकन स्वाभाविक खेल्दा ब्राजिल तीन अंक लिन सफल भयो।

ब्राजिलसँग खेल्दा सर्बिया एउटा पारम्परिक युरोपियन टिमले जस्तो खेलिरहेको थियो । तलैदेखि बिल्डअप गर्ने तर अपोनेन्टको पेनाल्टी एरियामा पुग्दा गोलको थ्रेट गर्न नसक्ने समस्या सर्बियाको प्रदर्शनमा देखियो । ठीक विपरीत ब्राजिलको आक्रमणमा सधैं डर हुन्थ्यो।

सर्बियालाई अर्को खेलको नतिजा वास्ता नगर्नका लागि जित्नैपर्ने अवस्था थियो । त्यो दबाबमा ब्राजिलसँग खेल्नु दबाबमाथि अर्को दबाब भयो । किनकि विश्वकपमा ब्राजिलसँग खेल्नु निक्कै दबाबमूलक कुरा हो । ब्राजिल २१औं पटक लगातार आएकाले उनीहरूसँग खेल्दा जुनसुकै टिममाथि पनि दबाब हुन्छ । विश्वकपको यो नियमित कुरा हो । चार वर्षअघि सेमिफाइनलमा मैदान छिर्नुअघिसम्म जर्मनीलाई पनि दबाब महसुस भएको हुनुपर्छ । सर्बियाको हकमा बुधबार त्यस्तै भयो।

यो विश्वकपमा सबै टिमले खेलाडी परिवर्तन गरेर खेल्दा प्रदर्शनमा उतारचढाव भइरहेको छ । ब्राजिलले भने खेलाडी परिवर्तनको दबाब भोग्नुपरेको छैन । कसैले टिम हारेर वा कसैले महत्वपूर्ण खेलाडीलाई आराम दिन अथवा कसैले पहेंलो कार्डका कारण खेलाडी परिवर्तन गरेका छन् । तर ब्राजिलले नियमित टिमलाई खेलाउन पाउँदा गल्ती सच्याउँदै जाने फाइदा पुगेको छ । त्यति हुँदाहुँदै पनि ब्राजिल यसपालि गोल गर्नेमा भने सोचेजस्तो सफलताबाट चुकिरहेको छ । पक्कै पनि उनीहरू आक्रमणमा जाँदा विपक्षीलाई थ्रेट हुन्छ । तर फरवार्डहरुबीच तालमेल विपक्षी गोलमाउथमा कमजोर भइरहेको छ । सेट पिसहरूमा पनि ब्राजिल त्यति प्रभावकारी बन्न सकेको छैन । त्यसलाई मेक्सिकोविरुद्धको आगामी चरणमा सुधार नगरे ब्राजिल लगातार दोस्रो पटक निराश हुन सक्छ।

ब्राजिली टिममा अहिले नामका हिसाबमा नेइमार सबभन्दा ठूला स्टार हुन् । तर ब्राजिलको टिम भनेको नेइमार मात्र होइन । उनीभन्दा फिलिप कौटिन्होको आक्रमण यसपालि धारिलो देखिएको छ । ग्याब्रिअल जेजुस पनि अग्रपंक्तिमा राम्ररी छाएका छन् । मिडफिल्डमा विलियन तथा रक्षापंक्तिमा कप्तान थियागो सिल्भा र मार्सेलो ब्राजिली टिमका मुख्य खेलाडी हुन् । २१औं सहभागितामा छैटौं पटक उपाधि जित्ने हो भने ब्राजिलको टिममा यी खेलाडीको प्रदर्शन स्वाभाविक वा त्योभन्दा असाधारण हुनैपर्छ । त्यसैले बुधबार १० मिनेटमै मार्सेलो घाइते भएर मैदान छोड्नु ब्राजिलका लागि महँगो हुन सक्छ । आगामी चरणमा मार्सेलोजस्ता खेलाडीको अभाव खट्किन सक्छ।

समूहको अर्को खेलमा स्विट्जरल्यान्डलाई अर्को चरण पुग्न कम्तीमा १ अंक आवश्यक थियो । कोस्टा रिका भने प्रतियोगिताबाट बाहिरिइसकेको थियो । त्यसैले २–२ को नतिजाले दुवैको उद्देश्य पूरा भयो । कोस्टा रिकाका लागि बुधबारको खेल विश्वकपको सुखद अन्त्यका लागि मात्र महत्वपूर्ण थियो।

जारी विश्वकपमा त्यसअघिसम्म गोल गर्न नसक्ने एक्लो टोली कोस्टा रिका थियो । उनीहरूले गोल गर्न नसक्ने एक्लो टोली नबन्ने र कम्तीमा एक अंक लिएर सान्त्वना बटुल्ने लक्ष्य पूरा गरे । स्विट्जरल्यान्डले पनि एक अंक लिएर आगामी चरणको यात्रा पक्का गर्यो । तर दुई महत्वपूर्ण रक्षक कप्तान स्टेफन लेस्टाइनर र रक्षक फाबियन स्कारले पहेंलो कार्ड सामना गर्नु दुःखद पक्ष रह्यो । यसअघि नै एक–एक पहेंलो कार्ड सामना गरिसकेका उनीहरूले स्विडेनविरुद्धको अन्तिम १६ को खेल प्रतिबन्धमा गुमाउनेछन्।
 

यसमा तपाईको मत