सन ह्युङ मिन (दक्षिण कोरिया)

फिचर खेलाडी
मङ्गलबार, २२ जेठ २०७५, ११ : ३० नागरिक

नाम : सन ह्युन मिन
जन्म : जुलाई ८, १९९२ (चुनछेओन)
क्लब : ह्यामबर्गर एसभी, बायर लेभरकुसन, टोटेनह्याम

ह्यामबर्गर एसभीबाट व्यावसायिक खेलाडीका रुपमा खारिएका सनले २०१० मा जर्मन बुन्डेसलिगामा डेब्यु गरेका थिए । २०१३ मा बायर लेभरकुसनमा क्लबको कीर्तिमानी सरुवा रकम १ करोड युरोमा सरुवा भएका उनी हाल इङलिस प्रिमियर लिगको टोली टोटेनह्यामबाट खेल्छन्।

२०१५ मा लेभरकुसनबाट टोटेनह्याम सरुवा हुँदा उनी सर्बाधिक रकममा सरुवा हुने एसियाली खेलाडीको कीर्तिमान बनाउन सफल भएका थिए । उनले त्यो बेला २ करोड २० लाख युरोमा जर्मनीबाट लन्डनको बाटो तताएका थिए।

टोटेनह्याम आएयता उनी प्रिमियर लिगको इतिहासमै सबभन्दा बढि गोल गर्ने एसियाली खेलाडीका रुपमा स्थापित भइसकेका छन् । टोटेनह्यामबाट प्रिमियर लिग तथा च्याम्पियन्स लिगमा पहिलो रोजाईबाट खेल्दै आएका उनले क्लबका लागि कुल ९९ खेलमा ३० गोल गरिसकेका छन्।

रुस विश्वकपका लागि तयार दक्षिण कोरियाको टोलीमा आक्रमणको नेतृत्व सनकै काँधमा हुनेछ । २०१० मा अन्तर्राष्ट्रिय डेब्यु गरेका उनले दक्षिण कोरियाको टिमबाट २०१४ को विश्वकप तथा २०११ र २०१५ को एसिनय कपमा मुख्य खेलाडीका रुपमा खेलेका थिए । राष्ट्रिय टोलीका लागि आठ वर्षको करियरमा उनले कुल ६४ खेल खेल्दै २१ गोल गरिसकेका छन्।

यसमा तपाईको मत