दक्षिण कोरियाको आश्चर्यजनक प्रदर्शन

शनिबार, १९ जेठ २०७५, ११ : ३३ नागरिक

दक्षिण कोरिया र जापानले संयुक्त आयोजना गरेको विश्वकप २००२ ले फुटबलको परिवर्तित विश्वलाई प्रतिबिम्बित गर्याे। एसियाली भूमिमा भएको पहिलो विश्वकपमा पुराना महारथीहरू चाँडै ढल्न थाले । लगातार आश्चर्यजनक नतिजाका कारण क्वार्टरफाइनलमा ५ फरक महादेशका टोली प्रतिस्पर्धाका लागि उत्रिए । तर अन्तमा भने विश्व फुटबलका परिचित दुई नाम ब्राजिल र जर्मनी उपाधि भिडन्तका लागि लायक भए । जहाँ दक्षिण अमेरिकी महारथी ब्राजिलले बाजी मार्दै पाँचौंपल्ट विश्व च्याम्पियन बनेर कीर्तिमान कायम गर्याे। 

चार वर्षअघि फ्रान्ससँग सम्पन्न फाइनलमा ओइलाएका ब्राजिली रोनाल्डो यसपालि भने लुइस फिलिप स्कोलारीको टोलीमा नायकको भूमिकामा देखिए । योकोहामामा सम्पन्न फाइनलमा जर्मनीलाई २–० ले हराएर पाँचौंपल्ट उपाधि उचाल्दा ब्राजिलबाट दुवै गोल रोनाल्डोले गरे । उनले विश्वकपको यो संस्करणमा सर्वाधिक ८ गोल गरेका थिए । १९७० को मेक्सिको विश्वकपमा ग्रेड मुलरले १० गोल गरेबाहेक विश्वकपको एकै संस्करणमा सर्वाधिक गोल गर्ने कीर्तिमान रोनाल्डोकै नाममा छ।

उद्घाटन खेलमै प्रतियोगितामा पहिलोपल्ट सहभागिता जनाएको अफ्रिकी टोली सेनेगलले साबिक विजेता फ्रान्सलाई पराजित गरेर सनसनी मच्चाएको थियो । सोलमा सम्पन्न खेलमा पापे बौवा डिउफले गरेको एउटै गोल ४ वर्षअगाडिको विजेतालाई स्तब्ध पार्न पर्याप्त रह्यो । फ्रान्सले पहिलो खेलको त्यो पराजय समूह चरणका बाँकी दुई खेलमा पनि परिपूर्ति गर्न सकेन र चाँडै घर फर्कियो । एउटै गोल गर्न नसकेको फ्रान्स समूह ‘ए’ को पुछारमा रहेर यात्रा टुंग्याउन बाध्य भयो । फ्रान्सलाई निराश पारेको सेनेगल भने क्वार्टरफाइनल पुग्न सफल भयो । दोस्रो चरणमा स्विडेनलाई गोल्डेन गोलमा पराजित गरेको टोली क्वार्टरफाइनलमा भने टर्कीसँग पराजित भयो।

आश्चर्यजनक नतिजा ल्याएर सनसनी मच्चाउन अमेरिका पनि सफल भयो । उच्च अपेक्षित पोर्चुगललाई ३–२ ले हराएर अमेरिकाले एसियाली विश्वकप यात्रा सुरु गरेको थियो । पोर्चुगलले दोस्रो खेलमा पोल्यान्डलाई पराजित गरे पनि समूह ‘डी’ को अर्को आश्चर्यजनक टोली आयोजक दक्षिण कोरियासँग पराजय बेहोर्याे । जसका कारण युरोपबाट दोस्रो महारथी समूह चरणबाटै घर फर्कियो।

नाइजेरियासँगै अर्जेन्टिना पनि समूह चरणबाटै बाहिरिनु प्रतियोगिताको अर्को अनपेक्षित नतिजा थियो । समूह ‘एफ’ को पहिलो खेलमा नाइजेरियालाई पराजित गरे पनि मार्सेल बिइल्साको टोली सापोरोमा इङ्ल्यान्डसँग १–० को नतिजामा पराजित भयो । ४ वर्षअघि फ्रान्समा दुई टिमको भेट हुँदा रातो कार्ड पाएका इङ्ल्यान्डका कप्तान डेविड बेकह्यामले खेलको एक मात्र गोल पेनाल्टीमा गरे । तेस्रो खेलमा स्विडेनसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने अर्को महारथी बन्यो।

नकआउट चरणमा समूहको तुलनामा अपेक्षाअनुरुपकै नतिजा निस्किए पनि प्रतियोगिताको सहआयोजक दक्षिण कोरियाले भने आश्चर्यजनक नतिजा शृंखलालाई निरन्तरता दिइरह्यो । अन्तिम १६ को खेलमा गुस हिडिंकको टोलीले उत्कृष्ट पुनरागमन जनाउँदै इटालीलाई पराजित गर्याे। आन जुङ ह्वानले अतिरिक्त समयमा गरेको गोल्डेन गोल कोरियालाई क्वार्टरफाइनल पुग्न पर्याप्त भयो । सेमिफाइनलसम्म सफल यात्रा गरेको टोलीले अन्तिम आठमा अर्को युरोपेली महारथी स्पेनलाई पेनाल्टी सुटआउटमा हरायो । सेमिफाइनलमा जर्मनीसँग १–० ले पराजित भएपछि एसियाली टोलीको उत्साहमा पूर्णविराम लाग्यो । घरेलु समर्थकको अपार साथमा एसियाकै सबैभन्दा सफल टोली बन्न दक्षिण कोरिया सफल भयो । कोरियाको खेल हुँदा समुद्री किनारका साथै सम्पूर्ण कोरिया आफ्नो जर्सीझै रातो रंगमा रंगिएको हुन्थ्यो।

विश्वकपको सेमिफाइनलसम्म पुग्ने दक्षिण कोरिया एक मात्र एसियाली टिम हो । उता घरेलु समर्थकको हौसलामा अर्को सहआयोजक जापानले पनि दोस्रो चरणको यात्रा तय गर्याे। विश्वकपमा पहिलो विजय पाउँदा रूसलाई रोकेपछि ट्युनिसियामाथि पनि जित दर्ता गराएर जापानले समूह ‘एच’ बाट शीर्ष टोली हुँदै अन्तिम १६ मा स्थान सुरक्षित ग¥यो । तर जापानको रोमाञ्चक यात्रा अन्तिम १६ मा प्रभावशाली टर्कीसँग पराजित भएपछि समाप्त भयो । टर्की १९५४ पछि पहिलोपल्ट विश्वकपमा सहभागी भएको हो । कोस्टारिकालाई गोलअन्तरमा पछाडि पारेर दोस्रो चरण प्रवेश गरेको टोलीले प्रतियोगिताकै तेस्रो स्थान हासिल गर्याे। इलहान मान्सिजको गोल्डेन गोलमा जापानलाई पराजित गरेपछि टर्कीले सेनेगललाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । सेमिफाइनलमा भने टोली ब्राजिलसँग १–० को साँघुरो अन्तरमा पराजित भयो । ब्राजिलले उत्कृष्ट पुनरागमन जनाउँदै क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराएर अन्तिम चारको स्थान पक्का गरेको थियो।

विश्व फुटबलको परम्परागत शक्ति जर्मनी प्रतियोगिता सुरु हुनुपूर्व थोरैको नजरमा मात्र दाबेदार हैसियतमा थियो । एसियाली विश्वकपका लागि स्थान सुरक्षित गर्न समेत छनोटमा इङ्ल्यान्डसँग ५–१ को फराकिलो हार बेहोरेपछि जर्मनीले प्लेअफ सहारा लिनुपर्याे ।  तर नकआउट चरणमा लगातार १–० को अन्तरमा पाएका तीन जितले टोलीलाई सातौंपल्ट विश्वकपको फाइनल पुर्यायो । अमेरिकाविरुद्ध क्वार्टर र दक्षिण कोरियाविरुद्ध सेमिफाइनलमा जर्मनीका लागि माइकल बालाकका गोल र ओलिभर काहानको उत्कृष्ट बचाउ मात्र जितका आधार थिए । तर दक्षिण कोरियाविरुद्धको सेमिफाइनलमा दोस्रो पहेँलो कार्ड पाएका कारण प्रेरणादायी खेलाडी माइकल बालाकको साथ जर्मनीलाई फाइनलमा रहेन।

जर्मनीका लागि फाइनलमा संयोगले पनि साथ दिएन । टोलीको फाइनलयात्राका मुख्य दुई नायकमध्ये बालाक प्रतिबन्धित थिए भने गोल्डेन बलसमेत जितेका गोलकिपर काहानको प्रदर्शन फाइनलमा पछिल्ला खेलझैं रहन सकेन । योकोहामामा भएको फाइनलमा काहानकै गल्तीमा रोनाल्डोले पहिलो गोल गरे । महिनाभर चलेको फुटबल नाटकमा थुप्रै आश्चर्यजनक नतिजा आए पनि अन्तमा फुटबलका चिरपरिचित प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा भयो । ब्राजिलले पाँचौंपल्ट विश्वकप जितेर प्रतियोगिता आयोजना गर्ने सबै महादेशमा उपाधि जित्ने कीर्तिमानसमेत कायम गर्याे। 

इतिहासकाे पानाबाट
सन् २००२, दक्षिण कोरिया–जापान (१७औं विश्वकप)

मे ३१ देखि जुन ३० सम्म
सहभागी टोली : ३२

फाइनल : २००२ जुन ३०
खेल : ६४

कुल गोल : १६१ (प्रतिखेल २.५ को औसतमा)
दर्शक : २७०५१९७ (प्रतिखेल ४२२६८ को औसतमा)

विजेता : ब्राजिल
उपविजेता : जर्मनी

तेस्रो : टर्की
चौथो : दक्षिण कोरिया

गोल्डेन बल : ओलिभर काहान (जर्मनी)

गोल्डेन बुट : रोनाल्डो (ब्राजिल)

उत्कृष्ट युवा खेलाडी : लन्डन डोनोभान (अमेरिका)

फिफा फेयर प्ले : बेल्जियम

यसमा तपाईको मत