स्विट्जरल्यान्ड कमजोर थिएन

नेपाली नजरमा
मङ्गलबार, ०५ असार २०७५, ०३ : ५८ नागरिक

सञ्जिव मिश्र
विज्ञ नजर

ब्राजिल खेलेपछि जित्नैपर्छ भन्ने आम मानसिकता पाइन्छ। पाँच पटकको विश्वकप विजेता र दुई पटकको उपविजेता, चार पटक सेमिफाइनलसम्म पुगेको र सबै २१ संस्करणमा सहभागी भएका कारण ब्राजिलबाट विश्वकपमा ठूलो आशा राखिनु स्वाभाविक हो। तर स्विट्जरल्यान्डलाई पनि अन्तर्राष्ट्रिय फुटबलमा कमजोर आँक्न सकिन्न। फिफाको विश्व वरीयतामा ब्राजिलभन्दा स्विट्जरल्यान्ड माथि छ। राम्रो खेलेकै कारण स्विट्जरल्यान्डको वरीयता माथि भएको हो। तथापि आइतबारको खेलमा अनुभव, खेलाडीको व्यक्तिगत प्रोफाइल र इतिहासका कारण ब्राजिल दाबेदार र स्विट्जरल्यान्ड अन्डरडग थिए।

स्विट्जरल्यान्डले नेइमारलाई रोकेर आफू अवसर सिर्जना गर्ने योजनामा खेलेको थियो। जसमा सफल भयो। ब्राजिल पनि नेइमारमाथि बढी निर्भरजस्तो देखिँदा उनीहरू दाबेदारको छविमा पूर्ण रूपमा न्याय गर्न सफल भएनन् । थियागो सिल्भाबाहेक ब्राजिलको रक्षापंक्तिमा मार्सेलो, मिरान्डा र ड्यानिलोमा परिपक्वता देखिएन। जसका कारण लिएको अग्रता जोगाउन उनीहरू सफल भएनन्।

ब्राजिलले तीव्र गतिमा खेल्दा स्विट्जरल्यान्डले पनि त्यही पेसमा खेल्यो। उनीहरू पनि आक्रमणमा गइरहेका थिए। ब्राजिलले आक्रामक सोचमा खेल्दा विपक्षीको क्षेत्रमा बढी ध्यान केन्द्रित ग-यो। स्विट्जरल्यान्डले भने आफ्नो क्षेत्र सुरक्षित राख्दै आक्रमणमा जाँदा सन्तुलित फुटबल खेल्यो। समूहमा कोस्टा रिका र सर्बिया भएकाले आगामी खेल स्तब्धतापूर्ण नतिजाको सिकार नभए ब्राजिल र स्विट्जरल्यान्डका लागि नकआउट चरण प्रवेश खास कठिन हुने छैन। तथापि स्विट्जरल्यान्डका लागि भने आइतबारको एक अंक बोनस मान्नुपर्छ।

सोमबार समूह ‘एफ’ मा स्विडेनले दक्षिण कोरियालाई हराउँदा साबिक विजेता जर्मनीमाथि दबाब बढेको छ। अन्तर्राष्ट्रिय फुटबलमा एसियाली टिमलाई ह्विपिङ ब्वाइजको रूपमा लिइने र साउदी अरेबिया रूससँग ५–० ले हारेको अवस्थामा दक्षिण कोरिया सोमबार धेरै सचेत देखिएको थियो। दक्षिण कोरियामा बरु बराबरी गर्ने तर नहार्ने मानसिकता देखियो। स्विडेनसँग अंक खोस्न सकेको भए नकआउट चरण पुग्ने सम्भावना जीवित रहने थियो। तर जर्मनी र मेक्सिकोजस्ता टिम रहेको समूहमा दक्षिण कोरियाको सुरुआत सहज हुन सकेन।

स्विडेनले पेनाल्टी नपाएको भए ज्लाटान इब्राहिमोभिच नहुनाको मूल्य चुकाउने थियो। ज्लाटानले ३४ वर्षको उमेरसम्म जुन स्तरमा आक्रमण बुन्ने गरेका थिए, त्यसको स्थानान्तरण अरूले गर्न सकेनन्। ज्लाटानकै नामले पनि अन्तर्राष्ट्रिय फुटबलमा पछिल्लो समय स्विडेनको परिचय स्थापित भएको थियो। उनको स्थान पूर्ति गर्न नयाँ आउने खेलाडीलाई जति क्षमता भए पनि गाह्रो हुन्छ । तर भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रविधिको फाइदा स्विडेनलाई पुग्यो। भिएआरबाट पेनाल्टी नपाएको भए नतिजा यस्तो हुँदैनथ्यो।

दक्षिण कोरिया १९८६ यता सधैँ विश्वकपमा छनोट हुँदै आएको टिम हो। २००२ मा सेमिफाइनल पुग्नुबाहेक अन्य सहभागितामा उनीहरूले लामो यात्रा गर्न सकेका छैनन्। तर सधैं विश्वकपमा एकरूपको औसत प्रदर्शन गरेर उनीहरूले एसियाली समर्थकलाई निराश पनि पारेका छैनन्। स्विडेनविरुद्ध दक्षिण कोरियाले नतिजा निकाल्न मात्र नसकेको हो। प्रदर्शनमा भने निराश हुनुपर्ने कारण छैन।

छनोट चरणमा दक्षिण कोरियाको प्रदर्शन खास सन्तोषजनक थिएन। तेस्रो चरणको छनोट प्रतियोगिताअन्तर्गत १० खेलमा ४ मात्र जित हासिल गरेको टोली समूह ‘ए’ बाट इरानपछि दोस्रो भएर रूसको टिकट काट्न सफल भएको थियो। छनोट चरणमा थुप्रै उतारचढाव बेहोर्नुका साथै अन्तिम समयमा प्रशिक्षक परिवर्तनलगायतका कारणले पनि दक्षिण कोरियाबाट यसपालि कठिन समूहका कारण धेरै ठूलो आशा गरिएको थिएन। तर उनीहरूले आत्मविश्वासी प्रदर्शन गरेर आफ्नो छविमा दाग लाग्न दिएनन्।

मंगलबारसम्ममा यो विश्वकपका सबै सहभागी ३२ टिमले एक–एक खेल खेलिसकेका हुनेछन्। एकरूपको प्रदर्शन गरिरहेको अर्को एसियाली टिम जापानले कोलम्बियासँग खेल्नेछ भने अर्को खेलमा पोल्यान्ड र सेनेगल आमनेसामने हुनेछन्। कोलम्बिया हामेस रोड्रिग्वेजको प्रेरणामा पछिल्ला केही वर्ष राम्रो प्रदर्शन गरिरहेको टिम हो। दक्षिण अमेरिकाको टिम कोलम्बियाले १९९० पछि अहिले राम्रो फुटबल खेलिरहेको छ। पछिल्लो संस्करणमा पनि कोलम्बियाले राम्रो प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो। त्यसैले जापानमाथि कोलम्बियाले स्पष्ट जित निकाल्ने अनुमान गर्न सकिन्छ।

सेनेगल भनेपछि विश्वकप २००२ को उद्घाटन खेलमा साबिक विजेता फ्रान्समाथि जित हासिल गरेको खेल सबैको स्मरणमा आउँछ। यसपालि पनि उनीहरूसँग साडियो मानेजस्ता प्रतिभावान् खेलाडी छन्। त्यसैले २००२ को जोस र इतिहास नदोहोरिएला भन्न सकिन्न। तर पोल्यान्डको टिममा पनि जर्मन बुन्डेसलिगाको खेलमा ९ मिनेटको बीचमा ५ गोल गर्ने उत्कृष्ट फरवार्ड रोबर्ट लेवान्डोवस्कीको साथ छ। दुवै टिममा बाँकी खेलाडी औसत क्षमताका छन्।

औसत क्षमताका खेलाडीको टिममा विश्वस्तरीय स्ट्राइकर हुँदा नतिजा हात पार्न सजिलो हुन्छ। दुवै टिममा त्यस्ता एक-एक फरवार्ड छन्। विश्वकपमा युरोपको प्रभाव सधैँ रहँदै आएको छ। त्यसमाथि पछिल्लो समय पोल्यान्डले राम्रो नतिजा ल्याइरहेकाले समूह चरणको पहिलो खेलमा पोल्यान्डलाई दाबेदार मान्न सकिन्छ। सेनेगलले अफ्रिकी जोस मैदानमा निकाल्न सके बराबरीसम्म गर्न सक्ला।

 

यसमा तपाईको मत