टेओफिलो कुबिलास (पेरू)

फिचर खेलाडी
आइतबार, २० जेठ २०७५, १५ : ०८ नागरिक

आक्रामक मिडफिल्डरको भूमिकामा खेल्ने कुबिलासलाई अन्तर्राष्ट्रिय फुटबल इतिहास तथा तथ्य महासंघले पेरूको इतिहासकै सबभन्दा महान् खेलाडीको दर्जा दिइएको छ।

प्राविधिक खेल, कडा सुटिङ र फ्रि–किक प्रहार गर्ने प्रभावकारी शैलीका लागि परिचित कुबिलास विश्वकै सर्वोत्कृष्ट ५० खेलाडीको सूचीमा पनि समेटिएका थिए । उनी १९७२ मा दक्षिण अमेरिकाकै सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए । २००४ मा पेलेले उनलाई विश्व फुटबल इतिहासकै सर्वकालीन १ सय महान् हस्तीको सूचीमा समेटेका थिए भने २००८ मा ब्राजिलले विश्वकप जितेको शतवार्षिकी मनाउने क्रममा दक्षिण अमेरिकाबाट पछिल्ला ५० वर्ष फुटबल खेल्नेमध्येबाट बनाएको अलस्टार टिममा पहिलो रोजाइमा राखिएको थियो।

१९७५ पेरूले कोपा अमेरिका जित्दाका मुख्य खेलाडी कुबिलासकै प्रेरणामा टोली १९७० र १९७८ विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको थियो । उनी विश्वकपका दुई फरक संस्करणमा पाँच गोल गर्ने इतिहासकै पहिलो खेलाडी हुन् । १९७० देखि १९८२ सम्मका तीन विश्वकपमा पेरूका लागि खेल्ने क्रममा उनले १९७० र १९७८ मा पाँच÷पाँच गोल गरेका थिए । उनीबाहेक विश्वकपका दुई फरक संस्करणमा पाँच वा पाँचभन्दा बढी गोल गर्ने खेलाडी जर्मनीका मिरोस्लाभ क्लोज र थोमस मुलर हुन्।

१९७४ को विश्वकपमा पेरू छनोट हुन सकेन । तर १९७५ मा भएको कोपा अमेरिकामा कुबिलास प्रेरित टोलीले उपाधि जितेको थियो । पेरूको फुटबलमा १९३० र १९७० को दशकलाई स्वर्णिम कालका रूपमा लिइन्छ । पछिल्लो समयलाई स्वर्णिम काल बनाउने उपलब्धिमा व्यक्तिगत रूपमा सबभन्दा बढी योगदान गर्ने खेलाडी कुबिलास हुन्।

यसमा तपाईको मत