थियागो डा सिल्भा (ब्राजिल)

फिचर खेलाडी
शुक्रबार, २२ असार २०७५, ०८ : ३८ नागरिक

नामः थियागो डा सिल्भा (ब्राजिल)
जन्मः २२ सेप्टेम्बर, १९८४,रियो दि जेनेरियो
पोजिसनः रक्षक
क्लबः फ्लुमेनेसी, बार्सिलोना, आरएस फुटेबल, युभेन्टस, पोर्टो बी, ड्यानामो मस्को, एसी मिलान, पेरिस सेन्ट जर्मन

रूसमा जारी विश्वकपमा ब्राजिलले क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा मात्र एक गोल खाँदै अफ्नो रक्षापंक्ति बलियो भएको प्रस्ट पारिसकेको छ। छैटौं विश्वकप उपाधिको लक्ष्यमा रहेको ब्राजिली टोलीको बलियो रक्षापंक्तिको नेतृत्व गरेका छन् थियागो सिल्भाले। सिल्भाले समूहचरणअन्तर्गत सर्बियाविरुद्ध टोलीका लागि दोस्रो गोल गरेका थिए।

१४ वर्षको उमेरमा ब्राजिली क्लब फ्लुमेनेसीको युथ एकेडेमीमा भर्ना भएका सिल्भा २००० मा स्पेनिस ला लिगा क्लब बार्सिलोनाको युथ एकेडेमीमा भर्ना भए। सिल्भा २००२ मा ब्राजिलको तेस्रो श्रेणीको क्लब आरएस फुटेबलमा आबद्ध भएका थिए। उनले आरएस फुटेबलमा २ सिजन बिताउँदै २५ खेलमा २ गोल गरे। २००३ मा इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्समा आबद्ध भएका सिल्भाले क्लबमा एक सिजन बिताउँदै २८ खेलमा ३ गोल गरे। २००४ मा पोर्टो ‘बी’ मा गएका सिल्भा त्यसको एक वर्षपछि रूसी क्लब ड्यानामो मस्कोमा एक सिजन लोनमा गए पनि उनले खेल्ने अवसर भने पाएनन्।

सिल्भा २००६ मा फ्लुमेनेसी फर्किए। उनले फ्लुमेनेसीमा थप तीन सिजन बिताउँदै ८१ खेलमा ६ गोल गरे। २००९ मा सिरी ‘ए’ क्लब एसी मिलानमा आबद्ध भएका सिल्भाले क्लबबाट ९३ खेलमा ५ गोल गरे। २०१२ मा पेरिस सेन्ट जर्मनमा आबद्ध भएका सिल्भाले क्लबका लागि १ सय ९८ खेल खेल्दै ९ गोल गरिसकेका छन्। २००७ को कोपा अमेरिकाका लाघि घोषित टोलीमा स्थान बनाउन सफल भए पनि सिल्भाले २००८ मा सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलबाट मात्र ब्राजिली टोलीबाट डेब्यु गरेका थिए। उनले ७५ खेलमा ६ गोल गरिसकेका छन्।

यसमा तपाईको मत