थोमस मुलर (जर्मनी)

फिचर खेलाडी
मङ्गलबार, २२ जेठ २०७५, १३ : २३ नागरिक

नामः थोमस मुलर

जन्मः १९८९ सेप्टेम्बर १३, वेलहेम

क्लबः टिएसभी पल, बायर्न म्युनिख

फुटबलमा जर्मनीले बनाएको विशेषता हो, संगठित प्रदर्शन र सशक्त आक्रमण । जर्मनीको त्यही आक्रामा पंक्तिको नेतृत्व गर्ने खेलाडी हुन्, थोमस मुलर।

जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख र जर्मनी राष्ट्रिय टोलीका उपकप्तान मुलरलाई रोक्न विपक्षी रक्षकका लागि सधैँ टाउको दुखाइ हुने गर्छ । अग्रपंक्तिको जुनसुकै पोजिसनमा खेल्न सक्ने मुलर मिडफिल्डरमा उत्तिकै प्रभावशाली प्रदर्शन गर्न सक्छन्।

पश्चिम जर्मनीको वेलहेममा जन्मिएका मुलरले युवाअवस्था टिएसभी पलमा बिताए । १० वर्षको उमेरमा जन्मथलोबाट ५० किलोमिटरको दूरीमा रहेको बुन्डेसलिगा क्लब बायर्न म्युनिखमा भर्ना भएका थिए । २००० मुलर म्युनिखसँग अनुबन्ध भएका थिए।

२००७ मा यु–१९ बुन्डेलिगामा म्युनिख उपविजेता बन्यो । त्यसमा मुलरले ३८ मध्ये ३२ खेल खेले भने १५ गोल आफ्नो नाममा लेखाए । २००९ मा मुलरले सिनियर टोलीबाट खेल्नका लागि क्लबसँग सम्झैता गरे । त्यसपछि उनी निरन्तर म्युनिखबाटै खेलिरहेका छन्।

जर्मनीको विभिन्न उमेरसमूहबाट खेलेका मुलर २०१० को विश्वकपका लागि सिनियर टोलीमा पर्न सफल भएका थिए । २०१० को विश्वकपमा जर्मनीले तेस्रो स्थानमा चित्त बुझाउँदा मुलर उत्कृष्ट युवा खेलाडी घोषित भए । त्यही विश्वकपमा मुलरले उरुग्वेका डिएगो फोर्लान, नेदरल्यान्ड्सका वेस्ले स्नाइडर र स्पेनका डेभिड भियासँग ‘गोल्डेन बुट’ पनि जितेका थिए।

सबैले प्रतियोगितामा ५ गोल गरेका थिए । २०१४ को विश्वकप जित्दा मुलर टोलीको महत्वपूर्ण सदस्य थिए । त्यति बेला पनि ५ गोल गरेका मुलरले ‘सिल्भर बुट’ जितेका थिए भने फिफाको ‘वल्र्डकप अल स्टार ११’ टोलीमा परेका थिए।

यसमा तपाईको मत