टिमो वेर्नेर (जर्मनी)

फिचर खेलाडी
आइतबार, ०३ असार २०७५, ०३ : ३८ नागरिक

नाम : टिमो वेर्नेर

जन्म : ६ मार्च, १९९६ (स्टुटगार्ट)

क्लब : भिएफबी स्टुटगार्ट, आरबी लिपजिग

गृहनगर स्टुटगार्टको क्लब भिएफबी स्टुटगार्टबाट २०१३ मा बुन्डेसलिगा करियर सुरु गरेका उनी क्लबका लागि सबभन्दा सानो उमेरमा गोल गर्ने खेलाडी हुन्।

२०१६ मा आरबी लिपजिग सरुवा हुनुअघि वेर्नेरले स्टुटगार्टबाट १ सय खेलको कोसेढुंगा पार गरेका थिए । जर्मन बुन्डेसलिगामा १ सय र १ सय ५० खेलको कोसेढुंगा छुने सबभन्दा कान्छो खेलाडीका रूपमा पनि उनको नाममा कीर्तिमान छ । जर्मनीको शीर्ष डिभिजनको एकै खेलमा दुई गोल गर्ने सबभन्दा कान्छो खेलाडी पनि उनी नै हुन्।

जर्मनीका लागि विभिन्न उमेरसमूहका प्रतियोगिताहरूमा ३४ गोल गरेका वेर्नेरले गत वर्ष सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । उनकै प्रेरणामा जर्मनीले गतवर्ष रूसमा सम्पन्न अन्तरमहादेशीय कपको उपाधिमा कब्जा जमाएको थियो।

त्यस क्रममा तीन गोल गरेका वेर्नेर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बुट जित्न सफल भएका थिए । जर्मनीका लागि कुल १४ खेलमा ८ गोल गरिसकेका २२ वर्षे फरवार्ड वेर्नेर जोचिम लोउको टोलीले रूसमा उपाधि रक्षा गर्ने अभियानका मुख्य हतियार हुन् । बितेको सिजन उच्च फर्ममा रहेका उनले क्लबका लागि कुल ४५ खेल खेल्दै २१ गोल गरेका थिए।

 

यसमा तपाईको मत