उरुग्वेलाई मनोवैज्ञानिक दबाब

नेपाली नजरमा
शनिबार, २३ असार २०७५, ०२ : ३१ नागरिक

विश्वकपजस्तो ठूलो प्रतियोगिताको क्वार्टरफाइनलमा जुन टोलीले दबाब चिरेर खेल्न सक्छ, जित उसैको हुन्छ । शुक्रबारको खेलमा उरुग्वेले फ्रान्सविरुद्ध खेल्दा दबाबमुक्त भएर खेलेको देखिएन । सायद स्टार खेलाडी इडिसन काभानी टोलीमा नहुँदा उरुग्वेलाई मनोवैज्ञानिक दबाब परेको हुन सक्छ।

क्वार्टरफाइनलसम्मको प्रदर्शन हेर्दा उरुग्वेको रक्षापंक्ति सशक्त देखिएको थियो । तर, फ्रान्सविरुद्धको खेल हेर्दा दक्षिण अमेरिकी टोली उरुग्वेले यसअघि कठिन प्रतिद्वन्द्वीको सामना नगर्दा रक्षापंक्ति बलियो देखिएको जस्तो भान भयो । ठीक विपरीत स्टार खेलाडीले भरिएको फ्रान्स दबाबमुक्त भएर खेल्दा खेल अवधिभर उरुग्वेमाथि हाबी बन्यो । पहिलो ४० मिनेटभित्र खेलमा माथि रहेको फ्रान्स राफायल भारान र एन्टोनी ग्रिजम्यानको गोलपछि गोल र खेल दुवैमा माथि रह्यो।

४२औं मिनेटमा मार्टिन क्यासरेजले गरेको हेड गोलमा परिणत भएको भए खेलले अर्को मोड लिन पनि सक्थ्यो । तर, काभानीको अनुपस्थितिका कारण स्वारेज पनि अग्रपंक्तिमा एक्लो बने । काभानीको स्थानमा आएका क्रिस्टियन स्टुआनी मैदानमा कतै देखएिनन् । काभानी र स्वारेज रक्षापंक्तिसम्म झरेर खेल्थे । तर शुक्रबार त्यस्तो नहँदा उरुग्वेको रक्षापंक्ति कमजोर बन्यो । यसअघि उरुग्वेको रक्षापंक्ति सशक्त देखिएको थियो । तर, फ्रान्सको रक्षा फ्रान्सविरुद्धको खेलबाट उरुग्वेले यसअघि कठिन प्रतिद्वन्द्वी नपाएको देखिन्छ।

उरुग्वेले १९३० मा आयोजना गरेको पहिलो र ब्राजिलले १९५० मा आयोजना गरेको चौथो संस्करणको फाइनलमा दुवै टोली दक्षिण अमेरिकाका थिए । त्यसबाहेकका अन्य सबै संस्करणका फाइनलमा कम्तीमा एक युरोपेली टोलीको प्रतिनिधित्व रहँदै आएको इतिहास छ।

यो इतिहास रूस विश्वकपमा पनि दोहोरिने पक्का छ । क्वार्टरफाइनलसम्मको समीकरणले यसलाई पुष्टि गरेको छ । एकातिरबाट इङ्ल्यान्ड, स्विडेन, रूस र क्रोएसियामध्ये एकले फाइनलमा स्थान बनाउनेछन् भने अर्कोतिरबाट फ्रान्स, उरुग्वे, बेज्लियम र ब्राजिलमध्ये एकले फाइनलामा स्थान पक्का गर्नेछन् । त्यसैले फाइनलमा कम्तीमा एउटा युरोपेली टोली हुने पक्का भएको छ।

विश्वकपमा शनिबार हुने तेस्रो क्वार्टरफाइनलमा इङ्ल्यान्डले स्विडेनसँग र आयोजक रूसले क्रोएसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । विविध कारणले अन्तर्राष्ट्रिय फुटबलमा सधैं चर्चामा रहने इङ्ल्यान्डको यस पटक भने खासै चर्चामा छैन । युवा खेलाडीको वर्चस्व रहेको इङ्ल्यान्डले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा समूहचरणमा खासै संघर्ष गर्नुपरेन।

इङ्ल्यान्डले नयाँ इतिहास बनाउने क्रममा पहिलो पटक नकआउट चरणको टाइब्रेकरमा विजयी नतिजा निकाल्यो । सेमिफाइनल प्रवेशका लागि स्विडेनविरुद्ध खेल्नुअघि इङ्ल्यान्डले ५ खेलमा ९ गोल गरिसकेको छ भने ४ गोल बेहोरेको छ । इङ्ल्यान्डले गरेका धेरै गोल ‘सेट पिस’ मा भएका छन् । इङ्ल्यान्डले प्रतियोगितामा ९ गोल गर्दा कप्तान ह्यारी केन एक्लैले ६ गोल गरेका छन् भने रक्षक जोन स्टोन्सले नाममा दुई गोल छ।

३–५–२ को फर्मेसनमा खेल्दै आएको इङ्ल्यान्डका लागि मिडफिल्डको भूमिका महत्वपूर्ण हुने गर्दछ । किनकि यो फर्मेसनमा मिडफिल्डले बेलाबखत आफ्नो क्षेत्रमा रक्षकको पनि भूमिका निर्वाह गर्नुपर्छ भने आक्रमणमा निस्कँदा फरवार्डको भूमिका निभाउनुपर्छ । स्टार मिडफिल्डरहरू डेले अली, जोर्डन हेन्डरसन, जेसे लिङ्गार्ड र इरिक डायर मिडफिल्डमा रहँदा पनि इङ्ल्यान्डका एकै खेलाडीले मात्र गोल गरिरहेका छन् । मिडफिल्डमा केन्द्रित हुँदा अन्य खेलाडीले पनि गोल गर्नुपर्ने हो । इङ्ल्यान्डको रक्षापंक्तिले गरेको प्रदर्शन भने सन्तोषजनक छ।

विगत केही वर्षयता स्विडेन युरोपको एउटा शक्तिशाली टोलीका रूपमा रहँदै आएको छ । स्विडेनले समूहचरणमा साबिक विजेता जर्मनीसँग पराजित भए पनि दक्षिण कोरिया र मेक्सिकोलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । अन्तिम १६ मा स्विट्जरल्यान्डविरुद्ध संघर्षपूर्ण जित निकाल्दा स्विडेनको प्रदर्शन खासै प्रशंसनीय थिएन । तर फुटबलमा जितको महत्व बेग्लै हुन्छ, चाहे त्यो साँघुरो नै किन नहोस् । त्यही साँघुरो अन्तरको जितबाटै स्विडेनले १९९४ पछि पहिलो पटक क्वार्टरफाइनलको ढोका उघारेको थियो।

४–४–२ को शैलीमा खेल्दै आएको स्विडेनले ५ खेलमा ६ गोल गर्दा २ गोल बेहोरेको छ । स्टार खेलाडी नभए पनि जुझारु र संगठित प्रदर्शनका कारण स्विडेन सन्तुलित देखिएको छ । मिडफिल्डर इमिल फोर्सबर्गले उत्कृष्ट प्रदर्शन गर्दा नै स्विडेनले  स्विट्जरल्यान्डविरुद्ध १–० को नतिजा निकालेको थियो । रूसमा साबिक विजेता जर्मनी, मेक्सिको र स्विट्जरल्यान्डजस्ता टोलीको आक्रमणलाई रोक्ने स्विडेनको रक्षापंक्ति कमजोर नरहेको स्पष्ट हुन्छ।

आक्रामक फुटबल खेलिरहेको इङ्ल्यान्ड र आफ्नो पोस्टको रक्षा गर्न मजबुत देखिएको स्विडेनबीच हुने प्रतिस्पर्धा पक्कै आकर्षक र रोमाञ्चक बन्नेछ । ह्याट्रिकसहित प्रतियोगितामा सबैभन्दा बढी गोल गर्न सफल इङ्ल्यान्डका कप्तान केन र उनको टोलीको मनोबल उच्च रहेको छ । अन्य खेलाडी पनि उत्कृष्ट लयमा रहेकाले इङ्ल्यान्डको युवा टोली बढी जितको हकदार देखिन्छ । स्विट्जरल्यान्डविरुद्ध गरेका गल्ती सुधार्ने हो भने स्विडेनले इङ्लिस टोलीलाई कडा चुनौती दिनेछ।

शनिबारै अर्को क्वार्टरफाइनलमा आयोजक रूस र क्रोएसियाले प्रतिस्पर्धा गर्दै छन् । विश्वकपमा सहभाागी टोलीमध्ये आयोजक रूस फिफा वरीयता सबैभन्दा तल रहेको टोली हो । तर, उद्घाटन खेलमा साउदी अरेबियाविरुद्ध ५–० को नतिजा निकाल्दै रूसले आफू कमजोर छैन भन्ने सन्देश दिएको छ । २०१० को विश्वविजेता स्पेनलाई १ सय २० मिनेटमा १–१ को बराबरीमा रोकेको रूसले टाइब्रेकरमा नतिजा निकाल्दै स्पेनलाई घर फर्काइदिएको थियो । त्यसपछि रूसलाई पनि बलियो टोलीका रूपमा हेर्न थालिएको छ । चाहे त्यो रक्षात्मक खेलेर नै किन नहोस्।

२००४ मा ग्रिसको रक्षात्मक रणनीति सफल हुँदा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । रूसले त्यही इतिहास दोहोर्याउने त होइन भन्ने धेरैको आकलन छ । क्वार्टरफाइनलसम्म यात्रा गर्दा रूसले विपक्षी टोलीमाथि ९ गोल गरिसकेको छ । यसले रूसको आक्रमण पनि कमजोर नभएको प्रस्ट हुन्छ । स्पेनसँग पर्खाल खडा भएका रक्षक र गोलकिपरले कुनै पनि समय आफ्नो कमजोरी देखाएनन्।

विश्वका स्टार मिडफिल्डर लुका मोडरिचको प्रेरणामा क्रोएसियाले अन्तिम १६ मा अर्जेन्टिनामाथि ३–० को जित निकालेको थियो । क्रोएसियाले समूहचरणका अन्य दुई खेलमा विजयी नतिजा निकाल्दै ९ अंकका साथ नकआउट चरणमा स्थान बनाएको थियो । प्रि–क्वार्टरफाइनलमा डेनमार्कविरुद्ध निर्धारित ९० मिनेट १–१ को बराबरी खेले पनि क्रोएसियाले टाइब्रेकरमा विजयी हुँदै अन्तिम ८ मा स्थान पक्का गरेको थियो।

५ खेलमा २ गोल मात्र बेहोरेको क्रोएसियाका किपर ड्यानियल सुबासिचले डेनिसहरूको ३ पेनाल्टी प्रहार बचाएर आफू उत्कृष्ट गोलकिपर भएको प्रमाणित गरेका छन् । क्रोएसियामा रियाल मड्रिडका मोडरिचलाई मारियो मान्जुकिच र इभान राकेटिचले साथ दिएका छन् । मोडरिचले मैदानको दायाँ र बायाँ भागका साथै मध्यभागबाट विपक्षीमाथि आक्रमण गर्ने क्षमता राख्छन् । सो आक्रमणलाई विफल पार्न रूसको रक्षापंक्तिले धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ।

संयोग नै हुन सक्छ, रूस र क्रोएसिया दुवैले टाइब्रेकरमा नतिजा निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेका हुन् । रूसले स्पेनविरुद्ध रक्षात्मक खेलेर नतिजा निकालेको थियो भने क्रोएसिया र डेनमार्क दुवैले आक्रामक खेल खेलेका थिए । क्वार्टरफाइनल पुगिसकेपछि कुनै पनि टोली हार्न चाहँदैन।

रूसले क्वार्टरफाइनलमा पनि आपूmलाई ‘अन्डरडग’ ठानेर रक्षात्मक रणनीति अपनाए त्यसको फाइदा क्रोएसियालाई हुन्छ । तर, क्रोएसियाले पनि आक्रामक रणनीति लिनुपर्छ । यदि स्पेनविरुद्ध जस्तै शारीरिक र मानसिक रूपमा बलियो रहेर रक्षात्मक रणनीतिमा सफल रह्यो भने रूसले खेल टाइब्रेकसम्म धकेल्न सक्छ । रूस र क्रोएसिया दुवैका गोलकिपर उत्कृष्ट भए पनि टाइब्रेकरमा ‘अन्डरडग’ टिम सधैं कम दबाबमा हुने हुँदा रूसको जित्ने सम्भावना बढी हुन्छ।

यसमा तपाईको मत